|

चितवनको रत्ननगर नगरपालिका ६८.६८ वर्ग किलोमिटरमा फैलिएको छ। १६ वटा वडा रहेको रत्ननगर नगरपालिका कृषि र पर्यटनका हिसाबले देशकै महत्त्वपूर्ण नगर हो। पहाडी भूभाग नभएको यस नगरपालिकाभित्र देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहा पर्छ। 

२०६८ को जनगणनाअनुसार यहाँको जनसंख्या ६९ हजार ८४८ छ। रत्ननगरको पूर्वमा खैरहनी नगरपालिका, पश्चिममा भरतपुर महानगर, उत्तरमा कालिका नगरपालिका र दक्षिण चितवन राष्ट्रिय निकुञ्ज रहेको छ। चितवनको दोस्रो नगरपालिकाको परिचय पाएको रत्ननगर भरतपुर नगरपालिका महानगर बनेपछि अब पहिलो नगरपालिका हो भन्न सकिन्छ।

यस नगरपालिकाका प्रमुख नरायण वन पूर्वप्रमुख (२०५४–५९) समेत हुन्। यसअघि रेडियो चितवनका संस्थापक अध्यक्ष, रत्ननगर खानेपानीका संस्थापक अध्यक्ष, रत्ननगर बकुलहरू अस्पतालका पनि उनी संस्थापक अध्यक्ष हुन्।

५६ वर्षीय वनले रामपुर कृषि क्याम्पसबाट बिएस्सी एजी गरेका छन्। नेकपा एमाले जिल्ला कमिटीका सचिवालय सदस्यसमेत भइसकेका वन रत्ननगरका सामाजिक अगुवासमेत हुन्। उनीसँग थाहाखबरकर्मी नारायण ढुंगानाले गरेको कुराकानीको सारसंक्षेप :

कसरी चलिरहेका छन् रत्ननगरका गतिविधि?

मैले भन्नुभन्दा पनि तपार्इंहरूले मूल्यांकन गर्ने विषय हो। मलाई लाग्छ, तुलनात्मक रूपमा भन्नुपर्दा सन्तोषोन्मुख छ। आफू पनि त्यति सन्तुष्ट छैन। त्यति काम गर्न सकिराखेको छैन। हामी संक्रमणकालमा छौँ। पर्याप्त कर्मचारी छैनन्। स्थानीय निकायबाट संघीयतामा गइरहेको अवस्था छ। नयाँ ढंग, नयाँ सोचका साथ काम गर्ने अवस्था हो अहिले। अहिले काम गर्दा ठीकै भएको अनुभव छ। हुन त नगरबासीले कसरी मूल्यांकन गर्नुभएको छ, थाहा छैन तर सोच भने विकास गरेरै छाड्ने छ।

तपाईंको आफ्नै नारा हो, ‘रत्ननगरलाई रत्न नबनाउने?’ बन्दै छ रत्न?

पहिलो त हामी राम्रो योजना बनाउँदै छौँ। रत्न बनाउनका निम्ति केके रत्न जोड्नुपर्छ भनेर हामी चिन्तित छौँ। कृषिको विकासका लागि हामी विभिन्न खालका सिँचाइ, कोल्ड स्टोर बनाउने योजनामा छौँ। पर्यटकीय नगरी भएकाले सिटी हल बनाउने कुरा अगाडि बढिरहेको छ। यस्तै, रत्ननगरलाई कल्चरल भिलेज बनाउने कुरा अगाडि बढाएका छौँ। यहाँ १०, ११ जाति रहेछन्, ती सबैको सांकेतिक घर र होमस्टे बनाउने कुरा गरेका छौँ। 

हामीले सौराहामा एउटा भ्यू टावरको कुरा गरेका छौँ। स्वास्थ्य क्षेत्रको कुरा गर्दा यहाँको रत्ननगर अस्पताललाई ५१ बेड क्षमताको बनाउने योजनामा छौँ। शिक्षातर्फ बैरिया माविलाई भेटेरिनरी साइन्स र जनजागृत माविलाई सिभिल इन्जिनियर तथा बछौलीका स्कुललाई होटल म्यानेजमेन्ट पढाउनका लागि लगानी गरेका छौँ। शिक्षामा छुट्टै लगानी छ। 

यहाँ विभिन्न स्कुलमा सुत्केरी हुने स्कुलका शिक्षिकाहरूलाई वैकल्पिक शिक्षक राख्ने व्यवस्था गरेका छन्। शिक्षक ठीक भएर आएपछि उहाँ फेरि पढाउन आउनुहुन्छ।

यी त नियमित योजना जस्ता भए, वृहत्तर योजना केही छैनन्?

