|
फाइल फाेटाे

चितवन  : कुखुरामा बर्डफ्लु प्रमाणित भएपछि संकटग्रस्त क्षेत्रमा कुखुरा मार्न गएको प्राविधिक टोलीलाई किसानले रोकेका छन्। पूर्वी चितवनको खैरहनी नगरपालिका ९ सुर्तनीका दुई फर्ममा बर्डफ्लु प्रमाणित भएपछि त्यस क्षेत्रमा टोली घरपालुवा पंक्षी मार्न पुगेको थियो।

जिल्ला पशु सेवा कार्यालय चितवनका अनुसार केन्द्रबाट आएको प्राविधिक टोलीले बर्डफ्लु प्रमाणित भएका खोरबाट उत्तरमा राजमार्ग, दक्षिणमा पुरानो राजमार्ग, पूर्वमा सुर्तनीको कच्ची बाटो र पश्चिममा पर्सा बजारसम्मको क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। सोही क्रममा संकटग्रस्त क्षेत्रमा पर्ने धीरज श्रेष्ठ र सुरेश रिजालका दुई खोरका कुखुरा मार्ने क्रममा किसानले रोकेका हुन्।

पशुसेवा कार्यालय चितवनका प्रमुख डा. चेतनारायण खरेलका अनुसार नौ हजार लेयर्स कुखुरा रहेको श्रेष्ठको फर्मको तीन हजार ५०० र चार हजार ४०० कुखुरा रहेको रिजालको एक हजार कुखुरा मारेपछि उनीहरूले थप कुखुरा मार्न नदिएका हुन्। किसानले प्राविधिक टोलीले निर्धारण गरेको संकटग्रस्त क्षेत्र पूर्वाग्रही भएको भन्दै रोकेको जनाएका छन्। उनीहरूले नजिकै रहेका ठूला फर्म जोगाएर साना फर्मका कुखुरा मार्न थालेको भन्दै विरोध जनाएका हुन्। 

पूर्वी चितवन कुखुरा व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष एवं नेपाल अण्डा उत्पादक संघका केन्द्रीय उपाध्यक्ष रघुनाथ भट्टले प्राविधिक टोलीले निर्धारण गरेको क्षेत्रमध्ये एकातर्फ तीन किलोमिटरसम्म टाढा रहेको र अर्काेतर्फ २०० मिटरसम्म मात्रै रहेको कारण किसानहरू असन्तुष्ट भएको बताए। प्राविधिक टोलीले सोही क्षेत्रमा शुक्रबार स्थानीय जातका १५० वटा कुखुरा र हाँस मारेका थिए। कुखुराको सुलि पनि सुरक्षित रुपमा व्यवस्थापन गरिएको थियो। 

प्रमुख खरेलले बर्डफ्लु नियन्त्रण आदेश २०६४ ले पहिले बर्डफ्लु देखिएको क्षेत्रबाट तीन किलोमिटर उल्लेख गरेको भए पनि जोखिम विश्लेषण गरेर चार किलाे तोक्न सकिने बताए। सो प्रतिवेदनलाई मन्त्रीस्तरीय निर्णय गरेपछि घरपालुवा पंक्षी मार्ने गरिन्छ। 

सुर्तनीका स्थानीय किसान राजन चौधरी र लक्ष्मण चौधरीले पालेको कुखुरामा बर्डफ्लु प्रमाणित भएको हो। बिहीबारको मन्त्रीस्तरको निर्णयपछि शुक्रबार फर्म र आसपासका क्षेत्रमा रहेका कुखुरा र हाँस मार्ने काम सुरु गरिएको थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.