‘के पाप गरेकी थिएँ र छिमेकीले मेरो चप्पल पनि छुँदैनन्?’

|

दैलेख : दैलेखको आठबीस नगरपालिकाको राकम कर्णालीस्थित जाक्सी गाउँकी मैया शाही (नाम परिवर्तन) अहिले एचआइभीसँग लडिरहेकी छन्। उनलाई एचआइभी संक्रमण भएको १० वर्ष भयो।

उनका श्रीमान् मजदुरीका लागि भारत जान्थे। भारतमा असुरक्षित यौन सम्पर्क गरेका कारण एचआइभी संक्रमित भएपछि उनको मृत्यु भइसकेको छ। मैयाले श्रीमानको मृत्यु भएको पाँच वर्षपछि मात्र आफूलाई पनि संक्रमण भएको जानकारी पाइन्। उपचारमा हालसम्म उनले आफ्नो खेतबारी बेचिसकेकी छन्।

बाँच्नका लागि संघर्ष गरिरहेकी उनले भनिन्, ‘धन कमाउन गएका श्रीमानले एचअाइभी पनि बोकेर ल्याएछन्। आफू पनि बाँचेनन्, मलाई पनि मर्नु न बाँच्नुको अवस्था बनाए।’ उनका देवरको पनि एचआइभी एड्सका कारण मृत्यु भइसकेको छ। ‘एचआइभी संक्रमित भएको थाहा पाएपछि आत्महत्या गर्ने सोच बनाएँ तर छोराछोरीको भविष्य हेरेर सम्हालिएँ’, उनी भन्छिन्, ‘श्रीमानले धोका दिए। म यिनै सन्तानको मुख हेरेर बाँचेकी छु। अहिले नियमिति औषधि खाएकी छु तर समाजको अगाडि शिर ठाडो पारेर हिँड्न सक्ने अवस्था छैन।’ श्रीमानको गल्तीका कारण आफूले गाउँमा अपहेलना र तिरस्कारको सजाय भोग्नुपरेको उनले सुनाइन्।

जाक्सीकै ६३ वर्षीया फुलमती माझी (नाम परिवर्तन)को पीडा पनि कम छैन। उनले आफू एचआइभी संक्रमित भएको थाहा पाएको पनि १० वर्ष बित्यो। मजदुरीकै क्रममा उनका श्रीमानको भारतमै मृत्यु भयो। एचआइभीकै कारण उनका श्रीमानले ज्यान गुमाए। श्रीमानको मृत्युपछि उनी लामो समयसम्म बिरामी भइन्। नेपालगंजमा परीक्षण गर्दा उनमा पनि संक्रमण भएको खुल्यो। ‘एचअाइभी भएको सुन्दा छाँगाबाट खसेजस्तै भएँ तर पनि सजाय काटिरहेकी छु’, उनले आफ्नो पीडा सुनाउँदै भनिन्, ‘गल्ती श्रीमानले गरे, सजाय मैले भोगिरहेकी छु। अहिले समाजले हेला गर्छ, मान्छेहरू पनि मलाई देख्दा टाढा भाग्छन्।’ 

स्थानीय ३५ वर्षीया सन्तोषी कार्की (नाम परिवर्तन)लाई पनि एचआइभी संक्रमण भएको नौ वर्ष बित्यो। उनकी पाँच वर्षीया छोरीलाई पनि एचआइभी संक्रमण भएको छ। श्रीमानलाई संक्रमण भएपछि आफूलाई पनि संक्रमण भएको उनले बताइन्। उनले भनिन्, ‘घरमा बसेर खान पुग्दैन, श्रीमान् कमाउनका लागि भारत जानुहुन्थ्यो। उहाँले उतैबाट रोग ल्याउनुभएछ। मलाई पनि सार्नुभयो।’ अहिले पनि उनका श्रीमान भारतमै ज्याला मजदुरी गर्छन्। आफूहरूलाई संक्रमण भएको केही वर्षपछि छोरी जन्मिएको र छोरी पनि संक्रमित भएको उनले सुनाइन्। ५३ वर्षीया कला माझी (नाम परिवर्तन) एचआइभी संक्रमित भएको १५ वर्ष भयो। श्रीमान् बितेको तीन वर्षपछि मात्र आफूलाई पनि संक्रमण भएको थाहा भएको उनले बताइन्। आँखाबाट आँसु झार्दै उनले भनिन्, ‘के पाप गरेकी थिएँ र मैले यो सजाय भोग्दै छु? छिमेकीले मेरो चप्पल पनि छुँदैनन्। रोग सल्किन्छ भनेर सबै जना मबाट टाढा भाग्छन्।’

