|

गोरखा : जिल्लाको अजिरकोट गाउँपालिका ३ र हंसपुर ५ मुच्चोकको जिम्मा पाएका वडा सचिव दीपकबहादुर दर्जी दुईकरोड ९० हजार ३२० रुपैयाँ ३५ पैसा हिनामिना गरेर १० महिनादेखि फरार छन्। २०७४ सालको साउन ३ गते वडा अध्यक्षसँग तीन दिनको बिदा लिएर हिँडेका दर्जी हालसम्म गाउँपालिकाको सम्पर्कमा नरहेको गाउँपालिकाका प्रमुख फणिन्द्र धितालले जानकारी दिए।

अजिरकोट गाउँपालिकाका प्रमुख धितालले सचिव दर्जी एकवर्ष हुन लाग्दा पनि सम्पर्कमा नआएकाे बताए। प्रमुख धितालले भने, ‘हामीले जिल्ला समन्वय समितिमा पनि सम्पर्कमा नआएको बेहोराको पत्र बुझाइसकेका छौँ।’ दर्जीको नाममा दुई करोड रुपैयाँभन्दा बढीको बेरुजु देखिएको स्थानीय विकास अधिकारी नारायण आचार्यले बताए। दर्जीले दुई आर्थिक वर्षमा गाविसको खाताबाट पैसा झिकेको देखिए पनि खर्चको हिसाव नबुझाउँदा उनको नाममा करोडौँ रुपैयाँ बेरुजु देखिएको हो। 

महालेखा परीक्षकको कार्यालयले गरेको लेखा परीक्षणका क्रममा खर्चको कुनै पनि कागजात नदेखिएपछि खर्च भएको सबै रकम उनको नाममा बेरुजु राखिएको जिल्ला समन्वय समिति गोरखाले जनाएको छ। दर्जीको नाममा आर्थिक वर्ष २०७२/०७३ र २०७३ /०७४ को दुई करोड ९० हजार ३२० रुपैयाँ ३५ पैसा बेरुजु देखिएको हो। त्यसमा सामाजिक सुरक्षा भत्ता, गाविस अनुदान र अन्य पुँजीगत खर्च बेरुजु देखिएको आचार्यले बताए।

स्याङ्जाको साविकको रापाकोट गाविस वडा २ घर भएका दर्जीलाई हाजिर हुन आउन पत्र पठाए पनि उनी आएनन्। उनी हुलाकमार्फत वडा सचिवको जिम्मा लिएर अजिरकोट आएका थिए। निजामती सेवा ऐन, २०४९ अनुसार ९० दिनभन्दा लामो समयविना जानकारी कार्यालयमा अनुपस्थित हुने कर्मचारी स्वतः पदमुक्त हुने व्यवस्था रहेको छ। ऐनको व्यवस्थाअनुसार दर्जीको जागिर गइसकेको छ’, समन्व्य अधिकारी आचार्यले भने। उनी सम्पर्कमा नआएपछि सरकारी सम्पति असुलउपर गर्ने प्रक्रिया अघि बढेको छ। ‘हामीले यहाँबाट विभिन्न प्रक्रिया अघि बढाउँदा उनी सम्पर्कमा आएनन्’ समन्वय अधिकारी आचार्यले भने, ‘नेपाल सरकारको सम्पति हिनामिना गरे अन्त्यमा असुल उपर गर्ने निकाय नेपाल सरकार केन्द्रीय तहसिलको कार्यालय हो। त्यहाँ पनि पत्रचार गरिसकेका छौँ। त्यहाँबाट पनि काम भइरहेको भनेर जानकारी आएको छ। 

वडा सचिव दर्जीले साविकको गाविसको खाताबाट सामाजिक सुरक्षा भत्ता वितरणका लागि झण्डै २५ लाख रुपैयाँ झिकेका छन्। तर वडाका धेरैले भत्तावापतको रकम नपाएको गुनासो गरेको अजिरकोट गाउँपालिकाकी उपप्रमुख चन्द्रमाया गुरुङले बताइन्। दर्जीले करोडौँ रकम हिनामिना गरेर फरार भएपछि अन्य कर्मचारी पनि त्यहाँ काम गर्न जान नमानेको जिल्ला समन्वय समितिले जनाएको छ।     

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.