म भन्दै थिएँ। सौराहा चोकमा हामीले एउटा स्काइ ब्रिजको माग गरिरहेका छौँ। सौराहा चोकमा हामीले बसपार्क बनाउँदै छौँ। हामीसँग बसपार्क नै छैन। केही त्यस्ता म्युजियम छन्, त्यसलाई हामीले प्रवर्धन गर्न चाहन्छौँ। टिकौली जंगल कटेपछि साँच्चिकै होमस्टे गर्ने शहर हो भन्ने बनाउन लागेका छौँ। यसका लागि हामीले ग्रिनरी गर्न जग्गा खोज्दै छौँ। माग पूरा भएको छैन। शहरमा डिजिटल बोर्ड राख्न लागिरहेका छौँ। सौराहाबाट छुट्ने गाडी कुन ठाउँमा पुग्यो। यात्रुलाई म कुन बसमा चढ्ने हो। कुन बस कहाँ छ भन्ने सूचना दिने गरी काम गर्ने योजना छ। काठमाडौं र पोखरा विमानस्थलमा ‘डन्ट मिस सौराहा’ भनेर डिस्प्ले गर्ने योजना पनि भइरहेको छ। 

यहाँले धेरै योजना सुनाउनुभयो तर कार्यान्वयन प्रभावकारी भएको देखिँदैन नि?

दक्ष जनशक्तिको कमी रहेछ हाम्रोमा। यसका लागि त दक्ष जनशक्तिको कुरा आउँछ नि! जसले सबै कुरा गर्न सकौँ। हामीले अहिले रमाइलो डाँडालाई गल्फ कोर्ट बनाउने भनेर व्यवसायी अजेयराज सुमार्गीसँग कुरा भएको छ। हुन्छ भन्नु भएको थियो, अहिले 'फलो' भएको छैन।

अब अर्काे कुरा हामीसँग गाईपालन हुन्छ। त्यसका बाच्छाहरू त्यसै छाड्ने अवस्था छ। यसको समाधानका लागि टिकौली चौरमा छाडिएका वस्तुको बासस्थान बनाउने योजना बनाएको छु।

पशु अधिकारका हिसाबले पनि राम्रो। मरिरहँदा यहाँका वन्यजन्तुको आहारा पनि हुनसक्छ। छोड्न चाहनेले निश्चित शुल्क तिरेर छाड्छन्, त्यो पनि योजना छ।

रत्ननगर कृषि र पर्यटनका हिसाबले महत्त्वपूर्ण छ तर यसतर्फ उल्लेखनीय काम देखिँदैन नि?

होइन, भर्खरै मात्र कृषिका लागि ३९ लाख रुपैयाँको 'डिप बोरिङ', स्यालो बोरिङ र मोटरका निम्ति काम गर्न लागेका छौँ। स्विस सरकारसँग हामीले पिठ्वाको नहरमा काम गर्‍यौँ भने यसपालि झुवानीतर्फ काम गरिरहेका छौँ। कृषिका निम्ति जति पनि काम गरिरहेका छौँ। खुसी लाग्छ, कृषि क्षेत्रमा देशैभर मेरो नाम आउँदोरहेछ। म कृषिको विद्यार्थी भएकाले पनि त्यतातिर ध्यान अलि बढी जाने रहेछ। 

अन्य क्षेत्रमा अधिकांश कृषिको बजेट बाटोमा हाल्नेरहेछन् तर हामीले चाहिँ कृषिको बजेट नछोएर ३० लाख रुपैयाँ प्लस गरेर लगानी गरेका छौँ। केरा खेतीमा लाग्ने रोगलगायत विषयमा छलफल भएको छ।

