|
सुरेश रैनालाई आउट गरेपछि मेक्सवेल लगायतका खेलाडीसँग खुसीयाली मनाउँदै सन्दीप

भारतमा जारी इन्डियन प्रिमियर लिग आइपिएलमा नेपाली खेलाडी सन्दीप लामिछाने स्टाइलिस प्लेयर अफ द गेम भएका छन्। महेन्द्रसिंह धोनीको टिम चेन्नइ सुपर किंग्स विरुद्धको खेलमा सन्दीपले उत्कृष्ट बलिङ गरेका थिए। सन्दीपले ४ ओभरमा २१ रन दिएर १ विकेट लिएका थिए।

स्टाइलिस प्लेयर अफ द गेम भएवाफत उनले भारू एक लाख पाएका छन्।

सन्दीपले भारतका उत्कृष्ट ब्याट्सम्यान सुरेश रैनालाई आउट गरेका थिए भने धोनी लगायत खेलाडीलाई बलिङमार्फत दबाबमा राखेका थिए। सन्दीपको चार ओभरको बलिङमा एकमात्र बाउन्ड्री भएको थियो। उनको बलमा रविन्द्र जडेजाले छक्का प्रहार गरेका थिए।

सन्दीप पुरस्कृत भएको खेल उनको टिम दिल्ली डेयर डेभिल्सले जितेको छ। दिल्लीले चेन्नइलाई ३४ रनले पराजित गरेको हो।

घरेलु मैदान फिरोज शाह कोटला मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६२ रन बनाएको थियो। दिल्लीले दिएको १६३ रनको लक्ष्य पछ्याएको चेन्नाइले २० ओभरमा ६ विकेट गुमाएर १२८ रन मात्र जोड्न सक्यो।

दिल्लीका लागि घरेलु मैदानमा रिसव पन्तले सर्वाधिक ३८ रन बनाए। विजय शंकर र हर्शल पटेल समान ३६ रनमा नटआउट रहे। अन्य खेलाडीले पनि राम्रै ब्याटिङ गरेका थिए। चेन्नइका लागि लुंगी निगिडीले २ विकेट लिएका थिए भने जडेजा र चहरले समान एकएक विकेट लिए।

दिल्लीले दिएको लक्ष्य पछ्याएको चेन्नइका लागि अम्बाती राएडुले सर्वाधिक ५० रन बनाए। रविन्द्र जडेजाले २७ रन बनाउनुबाहेक अन्य खेलाडीको ब्याटिङ सन्तोषजनक रहेन। बलिङतर्फ दिल्लीले चेन्नइलाई दबाबमा राख्यो। दिल्लीका ट्रेन्ट बोल्टले ३ तथा अमित मिश्राले २ विकेट लिए। यस्तै सन्दीप लामिछाने र हर्शल पटेलले समान एकएक विकेट लिए।

दिल्लीको यो चौथो जित हो र ९ खेलमा पराजय भोगेको छ। लगातार पराजय भोगेपछि दिल्लीका कप्तान गौतम गम्भीरले कप्तानी छोडेका थिए र श्रेयस ऐयरलाई कप्तानी दिइएको थियो। दिल्ली भने सुपर सिक्सको रेसबाट बाहिरिइसकेको छ। सन्दीपले दिल्ली सुपर सिक्सको रेसबाट बाहिरिएपछि खेल्ने मौका पाएका हुन्। सन्दीपको आजको खेल दोस्रो हो। उनले पहिलो खेलमा पनि उत्कृष्ट ब्याटिङ गरेर विकेट लिएका थिए।

दिल्लीले अब एक खेल खेल्न बाँकी छ। उक्त खेल आइतबार मुम्बई इन्डियन्ससँग हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.