|
फाइल फोटो

बारा : मोटरसाइकलको सिटमुनी पेस्तोल र गोली लुकाएर भारतबाट नेपाल भित्रिँदै गरेका एक जना भारतीय नागरिक पर्साबाट पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज–१६ स्थित भन्सार रोडबाट बिहीबार साँझ भारतको मोतिहारी पोडिहार ग्राम–१९ रक्सौलका २३ वर्षीय अविरञ्जन साहलाई पक्राउ गरेको हो।

प्रहरीले साहको साथबाट सेमी अटोमेटिक हृयान्डमेड पेस्तोल, सोमा लाग्ने म्यागेजिन ९ एक थान, एमएम गोली ७.६५ एक थान, एमएमको मिस राउन्ड गोली एक थानसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक राजन लिम्बूले बताए।

यसरी पक्राउ परे साह

भारतबाट नेपाल अविरञ्जन साह बीआर ०५ एम ९२५४ नम्बरको पहेंलो रंगको हिरो मोटरसाइकलमा चढेर आउँदै थिए। ‘चेकजाँचको क्रममा मोटरसाइकल खनतलासी गर्दा हतियार भेटिएपछि नियन्त्रणमा लिइएको हो,’ प्रहरी नायब उपरीक्षक लिम्बूले भने–‘मोटरसाईकलको सिटमुनी पेस्तोल र गोली लुकाएर राखेको अवस्थामा भेटियो।’

पक्राउ परेका साहको अपराधिक पृष्ठभूमिबारेमा बुझ्ने प्रयास भइरहेको छ। के उद्देश्यले हतियार नेपाल भित्र्याउँदै थिए भन्ने बारे आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता लिम्बूले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.