|

सुर्खेत : स्थानीय सरकार गठन भएको एकवर्ष पूरा भएको छ। सिंहदरबारको अधिकार गाउँ-गाउँमा भन्दै स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाइएको छ। तर, पनि वास्तविक अर्थमा जनताले अधिकारको अनुभूति गर्न पाएका छैनन्। यो एक वर्षको अवधिमा पहिलेभन्दा केही सेवा सुविधा पाए पनि जति पाउनुपर्ने हो त्यत्ति नपाएको जनगुनासो छ।

सुर्खेत भेरीगंगा नगरपालिका-८ की नन्दकला वादीलाई स्थानीय सरकार बनेपछि गाउँघरमा विकास भएको लागेको छ। उनी भन्छिन्, ‘हामीले हाम्रो घरतिर  सडक बन्छ भन्ने सोचेका थिएनाैँ। तर, अहिले सडक आएको छ। सानोतिनो काम गर्न टाढा जानुपर्दैन। विकास भएको छ बच्चालाई स्कुल पढ्न जानको लागि घरमै गाडी आएको छ, खानेपानी बन्दै छ। ढलनाल पनि बन्दै छ। गाउँ घरमा नै मजदुरी गर्न पाइएको छ।’ पहिलेभन्दा सेवा सुविधा बढी पाइएको उनको अनुभव रहेको छ।

भगवती माई गाउँपालिका-२ रुम बेस्तडा दैलेखका तेजबहादुर नेपालीलाई पनि गएको एक वर्षको अवधिमा गाउँघरमा विकास भएको लागेको छ। तर, जति हुनुपर्ने हो त्यत्ति हुन नसकेको नेपाली बताउँछन्। उनी भन्छन्, ‘केन्द्रीकृत राज्यसत्ताबाट विकेन्द्रीकृत राज्यसत्ता प्रणाली भएकाले जनतामा सेवा राम्रो त हुने नै भयो। तर, जति हुनुपर्ने हो त्यत्ति हुन सकेको छैन। तर, पनि घर आँगनमा सरकारले दिने सेवा सुविधा पाउदा राम्रो लागेको छ।’ उनले भने, ‘पहिलेभन्दा केही सुखका दिन पक्कै पनि आएका छन्। तर, पनि सरकार र संरचना फेरिए पनि काम गर्ने जनप्रतिनिधिको कार्यशैली बदलिन सकेको छैन्।’ 

जनप्रतिनिधिको कार्यशैलीका कारण सरकारको सेवा सुविधा पाउने कुराम सबै जनताको पहुँच अझै पुग्न नसकेको उनकोे भनाइ छ। उनले भने, ‘नीति नियम बनाएर जनप्रतिनिधिलाई पनि कानुनको दायरामा राख्नुपर्छ।’ जाजरकोट कुशे गाउँपालिकाका-२ टालेगाउँका मनबहादुर नेपालीलाई पनि अलिअलि काम भए पनि जति हुनुपर्ने हो त्यति नभएको लागेको छ। उनलाई पनि जनप्रतिनिधिको उनको भाषामा नेताको कार्यशैलीमा चित्त बुझेको छैन।

उनले भने, ‘नेताले आ-आफ्नो पायक पर्ने ठाउँतिर विकास गर्छन्। डोजर आफैँ ल्याएर चलाउँछन्, काम पनि आफ्नो नजिकका मान्छेलाई दिन्छन्। यो मलाई चित्त बुझेको छैन।’ उनलाई अझै पनि भ्रष्टाचार बढेको जस्तो लागेको छ। उनले अघि भने, ‘साञ्चिकै इमान्दारिताका साथ सबैले काम गर्ने हो भने विकास हुने कुरामा ढुक्क छु।’

