|

काठमाडौँ : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सबै किसिमका सिण्डिकेट अन्त्य गर्ने गरी कार्य क्षेत्रमा काम गर्न प्रहरी नायव महानिरीक्षक (डिआइजी) हरूलाई निर्देशन दिएका छन्।

गृहमन्त्री थापाले सवै प्रदेशका प्रहरी प्रमुख, केन्द्रीय अनुसन्धान व्युरोे प्रमुख तथा महानगरीय प्रहरी कार्यालयका निमित्त प्रमुखको जिम्मेवारी पाएका डिआइजीहरूलाई आइतबार मन्त्रालयमा बोलाएर निर्देशन दिएका हुन्। गृहमन्त्री थापाले अब कुनै किसिमको सिण्डिकेट सरकारलाई स्वीकार्य नहुने बताए।गृहमन्त्री थापाले, ‘यातायात क्षेत्रको सिण्डिकेट अन्त्यको प्रक्रियामा छ। अब स्वास्थ्य, शिक्षादेखि तरकारी बजारसम्मको सिण्डिकेट अन्त्यका लागि लाग्नुपर्छ।तपाइँहरूले  यस अभियानमा साथदिए सबै खाले सिण्डिकेट हटाउन सकिन्छ।’

मन्त्री थापाले भ्रष्टाचार र तस्करी जस्ता कार्यलाई निस्तेज पार्ने गरी काम गर्न समेत प्रहरी अधिकारीहरूलाई निर्देशन दिए। मन्त्री थापाले भने, ‘गृह मन्त्रालयले तपाइँहरूलाई विश्वास गरेर यो जिम्मेवारी दिएको छ। सबै जिम्मेवारी आफैँमा महत्वपूर्ण छन्। हाम्रो अपेक्षा र विश्वास तपाइँहरूले पूरा गर्नु हुनेछ।’ सरकारको लक्ष्य विकास र समृद्धि रहेकोले त्यसका लागि सुशासन कायम गर्नु पहिलो शर्त रहेको गृहमन्त्रीको भनाई छ। उनले भने, ‘त्यो सुशासन कायम गर्ने प्रमुख जिम्मेवारी गृह मन्त्रालयको हो। र त्यसमा पनि सुरक्षा निकायको प्रमुख जिम्मेवारी हो।’ 

प्राकृतिक स्रोत र साधनको दोहन भइरहेकोले आफ्नो प्रदेशमा तत्काल त्यो रोक्न पनि प्रदेश प्रहरी प्रमुखलाई उनले निर्देशन दिए। यस्तै अशान्ति र अस्थिरता फैलाउनेबिरुद्ध कडा रुपमा प्रस्तुत हुन समेत प्रहरी अधिकारीहरूलाई मन्त्री थापाले निर्देशन दिए। निर्देशनको क्रममा गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र गृहमन्त्रीका सल्लाहकार सूर्यप्रकाश सुवेदीको पनि उपस्थिति रहेको थियो।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.