|

उदयपुर : धरान–गाईघाट–सिन्धुली–हेटौँडा सडक आयोजनालाई बजेट अभाव भएको छ। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बैकल्पिक लोकमार्ग निर्माणमा बजेट अभाव भएको आयोजना कार्यालयले जनाएको हो।

आयोजनाको पूर्वी खण्डका लागि चालु आर्थिक वर्षमा विनियोजन भएको रकममध्ये करिब ९९ प्रतिशत खर्च भइसकेको छ। आयोजना प्रमुख उमेशविन्दु श्रेष्ठका अनुसार विनियोजन भएको तीन अर्ब १७ करोड ३ लाख रुपैयाँमध्ये तीन अर्व १४ करोड खर्च भइसकेको छ। ‘आयोजनाका लागि सुरुमा एक अर्ब ६९ करोड र चैत महिनामा एक अर्ब ५९ करोड रकम थप पठाएको थियो,’ उनले भने, ‘अहिले हामीसँग सार्वजनिक निर्माणको विकास बजेट करिब ३ करोड मात्र छ।’ 

गत चैतसम्मको निर्माणको भुक्तानी भए पनि बैशाखको भुक्तानी गर्ने रकम अभाव भएको कार्यालयले बताएको छ। राष्ट्रिय गौरवको आयोजना भएकाले सरकारले रकम अभाव हुन नदिने भनेकाले रकम सकिए पनि कामलाई निरन्तरता दिइरहेको आयोजना प्रमुख श्रेष्ठले बताए। ‘बैशाख महिनाको भुक्तानी दिन ५० करोड रकम आवश्यकता पर्छ’ प्रमुख श्रेष्ठले भने, ‘जेठ र असारका लागि मौसमले साथ दिए थप एक अर्ब रकम बराबरको काम गर्न सकिन्छ।’ श्रेष्ठका अनुसार अब २७ प्रतिशत भुक्तानी हुन बाँकी छ। 

निर्माणधीन सडकको विभिन्न स्थानमा सडकको सब ग्रेड, सब बेस, होम पाइम, स्लाभ कल्भर्ट, मेसिनरी वाललगायतका काम भइरहेको निर्माण व्यवसायी जेडआईईसी शर्मा लामा जोइन्ट भेन्चरका डिपुटी कन्ट्याक्ट मेनेजर सीताराम दाहालले जानकारी दिए। यस्तै, घरटहराहरुको मुआब्जा निर्धारण, वन क्षेत्रका रूख हटाउने र पुल निमार्ण हुने स्थानहरुमा हुने विवाद मिलेसँगै सडक निमार्णको कार्यले द्रुत गति लिएको छ। अहिलेकै गतिमा काम गर्ने हो भने अब डेढ अर्ब रकम अपुग हुने आयोजनाका लेखा अधिकृत मोहन कृष्ण श्रेष्ठले बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.