रेल होइन जेटको गतिमा दौड्न्छौँ : प्रचण्ड

|

काठमाडौं : नवगठित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले जनताले सुम्पेको जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

तत्कालीन नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाको निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले शहीदको सपना पूरा गर्ने अठोट पनि व्यक्त गरे। 

‘तत्कालीन मालेले ०२८ सालमा हतियार उठाउँदा उहाँहरूले विरोध गर्नुभयो। ०५२ सालमा हतियार उठाउँदा हामीले विरोध गर्‍यौँ। लामो समयसम्म नमिलेका हामी दुई पार्टी हो’, उनले पार्टी एकता हुँदैन भन्नेप्रति संकेत गर्दै भने, ‘४८ वर्षदेखि नमिलेका पार्टी अहिले मिल्यौँ। अब देश र जनताको पक्षमा काम गर्छौं।’

अध्यक्ष ओलीले दुई पार्टीबीचको एकता मुलुकको समृद्धिका लागि भएको पनि स्पष्ट पारे। वैद्य, विप्लव, बाबुरामलगायतका नेतालाई इंगित गर्दै उनले पार्टीमा नमिल्ने कुरा भएपछि विचारको कुरा गर्ने बताए। 

उनले साना कम्युनिस्ट पार्टीहरूलाई पनि नवगठिन पार्टीमा एकीकरण हुन् आह्वानसमेत गरे। ‘हामीसँग दुईवटा पार्टी कार्यालय छन्। पार्टी कार्यलय पनि दिन्छौँ, पद पनि दिन्छौँ, मिलेर जाअौँ’, उनले भने, ‘व्यक्ति–व्यक्ति मिलेर पार्टी बन्छ, पार्टी–पार्टी मिलेर अझ ठूलो पार्टी बन्छ।’ 

अर्का अध्यक्ष दाहालले एकीकृत पार्टीलाई प्रभावकारी ढंगले संचालन गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले एकीकृत पार्टीलाई तीव्र गतिमा अघि बढाउन तत्कालीन एमाले केन्द्रीय कार्यालय र तत्कालीन नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय निरीक्षण गरिएको पनि स्पष्ट पारे। 

उनले भने, ‘लेनिनको पालामा रूस रेलको गतिमा दौडन्छ भनेका थिए, अब रेल होइन, यो देशमा विज्ञान, प्रविधि, जेट र आजको युगमा सबैभन्दा उत्कृष्ट गतिमा के दौडन सक्छ, त्यही गति पछ्याएर हामी अगाडि बढ्छौँ।’

कार्यक्रममा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरू उपस्थित थिए। 

पार्टी कार्यालयलाई व्यवस्थापन गर्ने तयारीका क्रममा अध्यक्षद्वय ओली र दाहालले पेरिसडाँडास्थित तत्कालीन माओवादी केन्द्रको केन्द्रीय कार्यालयको पनि अवलोकन गरेका थिए। त्यस क्रममा तत्कालीन माओवादी केन्द्रका नेताहरूले प्रधानमन्त्री एवम् अध्यक्ष ओलीको स्वागत गरेका थिए। 

एकीकृत नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय तयारीको क्रमलाई पनि शुक्रबारबाट सुरु गरिएको छ। तत्कालीन एमाले र माओवादी केन्द्रको कार्यालयमा नेपाल कम्युनिस्ट पार्टीको बोर्ड राखेर एकीकृत पार्टीको कार्यालय व्यवस्थापनको काम सुरु गरिएको हो। 

अध्यक्ष दाहालले देशभर पार्टी एकताको सन्देश दिन दुवै पार्टी केन्द्रीय कार्यालयको अवलोकन गरिएको स्पष्ट पारेका थिए। बिहीबार दुई पार्टीबीच एकता भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.