कृषि मात्रै नभएर पशुमा पनि काम गरेका छौँ। पशुको भ्याक्सिनेसन, घाँस, इन्सुरेन्स, आवश्यक सहयोग, पशुपालन किसानका लागि पनि समस्या बुझेर काम गरिरहेका छौँ। साँच्चिकै पशु र कृषिमा जनशक्ति हुने हो भने न्यूनतम काम पूरा गर्ने सवालमा हामी छौँ। स्वरोजगारका निम्ति हामीले केही न केही सहयोग गर्ने योजनामा छौँ। पशुपालन कृषिमा काम गर्न चाहने युवालाई हामीले ऋण लगानी गरेर स्वरोजगार बनाउने योजनामा छौँ। 

अब हामीले मातृमृत्यु नभएको नगर घोषणा गर्दै छौँ। कुनै पनि आमाको अकालमा मृत्यु नहोस्। त्यसका निम्ति दुनियाँभरमा औषधि अभाव हुन्छ, रत्ननगरमा हुन्न। राम्रो सहयोग भएको छ यसका लागि। स्वास्थ्यमा जति गर्नुपर्ने भएको त छैन तर पनि मन्त्रालयमा फिजिसियन र अर्थाेपेडिक दिन माग गरेका छौँ।

कृषि जस्तै पर्यटनको पनि मुख्य केन्द्र हो रत्ननगर तर यता पनि ध्यान नपुगेको हो?

होइन, हाम्रो योजना बनिरहेको छ– वृहत्तर पर्यटन गुरुयोजनाका लागि। विश्वजी (विश्वराज सुवेदी)ले काम गरिरहनुभएको छ। पूर्वी चितवन मात्रै होइन, सौराहालाई पश्चिम चितवनसँग जोडेर पर्यटन विकासका लागि केके छन् सम्भावना, त्यो कुरा गरेका छौ। हामीसँग कस्तोचाहिँ ‘गड गिफ्ट’ छ भने नि, पञ्चकन्या र लौरीघोल ताल हामीसँग छन्। आफ्नैबाट निस्किएर आफ्नैमा समापन हुन्छन्। मान्छेले कृत्रिम खोला बनाउने गरेका छन् तर हाम्रोमा यति राम्रो ताल छ। तर जग्गा सबै दर्ता गरेको रहेछ। यसलाई एउटा ताल बनाइदिन पाए छुट्टै महत्त्व हुन्थ्यो। 

‘वाटर किंगडम’ निर्माण गर्न खोजेका छौँ, बालबालिकाका लागि। सौराहाको बसपार्क चित्रसारीको पुलपारि चार\पाँच बिघा जग्गा फेला पारेका छौँ। त्यसमा हामी सार्छौं। हात्तीसार जाने बाटोमा हेभी गाडी र खोलाको किनारबाट सौराहा जाने बाटोमा साइक्लिङ तथा साना गाडी जाने गरी व्यवस्थित गर्दै छौँ। सौराहालाई शान्त बनाउनका लागि त्यो खालको वातावरण बनाउँदै छौँ।

सौराहाबाट पर्यटन विस्तारमा चाहिँ कस्तो योजना छ?

अर्काे परिकल्पना के हो भने खगेरी खोला झर्ने वित्तिकै नदी नियन्त्रण र बाटो पनि हुने भएकाले यसलाई पनि पर्यटन विस्तार गर्ने, पञ्चकन्यामा मणिखोला पार्क छ, त्यो राम्रो छ, धेरै मान्छे पिकनिक आउँछन्, यसलाई जोड्दै जुटपानी जाने कुरा छ। यस्तै, पहाडी पर्यटन सिंराइचुली, उपदाङगढी, झरनासँग जोड्ने योजना छ। यसको मैले नै अगुवाइ गरेर पूर्वी चितवनका चारवटै नगरपालिकासँग छलफल चलिरहेको छ। 

फोहर व्यवस्थापन, रिङरोड, दमकल, पर्यटन जोड्ने कुरा सबै सँगसँगै गरौँ भनेर पूर्वी चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकासँग समन्वय गरेर अघि बढ्छौँ। हामी पालैपालो बैठक बस्ने काम पनि गरिरहेका छौँ।

रत्ननगरको ठूलो चुनौती फोहोर व्यवस्थापन हो, फोहोर व्यवस्थापनका लागि के छ योजना?

