स्थानीय तह निर्वाचनको एक वर्ष

|

गोरखा स्थानीय तहको निर्वाचन भएको एक वर्ष पूरा भएको छ। वर्षाैंसम्म स्थानीय तह जनप्रतिनिधिविहीन हुँदा विकासलगायतका गतिविधिमा भएको ढिलासुस्तीले जनप्रतिनिधि आएपछि गति लिने विश्वास लिइएको थियो। गोरखामा पनि दुई नगरपालिका र नौवटा गाउँपालिकाले जनप्रतिनिधि चुनिएर आएका छन्।

'समृद्ध नगर, समृद्ध गाउँपालिका' बनाउने नारा घन्काएर निर्वाचन जितेकाहरूले एक वर्षमा के गरे उल्लेखनीय काम? गोरखा नगरपालिकाले चुनावी घोषणापत्रमा गर्नै नसक्ने कुराहरू उल्लेख नभएको र घोषणापत्रका साथै जनताको आवश्यकता पहिचान गरी काम गरिरहेको बताएको छ। 

गोरखा नगरपालिका 

गोरखा नगरपालिकाले जनप्रतिनिधि आएको एक वर्षको अवधिमा केन्द्रीय सरकारले कर्मचारी व्यवस्थापन गर्न नसक्दा विकास विकास निर्माणको काममा समस्या भएको जनाएको छ। ‘कर्मचारी व्यवस्थापन नहुँदा वडा कामहरू प्रभावकारी हुन सकेको छैन जुन हिसावले हुनुपर्ने हो त्यसो भएको छैन’ गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भने, ‘शाखागत जानुपर्ने कर्मचारी छैनन्। लक्षित कार्यक्रमहरू प्रभावित भएको छ। कर्मचारी नभएर स्थानीय तह पीडित भएका छन्। हामी पनि भएका छौँ।’

एक वर्षको अवधिमा लक्ष्य अनुसार काम गरेको उनको भनाई छ। ‘एक वर्षा भित्र के काम गर्ने भनेर हामीले लक्ष्य निर्धारण गरेका थियौँ’ उनले भने ‘हामीले काम थालेपछि पर्यटनलाई प्राथमिकता राखेका थियौँ। त्यसको पहिलो चरण पार गरिसकेका छौँ।

गोरखालाई पर्यटनको हव बनाउन प्रचारप्रसारका साथै भएका पार्कहरूलाई व्यवस्थापन गर्ने, भीमसेन थापा, लखन थापा र विसे नगर्जीको सालिक बनाउने काम भइरहेको छ। प्याराग्लाइडिङ र रकक्लाईविङको सम्भाव्यता अध्ययनको तयारी गरेका छौँ।’

नगरपालिका भित्रका सडक स्तरोन्नति गर्ने काम अघि बढिरहेको उनको भनाई छ। त्यस्तै खानेपानीको समस्या भएका वडाहरुमा दातृ संस्थाहरूसँग साझेदारी गरेर अघि बढेको उनको भनाई छ। नगरभित्र रहेका विद्युतका काठेपोल विस्तापित गर्ने कार्यक्रम चलिरहेको र आगामी आर्थिक वर्षभित्र काठेपोल हटाउने नगरपालिकाको लक्ष्य रहेको पन्तले बताए। यो आर्थिक वर्षको करिब दुई महिना बाँकी रहँदा भौतिक प्रगति ६५ प्रतिशतमा भन्दा धेरै भइसकेको छ। ९० प्रतिशत हाराहारी भौतिक विकासको काम हुने नगरपालिकाले जनाएको छ। 

पालुङटार नगरपालिका

पालुङटार नगरपालिकाका प्रमुख दीपकबाबु कँडेलले चुनावी घोषणाअनुसार नै योजनाहरू वर्गीकरण गरी काम अघि बढाइएको बताए। उनले पालुङटार नगरपालिकाभित्र उपभोक्ता समितिहरूबाट हुने विकास निर्माणको कामले गति लिएको छ। त्यस्तै, उपप्रमुखको नेतृत्वमा हुने न्यायिक समितिले पनि पालुङटारमा पूर्णता पाएको छ। पालुङटार नगरपालिकाले कानुनी परामर्शदाताहरूको सहयोगमा आवश्यक कानुनहरू बनाएर अघि बढेको प्रमुख कँडेलले बताए।

‘हामीले आवश्यक कानुनहरू बनाएका छौँ,’ उनले भने, ‘हामी अहिले कानुन बनेपछि नगरपालिका भित्रको भौतिक विकासमा लागेका छौँ। यहाँ पूर्वाधारको खाँचो छ। हाम्रो लक्ष्य त्यता छ। प्रस्तावित औद्योगिक क्षेत्र बनाउन सहयोग गर्ने, स्मार्ट सिटी, प्राविधिक शिक्षालयका साथै जनताको दैनिक जीविकोपार्जनमा हातेमालो गर्ने हाम्रो अभियान जारी छ। कार्यकाल भरिमा हामीले घोषणा पत्रमा उल्लेख गरेका कुराहरू हामीले पूरा गर्नेछौँ।’ 

