|

जनकपुरधाम : एभरेष्ठ सुगर एण्ड केमिकल इण्डष्ट्रिज लिमिटेडले हालसम्म किसानलाई झण्डै दुई अर्ब रुपैयाँ नदिँदा उखु किसानहरू दोहोरो मारमा परेका छन्। मिलले किसानसँग उखु किने वापतको दुई अर्ब २२ करोड १५ लाख ६७ हजार ४०० रुपैयाँ भुक्तानी गर्नुपर्नेमा हालसम्म ४४ करोड १५ लाख ९४ हजार ६०९ रुपैयाँ मात्र भुक्तानी उपलब्ध गराउँदा अन्य भुक्तानीका लागि मिलले महिनौँदेखि किसानलाई अलमल्लमा राखेपछि किसानहरू मारमा परेका हुन्।  

उखु क्रसिङ सिजन सुरु भएको गत पुस ६ गतेदेखि पुस २९ गतेसम्मको सवा ४४ करोड रुपैयाँ उपलब्ध गराए पनि एक अर्ब ७७ करोड ९७ लाख ७२ हजार ६५७ रुपैयाँ भुक्तानी नदिएका कारण किसानले ऋण काढेर उखु काट्ने लेवर र ढुवानीकर्तालाई पैसा दिनुपरेपछि किसानहरु दोहोरो मारमा परेका हुन्। गौशाला नगरपालिकामा रहेको सो चिनी मिलमा पूर्व सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतट, बारार पर्सासहित अन्य जिल्लाका किसानले उत्पादन गरेको करिब ४२ लाख ५९ हजार ७ सय ७४ क्विन्टल उखु खरिद गरेको हो। 

२०५३ सालमा स्थापना भएको सो उद्योगले चालु आर्थिक वर्ष २०७४÷०७५ मा झण्डै ४३ लाख क्विन्टल उखुबाट उद्योगले प्रति क्विन्टल ९.०३ प्रतिशतका हिसावले चिनी उत्पादन गर्दै आएको छ। प्रदेश–२ मा छवटा चिनी उद्योग सञ्चालनमा रहेका छन् भने, दुई उद्योग निर्माणाधीन अवस्थामा छन्। प्रतिक्विन्टल ५३१ रुपैयाँ २० पैसामा उखु खरिद गर्दै आएको चिनी मिलले यस वर्ष भारत र पाकिस्तान चिनी नेपाल आइसकेको र नेपालको चिनी बिक्रि वितरणमा समस्या भएकोले हालसम्म किसानलाई भुक्तानी दिन नसकेको एभरेष्ट सुगर मिलका महाप्रबन्धक युगल किशोर चौरसियाले बताए। 

उनले भने, ‘चिनी मिल सञ्चालन हुनुभन्दा अगावै बैंकसँग ९ प्रतिशतको ब्याजमा एक अर्बको ऋण स्वीकृत गरिए पनि ४० करोड मात्र दिएकोले किसानलाई भुक्तानीमा समस्या भएको हो।’ चौरसियाले मिलको गोदाममा थुप्रिएर रहेको चिनी बिक्री वितरण नभएसम्म तथा स्वीकृत ऋणको भुक्तानी नभएसम्म किसानको भुक्तानी दिन सक्ने अवस्थामा मिल नरहेको समेत स्पष्ट पारे।   

किसानले ऋण काढेर उखु खेती गरे पनि चिनी मिलले समयमा उखुको भुक्तानी दिन नसक्दा उनीहरू प्रत्येक ऋणमा डुब्ने गरेको। नगदेबालीको रूपमा रहेको उखुखेती तर्फ किसान व्यवसायिक रूपले आवद्ध हुँदै आएकाले सो उद्योगबाट प्रत्यक्ष र अप्रत्यक्ष रूपमा झण्डै ९० हजार किसान लाभान्वित हँुदै आएका चिनी मिल प्रशासनले जनाएको छ। नेपाल सरकारको मन्त्रीपरिषद्बाट उखु मिलले किसानलाई प्रतिक्विन्टल ५३६ रुपैयाँ ४५ पैसाको रुपैयाको दरले रकम तोकेपनि मिलले ५३१ रुपैयाँको दरले मात्र उपलब्ध गराउँदै आएको छ।

यता उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष नरेश सिंहले मिलले आर्थिक वर्ष २०७४÷०७५ मा उखु क्रसिंग सुरु गरेकै बेला नै पूर्ण भुक्तानी दिने भनिए पनि दुई किस्ता मार्फत २४ दिनको भुक्तानी उपलब्ध गराए पनि अन्य बाँकी तीन महिनाको भुक्तानी उपलब्ध गराउन नसकेको बताए। उनले भने, ‘समयमा भुक्तानी नदिँदा उखु किसानलाई जनमजदुर, ढुवानीका लागि ट्रयाक्टर, खाद्य मल, विषादीसमेतको भुक्तानी गर्न समस्या भएको छ।’ 

उखुलाई नगदेबालीका रूपमा चित्रण गरिए पनि केही वर्षयता उधारो बालीका रूपमा परिणत भएपछि आफू जस्तै हजारौं किसान निराश बनेको स्थानीय महोत्तरी रामनगरका राजकिशोर महतोले गुनासो सुनाए। 

‘समयमा भुक्तानी पायो भने साहुबाट लिएको ऋण तिरेर दुई चार रुपियाँ हुन्थ्यो, चित्त बुझ्थ्यो’ उखु कृषक महतो भन्छन, ‘एक त साहुको व्याजको टेन्शन, अर्को तर्फ मिलले कहिले पैसा देला भन्ने चिन्ता सदैव लागि रहन्छ।’ 

उनले किसानले कम  अथाव बढी भए पनि सरकारले समयमै मूल्य तोकि दिए किसानलाई सहज हुने बताउँदै मूल्य नतोकिँदा चिनी मिलले अल्झाएर किसानको पैसा होल्ड गरेर आफनो काम गर्ने गरेको आरोप लगाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.