|

गोरखा : भूकम्पपछि गोरखा आएको सिआरएस नामक आइएनजीओले भूकम्प गएको तीन बर्ष बितिसक्दा पनि राहतको नाममा पैसा वितरण गरिरहेको छ। तत्कालीन जिल्ला दैवी प्रकोप उद्धार समितिले भूकम्प गएको छ महिनापछि राहत बितरणमा रोक लगाएको थियो तर सिआरएसले तीनबर्ष बितिसक्दा पनि नगद वितरण गरिरहेको हो।

सिआरएसले कारितास नेपाल, स्वाँरा सघन गाउँविकास केन्द्र र पद्धति विकास सेवा केन्द्र मार्फत पैसा बाँडेको हो।  कारितासले गोरखा नगरपालिकाको वडा नं. ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ वडाका बस्तीका आठसय ५० घरधुरीका बासिन्दालाई भूकम्प पुनर्लाभ तथा पुर्नस्थापना कार्यक्रमको नाममा १० हजार रुपियाँको दरले पैसा बाँड्ने तयारी गरेको कारितासका कमल श्रेष्ठले बताए। 

‘बाख्राको खोर बनाउन सहयोग गर्ने भनेर हामीले एक घरलाई १० हजार रुपियाँ दिन लागेका हौँ’ कारितासका कार्यक्रम अधिकृत कमल श्रेष्ठले भने ‘बाख्राको खोर बनाउन चाहनेहरुको निबेदन एक महिनाको अवधिभित्र संकलन गरियो । दुईवटादेखि १० वटासम्म बाख्रा पाल्ने किसानलाई हामीले खोर बनाउन १० हजार रुपियाँ सहयोग गर्न लागेका हौँ ।’

फिनाम र नारेश्वरमा भने ब्यक्ति छनोट  गरेर वितरणको अन्तिम चरणमा पुगेको श्रेष्ठले बताए। १० हजार रुपैँया पाउने किसान छनोट गर्न भने जनप्रतिनिधीसँग समन्वय गरेको श्रेष्ठले बताए। कारितासले समाजकल्याण परिषद काठमाडौँबाट सोझै अनुमति लिई बाख्राको खोर बनाउने नाममा रकम बाँड्न लागेका हो। 
गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले बाख्राको खोर बनाउन १० हजारका दरले रकम वितरण गर्न अनुमति दिइसकेको बताए। ‘भूकम्प पिडित, एकल महिला, बृद्धबृद्धा, बाख्रा भएनभएको तथ्याङ्क लिएर मात्रै उक्त रकम वितरण हुनेछ’ उनले भने ‘हामीले उक्त रकमहरु दुरुपयोग हुन दिदैनौँ ।’ 

नागरिक समाजका अगुवा तथा मानव अधिकारकर्मी यदु अधिकारी भने एनजिओआइएनजिओले सहयोगको नाममा गोरखालीहरुलाई माग्ने बनाउने काम गरेको तर्क गर्छन्। 

‘अहिले पनि यो जिल्ला दैवी प्रकोप उद्धार समितिले यो पास गरेको छैन’ उनले भने ‘सरकारले पनि यस्ता संघसंस्थालाई छाडा छोड्न भएन।
सिआरएस गोरखामा विवादित संस्था नै हो । यसका हरेक गतिविधि विवादित भएको छ । यसपालि पनि यसले गोरखाका भूकम्प पिडितलाई सहयोगमा नाममा माग्ने बनाउन लागेछ । यसलाई तत्कालै रोक्नु पर्छ ।’ 

त्यस्तै स्वाँरा सघन गाउँविकास केन्द्रले पनि ८५० घर धुरीलाई १० हजारका दरले रकम वितरणको तयारी थालेको छ। गत वर्ष एक हजार तीनसय ५० घरधुरीलाई रकम बाँडिसकेको स्वाँरा सघन गाउँविकास केन्द्रले यो वर्ष पनि उक्त कार्यक्रम दोहोराएको हो। 

‘पोहोर पनि १३५० घरलाई वितरण गरियो’ स्वाँरा सघनका सनोद श्रेष्ठले भने ‘कसकसलाई दिने भनेर छनोट गर्ने काम भइरहेको छ। १० हजार को दरले पैसा छुट्याइसकिएको छ। यसपाली ८५० घरलाई बाख्राको खोर बनाउन १० हजार दिने हो ।’

स्वाँरा सघनले साविकको तान्द्राङ आरुचनौटे आरुआर्वाङ, थुमी, लापु र मान्बु गाविसमा पैसा वितरण गर्न लागेको हो। त्यस्तै पद्धति विकास सेवा केन्द्रले पनि ६ सय भन्दा धेरै घर धुरीलाई बाख्राको खोर बनाउने नाममा १० हजारका दरले रकम बाँड्ने तयारी गरेको छ।

पद्धतिले जिल्लाको ताप्ले, बुंकोट र आरुपोखरीमा बाख्राको खोर बनाउन भन्दै प्रत्येक घरलाई १० हजार रुपैँयाको दरले पैसा वितरण गर्न लागेको पद्धतिकी दुर्गा न्यौपानले जानकारी दिईन। उनका अनुसार बुंकोट र आरुपोखरीका केही घरधुरीलाई पैसा समेत दिइसकिएको छ। 

नेपाल पुननिर्माण प्राधिकरण गोरखाका शिव पौडेलले पुरानो कार्यक्रमबारे जानकारी भएपनि अहिलेको कार्यक्रमबारे जानकारी नभएको बताए । ‘पुरानो कार्यक्रमबारे थाहा थियो’ उनले भने ‘माथीबाटै अनुमति लिएर कार्यक्रम गर्नु भएको भएपनि बोदार्थ हामीलाई अनिवार्य आउँथ्यो । आएको छैन ।’ 

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले उक्त कार्यक्रममा आफ्नो ध्यानाकर्षण भएको बताए । ‘ब्यवसायिक रुपमा बाख्रा पाल्नेलाई खोर बनाउन सहयोग गरेको भए ठिकै छ, नत्र सुरुको राहत जसरी बाँड्न पाउँदैन’ उनले भने ‘यसमा मेरो ध्यानाकर्षण भएको छ । यसबारे स्थानीय तहले कसरी लिएको छ । म बुझ्दै छु ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.