|

‘नेपाली विषय बचाउ अभियान–२०७५’, एम.एड., एम.ए. तथा एमफिल शिक्षाशास्त्र संकायको आयोजनामा त्रिवि कीर्तिपुरमा ‘कक्षा ११ र १२ मा १००/१०० पूर्णांकको अनिवार्य नेपाली विषयको आवश्यकता र औचित्य’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ।

उक्त कार्यक्रममा मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले पैसामा आमा बेचेर सानिमा भित्र्याउने चलखेल गरेको भन्दै त्यस्तो नगर्न समितिका पदाधिकारीलाई कडा चेतावनी दिएका छन्। कक्षा ११ र १२ तीन वटै संकायमा नेपाली भाषा हटाउने चलखेल भइरहेको भन्दै उनले आफू विशुद्ध भाषा पाटीको भएकाले जसरी पनि तीन वटै संकायमा अनिवार्य नेपाली विषय राखेरै छाड्ने उद्घोष गरे। लुइटेलले भने ‘नेपाली मेरो भाषा हो म जसरी पनि बचाउँछु, नेपाली भाषाका कालीपोके अब भागे हुन्छ।’

नेपाली केन्द्रीय विभागका विभागीय प्रमुख तथा विषय समिति अध्यक्ष प्रा.डा. देवीप्रसाद गौतमले नेपाली विषय राष्ट्रिय सरोकारको विषय भएकाले कक्षा ११ र १२ मा १००/१०० पूर्णाङ्क हुर्ने भन्दै मातहतका निकायमा परिपत्र गरी पाठ्यक्रम विकास केन्द्रलाई सुझाब दिन आग्रह गरेको बताए। उनले नेपाली भाषा संवैधानिक भाषा र सबै नेपालीको साझा सम्पर्क भाषा भएकाले कुनैहालतमा पछि नहट्ने अडान राखे। 

नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले यो नेपाली विषय बचाउ अभियान मात्र नभएर नेपाल बचाउ अभियान हो भन्दै साधारण, संस्कृत र प्राविधिक तथा व्यावसायिक तीनै धारमा कक्षा ११ र १२ मा १००/१०० पूर्णाङ्कको नेपाली विषय राखिनु पर्नेमा जोड दिए। उनले पाठ्यक्रम विकास केन्द्रको नेपाली विषय समितिका अध्यक्ष कालीपोके भएको र उनकै गैरजिम्मेवारपूर्ण क्रियाकलापले नेपाली भाषा बिगारिएकोप्रति आक्रोश व्यक्त गरे। उनले भने ‘मकैबारीमा मकै मात्र नभएर कालीपोके पनि फल्दो रहेछ । हामीले कालीपोकेलाई पहिचान गरेर अगाडि बढ्नु पर्दछ।’ 

प्रा.डा. पारसमणि भण्डारीले धेरै वर्षदेखि नेपाली भाषाले बर्बर प्रहार खेप्नुपरेको भन्दै आफूभित्र भएको कमजोरीलाई हटाएर भाषा र विषय जोगाउन लाग्नुपर्ने धारणा राखे। उनले पाठ्यक्रम विकास केन्द्रको नेपाली विषय समितिका अध्यक्षले देखाएको दोहोरो चरित्र र गैरजिम्मेवारीप्रति आक्रोश व्यक्त गरे।

नेपाली भाषा शिक्षा विभागका विभागीय प्रमुख प्रा.डा. रामप्रसाद भट्टराईले स्नातक तहसम्म हरेक संकायमा अनिवार्य नेपाली विषयको आवश्यकता बताए। त्यस्तै, नेपाली भाषा शिक्षा तथा राष्ट्रिय भाषा शिक्षा विषय समितिका अध्यक्ष डा. नेत्र न्यौपानेले नेपाली भाषा विश्वका समृद्ध भाषामध्ये एक भएको बताउँदै यसको संरक्षणका लागि सबै एक भएर लाग्न आह्वान गरे।

नेपाली विषय बचाउ अभियान मूल समितिका संयोजक सविन लम्सालले नेपाली भाषा जोगाउन नेपाली विषय पढाउनै पर्नेमा जोड दिए। त्यसैगरी, अनेरास्ववियु सचिवालय सदस्य तथा शिक्षा विभाग प्रमुख माधव पन्तले अभियानको माग जायज भएकाले विद्यार्थी संगठनले उक्त विषयलाई लिएर जोडदार आवाज उठाउने प्रतिवद्धता जाहेर गरे। 

त्रि.वि.सभा सदस्य पंकज सुवेदी, ने.वि.संघका केन्द्रीय उपाध्यक्ष सागर परियार, सन्तोष कार्की, गोकर्ण जोसी, देवीराम जैसीलगायतले नेपाली विषयको औचित्य र अभियानका कार्यमाथि प्रकाश पारेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.