|

चितवन : चितवनको पुरानो सदरमुकाम उपरदाङगढी पर्यटकीय दृष्टिले महत्वपूर्ण भएपनि यहाँ सोचे जति पर्यटक पुग्न सकेका छैनन्। पूर्वाधार अभाव र प्रचारको कमीले ऐतिहासिक गढी घुम्न थोरै पर्यटक मात्र पुग्ने गरेका छन्। 

उपरदाङगढीको होमस्टे नम्बर २ का सञ्चालक गणेश थापाका अनुसार यस क्षेत्रमा बिदाको समयमा आन्तरिक पर्यटक आउने गरेपनि अन्य बेला पर्यटक आगमन शून्यजस्तै हुन्छ। ‘कुनैकुनै बेला यहाँका तीनवटा होमस्टे भरिन्छ,’ थापाले भने, ‘तर धैरैजसो समय खाली नै हुन्छ, यति महत्त्वको गढी भएपनि सोचेजति पर्यटक भने आउँदैनन्।’

पर्यटकको अभावले यहाँ सञ्चालनमा आएका तीन वटा होमस्टे बन्द भएका छन्। करिब वि.सं. १८०० तिर बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले अंग्रेजसँगको लडाइका लागि उपरदाङगढी बनाएको इतिहासमा उल्लेख छ।

समुन्द्री सतहबाट एक हजार २७५ मिटरको उचारमा रहेको गढीका भग्ग्नावशेष मात्र छन्। यस क्षेत्रमा तत्कालीन समयमा अड्डा, अदालत, मालपोत तथा विभिन्न सरकारी कार्यालय र सैनिक पोष्ट रहेको स्थानीयहरूले बताए।

गढीमा ऐतिहासिक किल्ला, तोप हान्न बनाइएको नौ वटा आकर्षक स्थान, कोतघर र विभिन्न मन्दिरको भग्नावशेष रहेको छ। चारैतिर कुँदिएका ढुंगाले बनेका विशाल आकर्षक पर्खाल छन्। 

गर्मी समयमा पनि जाडोको महसुस हुने यस क्षेत्रबाट मनास्लु र अन्नपूर्ण हिमाल, प्राकृतिक दृश्यावलोकन र चितवनको समथल फाँट तथा निकुञ्जलाई नियालेर मनोरञ्जन लिन सकिन्छ। पूर्वतर्फ चितवनकै अग्लो पहाड सिंराइचुली देखिन्छ। यहाँबाट देखिने सूर्याेदय र सूर्यास्तको दृश्यले जो कोहीको मन लोभिन्छ। गढी घुम्न परिवारसहित पुगेका राजेन्द्र कार्कीले त्यस क्षेत्रबाट देखिने दृश्यले स्वर्गीय आनन्दको अनुभव दिलाएको प्रतिक्रिया दिए।

ऐतिहासिक महत्त्व र प्राकृतिक सुन्दरता बोकेको यस क्षेत्रको संरक्षण र प्रचारप्रसार हुन सकेको छैन। त्यसैले पाँच वर्षअघि जति पर्यटक आउँथे, अहिले पनि सोही हाराहारीमा मात्र पर्यटक आउने गरेको स्थानीयको भनाइ छ।

विगतमा शक्तिखोरसम्म गाडीको यात्रा, त्यसपछि करिबब तीन घण्टा पैदल यात्रापछि यस ठाउँमा पुगिन्थ्यो। तर, अहिले शक्तिखोरबाट पौने घण्टामै गढी पुगिन्छ। तर पनि पर्यटक आगमन बढ्न सकेको छैन। ‘शुक्रबार र शनिबार चाहिं आन्तरिक पर्यटक राम्रै आउँछन्,’ गोठे गुरुङले भने, ‘अरु बेला फाट्टफुट्ट मात्र हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.