|

कालीकोट : कर्णाली प्रदेशका हुम्ला, जुम्ला, मुगु र कालीकोट जिल्लाका अधिकांश बस्तीहरू असुरक्षित रहेको पाइएको छ। कर्णाली विकास आयोगले आयोजना गरेको कर्णाली क्षेत्रको १० वर्षे विकास योजना कार्यान्वयन सन्दर्भमा हुम्ला, जुम्ला, मुगु र कालीकोट जिल्लाका बस्तीहरू असुरक्षित रहेको प्रतिवेदनले उल्लेख गरेको हो।

कर्णाली बस्ती विकासका लागि संंयोजक डा. दीपेन्द्र रोकाया र सदस्य दीपक बुढाले कर्णाली एकीकृत बस्तीसम्बन्धी तयार प्रतिवेदनमा कर्णालीका प्रायः बस्ती असुरक्षित रहेको उल्लेख गरेको छ। प्रतिवेदनमा हुम्लामा जम्मा १७७ बस्ती रहेकामा १०२ सुरक्षित र ७५ असुरक्षित, मुगुमा १८७ वस्तीमा १४७ सुरक्षित र ४० असुरक्षित, जुम्लाका २५७ बस्तीमध्ये १५८ सुरक्षित र ९८ असुरक्षित र कालीकोटमा ४०४ वस्तीमध्ये २९५ सुरक्षित र १०९ वस्ती असुरक्षित रहेको संयोजक डा. दीपेन्द्र रोकायाले बताए। ‘सुरक्षित वस्ती पनि भौगोलिक, आधारभूत आवश्यकताका हिसाबले कर्णालीमा २५ प्रतिशत मात्रै बस्नयोग्य छन्। उनले भने, ‘बस्तीको सुरक्षित संरचना गुरुयोजना बनाएर कर्णालीबासीलाई सुरक्षित घरमा बसाउनुपर्ने आवश्यकता छ।’

संयोजक डा. रोकायाले कर्णालीका चारै जिल्लाका समग्र बस्तीको अवस्था, वैकल्पिक व्यवस्थासहितको प्रतिवेदन पेस गरिएको बताए। ‘कर्णालीमा सुरक्षित बस्तीको विकास गराउनुका साथै रोजगारीका आधारहरू प्रशस्त पार्ने गरी राष्ट्रिय महत्त्वका मेगा आयोजनाहरू सडक, जलविद्युत, पर्यटन र औषधिजन्य अर्गानिक कृषि तथा फलफूलको उत्पादन गरी बजारीकरणतर्फ ध्यान दिनुपर्छ’, रोकायाले भने, ‘उत्तर सडकलाई कर्णालीमा जोड्नुपर्नेमा जोड दिँदै त्यसले कर्णालीका स्याउ युरोपसम्म पुग्ने भौगोलिक, जलवायु, स्थानीय, प्रशासनिक नामकरण र परम्परागत बस्तीलाई आधार मानेर अध्ययन गरिएको छ।’ 

कर्णालीको बस्ती विकास अध्ययन समितिका सदस्य दीपक बुढाले सुरक्षित बस्तीका लागि आवश्यक तयारी र योजनाबारे प्रतिवेदन कर्णाली विकास आयोगमा पेस गरिएको बताए। ‘बस्तीको अवस्था, बस्ती बस्नुकाे कारण र नछोड्नुका कारण पनि हामीले प्रतिवेदनमा उल्लेख गरेका छौँ’, उनले भने, ‘सुरक्षित बस्तीका लागि कतिपय स्थानीय नै तयार नभएको भन्दै त्यसका पाँचवटा कारण पेस गरेका छौँ।’ 

धर्म तथा संस्कार बचाउन (गुम्बा र मन्दिर पूजा), धर्म तथा संस्कार बचाउन (गुम्बा र मन्दिर पूजा), आफ्नो हालीमुहाली कायम राख्न (राजनीति), नातागोता, कुल कुटुम्बको सम्बन्ध, उत्पादन तथा स्थायी सम्पतिप्रतिको मोहका कारण मानिसहरू जोखिम मोलेरै असुरक्षित ठाउँमा बसोबास गरिरहेको बुढाले बताए। ‘फरक हावापानी, समाज, संस्कृतिमा नभएर जिल्लाकै सुरक्षित स्थानहरूमा बस्ती बसाल्ने अवधारणासमेत ल्याएका छौँ’, उनले भने, ‘पूर्वाधार विकास, आवास संरचना, नेपाल सरकारले प्रवाह गर्ने सेवा-सुविधा, आयआर्जन, जीविकोपार्जन र रोजगारी र बसाइँसराइमा सुझाव पनि दिएका छौँ।’

तत्कालीन नेकपा एमालेका नेता गोरखबहादुर बोगटीले असुरक्षित बस्तीलाई सुरक्षित स्थानमा सार्नुपर्ने आवश्यकता रहेको बताए। उनले त्यसबाट हुने असरको दायित्व राज्यले लिनुपर्ने धारणा राखे। ‘कर्णालीका जनताको जीवन जोखिममा रहेको भन्दै सुरक्षित बस्ती विकाससँगै समग्र कर्णालीको विकासको आवश्यकता रहेको छ’, उनले भने, ‘बस्तीको विकासविना कर्णालीको विकास पनि असंभव छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.