एक वर्षको अवधिमा जनचाहनाअनुसार काम हुन नसकेको जनगुनासो रहँदै गर्दा स्थायी सरकार कर्मचारीतन्त्र र जनप्रतिनिधिकाबीच स्थानीय सरकार सञ्‍चालनमा कही कतै नमिलेको जस्तो लागेको सुर्खेत पञ्चपुरी नगरपालिका-३ का वडा सचिव तिलकराम अधिकारीको अनुभव छ। उनले भने, ‘कर्मचारी  र जनप्रतिनिधिहरू एकजुट भएर काम गर्न सकिरहेको अवस्था छैन।

कर्मचारीका आफ्नै कुन्ठा रहेका छन्। जनप्रतिनिधिका आफ्नै कार्यशैली रहेका छन् जसले गर्दा योजना निर्माण र कार्यान्वयनमा समस्या देखिने गरेको छ।’ जनताले सोचेअनुसार सेवा सुविधा पाउन नसकेको अधिकारी बताउँछन्। उनी भन्छन्, ‘सोचेजस्तो, जनताले अपेक्षा गरेजस्तो काम हुन सकिरहेको छैन, कर्मचारी र जनप्रतिनिधिको तालमेल मिल्न सकिरहेको देखिँदैन।’

संघीयता कार्यान्वयनको अभ्यासको पहिलो खुड्किलो भएको र आवश्यक कानुन नभएका कारण पनि जनप्रतिनिधिहरू अन्योलतामा परेको सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष तथा कर्णाली प्रदेशका गाउँपालिका महासंघका अध्यक्ष कविन्द्र केसीको भनाइ छ। केसीले भने ‘केही संरचना नै थिएन। सबै कुराको व्यवस्थापन गर्नुपर्ने अवस्था थियो।

हामीसँग कानुन थिएन। कानुन बनाउने अनुभव पनि थिएन। बितेको एक वर्ष कानुन, नीति नियम बनाउने, अध्ययन गर्ने र योजना निर्माण गर्ने काममा बढी समय लागेको पक्कै हो।’ समस्या र अन्योेलताबीचबाट पनि धेरै काम भएको केसी बताउँछन्। उनले भने, ‘समस्याका बीचबाट पनि थुप्रै काम भएका छन्।’ पहिले सानो काम को लागि सदरमुकाम जानुपर्ने बाध्यता थियो। अहिले वडा कार्यालयबाटै हुँदै आएका छन्।

गाउँ-गाउँमा थुप्रै विकासका सूचकहरूको प्राथमिकताको आधारमा विकासको जग बसेको छ।’आवश्यक जनशक्तिको अभावका कारण पनि जनताले सोचेजस्ताे काम हुन नसकेको उनको अनुभव रहेको छ। उनले भने, ‘भूगोलमा पनि नयाँ संरचना भएकाले वस्तुस्थिति बुझ्न र योजना निर्माणका लागि नै धेरै जसो स्थानीय सरकारको एकवर्ष वितेको छ।’ कार्य कालमै पहिलो वर्ष योजना निर्माणको वर्ष भएको भन्दै अबको दोस्रो वर्षबाट जनचाहना अनुसार कामले तीव्रता पाउने कविन्द्र केसीको भनाइ छ।

जनअपेक्षाअनुसार काम गर्न नसकिएको जनप्रतिनिधिहरुले पनि भन्दै आएका छन्। सीमित स्रोत साधन र आवश्यक जनशक्तिको अभावमा सोचेजति काम हुन नसकेको उनीहरुको भनाइ छ। अनुभव तथा कानुनको कमि नयाँ संरचना भएकाले पनि केही समस्या पक्कै भएका छन्। तीनवटै तहका सरकारको कार्य क्षेत्र पनि स्पष्ट हुन सकिरहेको छैन। संघीयता कार्यान्वयन गर्नका लागि जनतासँग प्रत्यक्ष जोडिएको स्थानीय सरकार भएकाले पनि स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहेको छ। जनताले सधैँ वहाना बनाएर उम्कले छुट दिन सक्दैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.