हो, चुनौती छ। अब हामी व्यवस्थित गर्दै छौँ। वेस्टर्न इनर्जी भन्ने संस्थासँग हामी सम्झौता गर्दै छौँ। हामीसँग १५–१६ टन फोहोर आउँछ। सानो फ्याक्ट्री हामीले स्थापना गरिसकेका छौँ। त्यसले ११ टन व्यवस्थापन गर्दै छ। 

टिकौलीमा रहेको फोहोर हामीले अहिले सबै पुर्न थालेका छौँ। भान्छादेखि नै कसरी व्यवस्थापन गर्ने भनेर हामी लागेका छौँ। जम्मा १० प्रतिशत नकुहिने फोहोर मात्रै हामी व्यवस्थित गर्दै छौँ। सौराहामा फोहोर व्यवस्थापनको सहकारी चल्दै छ। विदेशीले सहयोग गरिरहेका छन्। त्यो सफल भयो भने हामीलाई सजिलो हुन्छ।

तपाईंले चुनावताका गरेका प्रतिबद्धता ओझेलमा परेका हुन्?

त्यो छोएँ मात्रै जस्तो लाग्छ। मान्छेले बाटोघाटो बढी महत्त्वपूर्ण ठान्दारहेछन्। म के भन्छु भने बाटो बिग्रिने र बन्ने कुरा अन्त्यहीन प्रक्रिया हो। तर दिमाग बिग्रियो भने सारा कुरा हुन्छ। बालमस्तिष्क सुधार्नुपर्छ। शिक्षामा लगानी गर्नुपर्छ भन्ने मेरो मान्यता हो तर के भने भौतिक पूर्वाधार पहिलो आवश्यकता हुँदोरहेछ। त्यसमा हामी लागेका छौँ। तपाईंलाई एउटा कुरा गौरवका साथ के भन्छु भने, पूर्ण खोपयुक्त नगर घोषणा गरिरसकेका छौँ। अब हामीले मातृमृत्यु नभएको नगर घोषणा गर्दै छौँ। कुनै पनि आमाको अकालमा मृत्यु नहोस्। त्यसका निम्ति दुनियाँभरमा औषधि अभाव हुन्छ, रत्ननगरमा हुन्न। राम्रो सहयोग भएको छ यसका लागि। स्वास्थ्यमा जति गर्नुपर्ने भएको त छैन तर पनि मन्त्रालयमा फिजिसियन र अर्थाेपेडिक दिन माग गरेका छौँ।

तपाईंको प्रतिबद्धताभन्दा बाहिरको कुरा, सार्वजनिक जग्गा संरक्षणमा आक्रामक भएको देखियो, यतापट्टि ध्यान कसरी गयो?

यो के थियो भने सार्वजनिक जग्गा संरक्षण गर्ने दायित्व हामीलाई रहेछ अहिलेको ऐनमा तर भोगको अधिकारचाहिँ रहेनछ फेरि। सार्वजनिक जग्गा जमिन असाध्यै भएको तर दर्ता भएको रहेछ। थहा थिएन। टिकौलीको जग्गा दर्ता गर्न भनेर केही मान्छे आएपछि मेरो ध्यानाकर्षण भयो। म २०५४ सालमा नगर प्रमुख हुँदा त्यो जग्गा पञ्चकन्या नहरसँग लिजमा लिएर पशुहाट सुरु गरेको। त्यो जग्गा कसरी दर्ता हुन सक्छ भन्ने लाग्यो। 

माग्न आउनेमा एक जना पहिलाका वडाध्यक्षसमेत हुनुहुन्थ्यो। केही भूमाफियाको चलखेल भइरहेको र केही दर्तासमेत भइसकेको रहेछ अनि त्यतातिर ध्यान गयो।

पूर्वमन्त्री विक्रम पाण्डेले समेत सार्वजनिक जग्गा हडपेको भन्ने सुन्नमा आएको छ, के हो खास?