शहीद लखन गाउँपालिका

शहीद लखन गाउँपालिकाका प्रमुख रमेश थापा मगरले सिंह दरबारको अधिकार गाउँमै भन्ने नारा पूरा गर्न नसकेको बताए। ‘मुख्य गरी प्रतिबद्धता गरेका कुुराहरू कार्यान्वयनका चरणमा छन्’ उनले भने, ‘सिंह दरबारको अधिकार गाउँमा आउन सकेकै छैन। केन्द्रले कर्मचारी पठाउन सकेन।

आवश्यक कर्मचारी ब्यवस्थापन गर्न स्थानीय तहलाई दिएन। यसले हाम्रो चुनाबी नारा तथा प्रतिबद्धतालाई पूरा गर्न बाधा भएको छ। शिक्षा स्वास्थ्य, खानेपानी लगायतका विषयमा हामी दृढ भएरै लागेका छौँ। आफ्नै कार्यालय भवन बनाउने तयारीमा अघि बढेका छौँ। वडा कार्यालयहरूको पनि प्रक्रिया अघि बढिरहेको छ।’ 

अजिरकोट गाउँपालिका

अजिरकोट गाउँपालिकाका प्रमुख फणिन्द्र धितालले केन्द्रीय सरकारले कर्मचारी ब्यवस्थापन गर्न नसक्दा चुनाबी घोषणाहरू पूरा हुन नसकेको बताए। ‘चुनावमा सडक, विद्युत, खानेपानी, स्वास्थ्य शिक्षाको विषयमा मेरो र मेरो टिमको घोषणा थियो’ धितालले भने, ‘त्यो पूरा हुने चरणमा छ। गाउँपालिकाको केन्द्र भच्चेक बजारमा हिउँद र बर्खामै गाडी चल्ने बनाउने भन्ने त्यै पनि काम भइरहेकै छ।

सबै वडा कार्यालयसँग सडक जोड्ने काम भइरहेको छ। केन्द्रीय सरकारले कर्मचारीले पठाउन नसक्दा हामीले भनेको कुराहरू पूरा हुन सकेका छैनन्।’ उनले गाउँपालिकाका २ वटा वडामा मात्रै सचिव रहेको समेत बताए। ‘२ वटा वडामा मात्रै सचिव छन्’ उनले भने ‘कर्मचारी अभाव छ।  न उताबाट कर्मचारी पठाउँछ। न हामीलाई राख्न दिन्छ यसले समस्या भएको छ। प्राविधिक पनि छैनन्।’  धितालले पर्यटन विकास र कृषि विकास गाउँपालिकाको प्राथमिकतामा परेको बताए। 

बारपाक सुलिकोट गाउँपालिका

बारपाक सुलिकोट गाउँपालिकाका प्रमुख विष्णु भट्टले गाउँपालिकाका १६ वटा सडक नपुगेका गाउँमा सडक पुर्‍याएको बताए। उनले पनि कर्मचारी नहुँदा गाउँपालिकाले गर्ने धेरै कामहरू प्रभावित भएको बताए। ‘कार्यकारी र २ जना अन्य कर्मचारीबाहेक गाउँपालिकाका कर्मचारी छैनन्’ उनले भने, ‘पहिलो समस्या नै कर्मचारी नहुनु हो। कार्यकारी अधिकृत र केही प्राविधिक बाहेक अरु छैनन् । जनप्रनितिधिहरूको बलले मात्रै काम भएको छ।’ 

सिरान्चोक गाउँपालिका 

सिरान्चोक गाउँपालिकाका प्रमुख राजु गुरुङ एक वर्षको अवधिमा गाउँपालिकाभित्र भएको विकास निर्माणको काममा आफू सन्तुष्ट रहेको बताउँछन्। ‘विकास निर्माणको काममा हामी ४० प्रतिशतको हाराहारीमा छौँ’ उनले भने, ‘सामाजिक भौतिक संरचनाको काम उपभोक्ता समिति बनाएर, सर्भे गरेर अघि बढेका छौँ।’

अन्य स्थानीय तहको जस्तै सिरान्चोक गाउँपालिकाले पनि कर्मचारी नहुँदा काम गर्न सास्ती बेहोरेको गुरुङको भनाई छ।’  ‘चुनावमा हामीले घोषणा गरेका कुराहरू केही पूरा भएका छन्। केही भएका छैनन्। केही हुने चरणमा छन्’ उनी भन्छन्, ‘घोषणा गरेका कुरा पूरा हुन नसक्नुको कारण नीति निर्माण र कर्मचारी ब्यवस्थापन हुन नसक्नु नै हो। केन्द्र र प्रदेशको चुनाव भएर हाम्रो चुनाव भएकोले समस्याको समाधान हुन्थ्यो अहिले समस्या मात्रै छ।’

उनले गाउँपालिकामा शिक्षाको विकास गर्न हरेक विद्यालयका शिक्षकहरूलाई विभिन्न खालका तालिमहरू प्रदान गर्ने कार्यक्रम चलिरहेको बताए। त्यस्तै गाउँपालिकाभित्र क्रियाशील गैससहरूलाई क्लस्टर बनाएर काममा लगाएको बताए।  