गरिबी मुख्य कारण

गाउँमा अशिक्षित महिलाहरूको बाहुल्य छ। पुरुषहरू मजदुरीका लागि भारत पसेका छन्। धन कमाउन गएका पुरुषहरू गाउँमा फर्कंदा धन मात्र ल्याउँदैनन्, एचआइभी पनि सँगै लिएर फर्कन्छन्, जसको परिणाम गाउँका महिलाहरू पनि संक्रमित हुन पुगेका छन्। गरिबीसँग लड्दै आएका महिलाहरू हिजोआज एचअाइभीसँग पनि जुधिरहेका छन्। स्थानीय महिलाहरूका अनुसार छाक टार्ने उपाय गाउँमा छैन। त्यसैले पुरुषहरू रोजगारीका लागि भारतका विभिन्न शहरमा पस्न बाध्य छन्। धन कमाउने आशमा भारत पसेका पुरुषहरू घरमा आउँदा एचअाइभी पनि बोकेर आउँछन्। असुरक्षित व्यवहारका कारण पुरुषहरूले श्रीमतीलाई पनि एचआइभी सार्छन्। लामो समयसम्म परदेशमा बस्दा पुरुषहरूले असुक्षित यौनसम्पर्क गर्ने र एचआइभी संक्रमणको सिकार हुने गरेका छन्, जसको परिणाम उनीहरूले घरमा आउँदा श्रीमतीलाई पनि सार्न पुग्छन्। गाउँमै छाक टार्ने उपाय नहुँदा पुरुषहरू मजदुरीका लागि मुग्लान पस्न बाध्य छन्। अहिले पनि ग्रामीण क्षेत्रका अधिकांश पुरुषहरू भारत पसेका छन्। 

स्थानीय सरकारसँग अपेक्षा

संक्रमितहरूले अब स्थानीय सरकारसँग आफ्नो जीवन रक्षाको अपेक्षा गर्न थालेका छन्। रोगसँग लड्ने प्रतिरक्षा शक्ति बढाउन नियमित र"पमा एआरटी औषधि सेवन गर्नुपर्ने हुन्छ। तर आर्थिक अभाव र भौगोलिक विकटताका कारण समस्या भइरहेको पीडितको गुनासो छ। आफूहरूको स्वास्थ्य कमजोर बन्दै गएको भन्दै उनीहरूले अब स्थानीय सरकारले नै एआरटी औषधि उपलब्ध गराउनुपर्ने माग गरेका छन्। हाल जिल्ला अस्पतालमार्फत् औषधि वितरण हुने गरेको छ। तर पीडितहरूले सदरमुकामसम्म पुग्न र बास बस्न समस्या हुने गरेको बताए। यसका लागि स्थानीय सरकारले नै औषधि उपलब्ध गराउनुपर्ने भन्दै उनीहरूले आफ्नो जीवन रक्षाको माग गरेका हुन्।

एउटै नगरमा ८७ जना संक्रमित

जिल्लामा एचआइभी संक्रमितको संख्या वर्सेनि बढ्दै गएको छ। जिल्लाभरमा संक्रमितको संख्या बढ्दै गएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन्। जिल्लाको आठबीस नगरपालिकाभित्र मात्र ८७ जना एचअाइभी संक्रमित छन्। यहाँका अधिकांश पुरुषहरू मजदुरीका लागि भारत जाने भएका कारण पनि संक्रमणको दर बढी भएको हो। नगरपालिका उपप्रमुख दीपा बोहोराले नगरका विभिन्न वडामा ८७ जना संक्रमित रहेका जानकारी दिइन्। नगरपालिकाका अनुसार उनीहरूलाई सहज रूपमा नियमित औषधि सेवन गराउनका लागि पहल गरिनेछ। 

पोषण भत्ताको व्यवस्था

एचआइभी भएका र एआरटी औषधि सेवन गर्दै आएकाहरूका लागि भत्ताको व्यवस्था गरिने भएको छ। आठबीस नगरपालिकाले नगरमा रहेका संक्रमितहरूका लागि सन्तुलित भोजन भत्ता उपलब्ध गराउने भएको हो। यसका लागि नगरपालिकाले नीतिगत निर्णय भइसकेको जनाएको छ। एचआइभी संक्रमित व्यक्तिहरूले नियमति रूपमा एआरटी सेवन गर्नुपरेका कारण शारीरिक रूपमा कमजोर हुने गरेका छन्। यस्तो समस्यालाई समाधानका लागि भन्दै नगरपालिकाले पोषण भत्ता दिने निर्णय गरेको हो। स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले गरेको प्रतिबद्धताअनुसार नगरसभाबाट नीतिगत रूपमा सन्तुलित भोजन भत्ता प्रदान गर्ने निर्णय गरिएको हो। संख्यात्मक रूपमा दैलेखको सबैभन्दा बढी एचअाइभी संक्रमण भएका व्यक्तिहरू रहेको आठबीस नगरपालिकाले सन्तुलित भोजन भत्ता प्रदान गर्न लागेको हो।

नगरपालिका- ३ मा एचआइभी पीडित महिलाहरूका लागि ५० हजार रुपैयाँ रकम विनियोजन गरेको छ। यस्तै, वडा- ४ मा संक्रमतिलाई लक्षित गर्दै आकस्मिक कोष स्थापना गरिएको छ। यसका लागि एक लाख ५० हजार रुपैयाँ रकम विनियोजन गरिएको छ। नगरपालिका- ७ मा एचआइभी पीडित तथा एकल महिलाका लागि दुई लाख रुपैयाँ रकम विनियोजन गरिएको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.