हो, तपाईंलाई अहिले ढाँट्नुपरेन। मलाई विक्रम पाण्डे (हाल राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष) आफू भूमिसुधारमन्त्री हुँदा, मैले बुझेर लिएको छु, नारायणजी, तपाईंले सिफारिस गर्नुहोस्, मेरो मान्छे आएको छ भनेर पटक पटक भन्नुभयो। मन्त्रीज्यू, म २०५४ सालमा प्रमुख हुँदा त्यो जग्गा पशुहाट भएको जग्गा, पछि सुकुम्बासीको जग्गा भयो। अहिले कसरी तपाईंको नाममा जग्गा पास हुन सक्छ? भन्दा होइन, त्यो जग्गाचाहिँ मैले लिइसकेँ, ५० लाख बैना गरिसकेको छु। मैले टेक्निकल इन्जिनियरिङ कलेज खोल्न लागेको छु। तपाईंलाई सहयोग हुन्छ भने। 

तपाईंको मैले के बिगारेको छु भन्ने, पटक पटक फोन गर्ने, मेरो घरमा मान्छे पठाउने, मान्छे लगाउने, ताकेता गर्ने काम भयो। पाण्डेबाट मेरो बाउको सम्पत्ति हो। अहिले बल्ल देखापर्‍यो। हिजो कहाँबाट चिटिङ भएछ, त्यसको सिफारिस दिनुपर्‍यो भनेर घर घेर्ने, बराल नामको मान्छे आउने अनेक खालका कुराहरू भए। मैले सके म रोक्छु, नसके खानुहोला भनेर 'डेलिगेसन' लिएर जावलाखेलको सिँचाइ विभागमा अशोक सिंहसँग कुराकानी गरेर आएँ। विशेष सहयोग विष्णुहरि देवकोटा र वडाध्यक्षहरूले गर्नुभयो। जावलाखेल सिँचाइ पनि यसबारे अनभिज्ञ रहेछ।

त्यसपछि मालपोत कार्यालयमा हेरेको एक विगाहजति रहेछ। मैले अब तपाईंहरूलाई अख्तियारमा हाल्छु भनेपछि उहाँ (मन्त्रीका एजेण्ट)ले मैले मन्त्रीज्यू, सचिव, डिजीको दबाबमा गरेको हुँ, फिर्ता गरेँ भने। अहिले मालको हाकिमलाई सोध्दा हुन्छ। फिर्ता गरेर आउनुभएको छ।

जग्गा संरक्षण अभियानमा अवरोध आएनन्?

आए नि, अहिलेसम्म हामीले यसरी विभिन्न क्षेत्रमा ६० विगाह सार्वजनिक जग्गा संरक्षण गरिसक्यौँ। अझै २०० विगाह छ भन्ने छ। अहिले अभियान जारी राखेका छौँ। सौराहा चोकमा एउटा जग्गा फेला पर्‍यो, त्यसलाई बसपार्क बनाउन लागेका छौँ। 

केही अवरोध आएका छन्। जग्गा प्लटिङ रोक्यौँ। खोला छेउमा सार्वजनिक जग्गा हडप्न पाउने भएपछि खोला छेउमा प्लटिङ गर्ने चलन रहेछ। कृषि जमिन के हो? आवासीय जग्गा के हो? आखिर कुनै न कुनै यो धर्तीमा आउने नेपालीकै छोरो हो त्यो दलदलमा बस्ने। खोलाको छेउमा प्लटिङ गर्न दिनुहुँदैन, सिमसार क्षेत्र चाहिन्छ भन्दा यो मानेमा कुरा गर्दा सब एकीकृत भएर एक ढंगले बोलेको अवस्थाचाहिँ छ। यद्यपि, मचाहिँ राम्रा कामका लागि पछि हट्दिनँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.