|

काठमाडौं : तेस्रो टान अन्तराष्ट्रिय लाङटाङ म्याराथुनको उपाधी नेपाल खगेन्द्र भाट र निरकाला कुलुङले हात पारेका छन्। ट्रेकिङ एजेन्सीस् एसोसिएसन अफ नेपाल (टान)ले आयोजना गरेको तेस्रो टान अन्तराष्ट्रिय लाङटाङ म्याराथुनमा नगद एक लाख पुरस्कार सहित यी दुइले उपाधी हात पारेका हुन्।

लाङटाङ क्षेत्रलाई विश्वमै उत्कृष्ट साहसिक खेलकुदका लागि अन्तराष्ट्रिय पर्यटकीय गन्तव्यको रुपमा चिनाउन आयोजना गरिएको म्याराथुनमा कुल एक सय जना धावक सहभागि थिए।

९५ जना नेपाली र पाँच जना विदेशीहरुको सहभागीता रहेको म्याराथुनको पुरुषतर्फबाट नेपाल आर्मीका खगेन्द्र भाटले ३ घण्टा ४९ मिनेट २७ सेकेण्डमा ४२.१९५ किलोमिटरको म्याराथुन पुरा गर्दै प्रथम भए भने नेपाल आर्मीकै भरत खत्रीले ४ घण्टा ६ मिनेट १८ सेकेण्डमा पुरा गर्दै दोस्रो भए। यस्तै आर्मीकै सुवास खत्रीले ५ घण्टा ५२ मिनेट २० सेकेण्डमा उक्त दुरी पार गर्दै तेस्रो स्थान हासिल गर्न सफल भए।

महिला तर्फभएको प्रतियोगीतामा सोलुखुम्बुकी निरकाला कुलुङ राईले ४ घण्टा ५७ मिटेन १३ सेकेण्डमा दुरी पुरा गर्दै पहिलो स्थान जित्न सफल भइन्। यस्तै शोलुखुम्बुकै पूर्णमाया राइले ५ घण्टा २६ मिनेट १९ सेकेण्डमा पुरा गरी दोस्रो स्थान हासिल गरिन् भने नेपाल आर्मीकी सरिता बासीले ५ घण्टा ५२ मिनेट २० सेकेण्डमा दौड पुरा गर्दै तेस्रो स्थान हासिल गरेको टानका सञ्चार संयोजक गोपाल श्रेष्ठले जानकारी दिए।

जसअनुसार प्रथम हुनेले एक लाख पाँच हजार, दोस्रो हुनेले ७८ हजार सात सय ५० र तेस्रो हुनेले ५२ हनार पाँच सय रुपैयाँ नगद पुरस्कार सहित पदक र प्रमाणप्रत्र प्राप्त गरे। टानका अध्यक्ष नवराज दाहालको उपस्थितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले कार्यक्रमको उद्घाटन गरेका थिए।

४२.१९५ किलोमिटरको म्याराथुन रसुवाको लाङटाङस्थित क्याङजिङ गोम्पा देखि सुरु हुँदै घोडातबेला, लामा होटल,  रिम्चे, शेर्पागाउँ,  खान्जिम, व्रीदिम, लिङलिङ हुँदै स्याफ्रुवेंसीमा आएर समापन भएको टानका प्रथम उपाध्यक्ष जिवन थापा मगरले जानकारी दिए।

त्यस अवसरमा म्याथुनको उद्घाटन गर्दै मन्त्री अधिकारीले टानद्वारा तिन वर्षदेखि निरन्तर आयोजित म्याराथुनले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पुर्‍याएको बताए।

२०७२ सालको विनाशकारी भुकम्पले क्षति पूर्‍याएको लाङटाङ क्षेत्रमा टानले आयोजना गरेको अन्तराष्ट्रिय लाङटाङ म्याराथूनले लाङटाङ क्षेत्रमा पर्यटकको संख्यामा वृद्धि भएको मन्त्री अधिकारीले बताए। पर्यटन उद्योगको माध्यमबाट देशमा आर्थिक समृद्धि हाँसिल गर्ने लक्ष्य लिएको भन्दै पर्यटकीय क्षेत्रका स्थानिय बासिन्दा र व्यवसायीको सकारात्मक सहयोग हुँदा मात्रै सफल हुने उनले बताए।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य मोहन आचार्यले म्याराथुनबाट लाङटाङ क्षेत्रलाई साहसिक खेलकुद गन्तव्य बनाउन राष्ट्रिय तथा अन्तराष्ट्रिय मिडियाहरुद्वारा प्रवद्र्धन गरेर पर्यटकहरुको संख्यामा वृद्धि हुने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.