आरुघाट गाउँपालिका

भूकम्पपीडितको घर बनाउन १० लाख रुपैयाँको कोष खडा गरेर पुननिर्माणलाई गति दिएको आरुघाट गाउँपालिकाले पनि सडक निर्माणलाई प्राथमिकता दिएको छ। गाउँपालिकाको केन्द्र जोड्ने गरी सबै वडामा सडक खनिएको छ। आरुघाट गाउँपालिकाले अन्य स्थानीय तहले गर्न नसकेको करार शिक्षक नियुक्ति कार्यविधि तयार गरी कार्यान्वयन गरी सकेको गाउँपालिका प्रमुख पूर्ण दाहालले जानकारी दिए।

‘हामीले करार शिक्षक नियुक्ति कार्यविधि बनाएर कार्यान्वयन गरिसकेका छौँ’ उनले भने, ‘नाइनलजन्य खादा तथा प्लास्टिकका गिलासमुक्त गाउँपालिका घोषणा गरी कार्यान्वयन गर्न थालेका छौँ। सबै विद्यालयका कक्षा १ बाट अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन। २ वर्षभित्र सबै घरमा विद्युत पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको छ।’ गाउँपालिकाले पर्यटन विकास र विस्तार गर्न चार वडा करिडोर घोषणा गरी काम सुरु गरेको उनको भनाई छ।

उनका अनुसार आरुघाट-धार्चे रुविनाला-मनासलु करिडोर आर्खेत हुँदै धार्चे-रुविनाला-मनासलु करिडोर, त्यस्तै मान्बु गणेश हिमाल करिडोर सोती मान्बु काशीगाउँ केरौँजा दोभान  मनासलु करिडोर घोषणा गरी पूर्वाधार निर्माणको काम सुरु गर्ने योजनामा गाउँपालिका रहेको छ।

भीमसेन थापा गाउँपालिका 

जिल्लाकै सबै भन्दा विवादित गाउँपालिका भीमसेन थापा गाउँपालिका हो। गाउँपालिकाको केन्द्रको विषयमा राजनीति हुँदा यो गाउँपालिकाले विकास निर्माणको काममा गति लिन सकेको छैन। एक वर्षको अवधिमा पाँचजना कार्यकारी समेत परिवर्तन भइसकेका छन्। गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डेले चुनावको बेलाको घोषणा पत्र एक वर्षमा पूरा हुने खालको नभई पाँच वर्षभित्र पूरा हुने खालको भएकोले रिजल्ट नआएको बताए।

‘केही विकासका भएका छन्’ उनले भने ‘कार्यपालिकाको विवादको कारणले समस्या भएको हो।अब त्यो समस्या हट्यो। हाम्रोमा विकासका कामहरू कर्मचारी अभावले पनि हुन सकेनन्। घोषणा पत्रमा हामीले पाँचवर्षे कुरा राखेका छौँ। सडक,खानेपानी, बिजुली, शिक्षा र स्वास्थ्य प्राथमिकतामा थिए। सोहीअनुसार काम भइरहेको छ।’  

धार्चे गाउँपालिका 

धार्चे गाउँपालिका प्रमुख सन्तबहादुर गुरुङले एक वर्षको अवधिमा गाउँपालिकाका हरेक वडालाई सडक सञ्जालले जोड्ने काम भइरहेको बताए। उनले काशीगाउँ, केरौँजा लगायतका ठाउँमा जेठ महिनाको अन्तिमसम्म सडक पुग्ने बताए। उनले स्वास्थ्य उपचारको लागि सहज होस् भनेर एम्बुलेन्सको ब्यवस्था गरिएको बताए।

‘एम्बुलेन्स खरिद गरेर हाम्रो माथिल्लो ठाउँमा गुड्ने खालको बनाउन लागेका छौँ’ उनले भने, ‘शिक्षाको हकमा विद्यार्थीहरू नभएका विद्यालय मर्ज गरियो। मेघा कलेजको बारेमा छलफल चलिरहेको छ। पर्याप्रवर्द्धनको काम भइरहेको छ। गाउँलेले गाउँमै सेवा पाएको छ।’ 

गण्डकी गाउँपालिका 

गण्डकी गाउँपालिकाले एक वर्षको अवधिमा सबै भन्दा प्रगति भएको सडकको ट्रयाक खोल्ने कामलाई मानेको छ। ‘विकासको पहिलो खुड्किलो नै सडक रहेछ’ गाउँपालिका प्रमुख होमबहादुर रानाले भने, ‘हामीले यो वर्ष धेरै भन्दा धेरै सडकको ट्रयाक खोलियो। सरकारी विद्यालयमा पढाउने शिक्षकहरूले अनिवार्य आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमै भर्ना गर्न लगाइयो। गाउँमा भएका विद्युतका काठेपोल विस्थापित गर्न लागेका छौँ।’ यसैगरी चुमनुब्री गाउँपालिका प्रमुख धनबहादुर गुरुङसँग भने भेट हुन सकेन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.