|

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी कसरी निर्माण गरिन्छ भन्ने चासो बढ्दै गएको छ। दुई पार्टी मिलेर बनेको नेकपाको केन्द्रीय समितिमा दुवै पार्टीका नेताहरूको व्यवस्थापन कसरी गरिन्छ भन्ने विषयले अहिले चर्चा पाएको छ।

सानो केन्द्रीय समिति भएको विघटित एमालेलाई व्यवस्थापन गर्न धेरै समस्या देखिँदैन तर जम्बो केन्द्रीय समिति रहेको माओवादी केन्द्रलाई भने नयाँ पार्टीको केन्द्रीय समितिमा कसकसलाई पठाउने भन्ने निर्णय लिन समस्या परेको छ। जम्बो केन्द्रीय समिति भएका कारण पनि माओवादीलाई नयाँ पार्टीमा नेता व्यवस्थापन गर्न समस्या भएको एक नेताले बताए।

करिब चार हजार जनाको केन्द्रीय सम्मेलन आयोजक समिति बनाएको माओवादीलाई यतिबेला तीमध्येबाट २०० जना केन्द्रीय सदस्य छान्न निकै मुस्किल परेको छ। 
यतिबेला विघटित माओवादीका नेताहरू प्रचण्डकहाँ आफ्ना गुनासो राख्दै गहिरहेका छन्। ‘केन्द्रीय सदस्य बनिसकेकाले अपेक्षा राख्नु सामान्य हो’, एक नेताले भने, ‘त्यसबेला नै नेतृत्वले ध्यान दिएन, सबैलाई केन्द्रीय सदस्य बनायो। अहिले समस्या पर्‍यो।’

माओवादीमा ३४ जना केन्द्रीय कार्यालय सदस्य थिए। यस्तै, ५० जना सचिवालय र १३८ पोलिटब्युरो सदस्य थिए। यीमध्ये केन्द्रीय कार्यालय सदस्यले नयाँ पार्टीको स्थायी कमिटीमा बस्न पाउनुपर्ने आकांक्षा राख्दै पार्टी अध्यक्ष प्रचण्डसँग भेटिरहेका छन्। नयाँ पार्टीमा १९ जना स्थायी कमिटी सदस्य माओवादीको भागमा छ। 

यस्तै, केही नेताहरूले गलत प्रचार गरेको भन्दै नेताहरूले आपत्तिसमेत जनाउँदै आएका छन्। पार्टी एकताको दिन अर्थात् बैशाख ३ गते केही संचार माध्यमबाट स्थायी समिति सदस्यमा माओवादीबाट परेका नेताको भन्दै नाम आएको थियो। तर ती नाममा केही पुराना नेता परेका थिएनन्। उक्त नाम गलत हिसाबले प्रचार गरिएको एक नेताले थाहाखबरलाई बताए। उनले भने, ‘मैले पनि केही संचार माध्यमबाट पढेको थिएँ। त्यो गलत मनस्थितिले गरिएको प्रचार हो। केन्द्रीय सदस्यका बारेमा पहिलाको हेडक्वार्टर बैठकमा कुरै भएको छैन।’

माओवादीले अहिलेसम्म हाइकमाण्डमा रहने तीन नेताको नामबाहेक अरूको नाम टुंगो लगाउन सकेको छैन, जसमा अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा रहेका छन्। श्रेष्ठले हाइकमाण्डभित्रबाट पनि प्रवक्ताको जिम्मेवारी पाएका छन्। 

यतिबेला विघटित माओवादीबाट केन्द्रीय स्थायी कमिटी र केन्द्रीय सदस्यको नाम टुंगो लगाउन पार्टीका शीर्ष तीन नेतालाई जिम्मेवारी दिइएको छ। उनीहरूले नाम टुंगो लगाएपछि यही साताभित्र पार्टी केन्द्रीय समिति विस्तार गर्ने नेकपाको लक्ष्य छ। 

मओवादीमा रहेका केन्द्रीय कार्यालय सदस्यमध्ये पार्टीभित्रका पुराना नेता, पार्टीमा मिहिनेत गरेका नेताहरूलाई नयाँ पार्टीको स्थायी समितिको जिम्मेवारी दिइने विघटित माओवादी केन्द्रका एक नेताले जानकारी दिए। उनले भने, ‘पुराना नेता, पार्टीमा दुःख गरेकालाई जिम्मेवारी दिइनेछ। शीर्ष तीन नेताले मिलाउँदै हुनुहुन्छ।’ 

यस्तै, कार्यालय सदस्य र सचिवालय सदस्य गरी ८४ जना स्वतः केन्द्रीय सदस्य रहने स्रोतले जनाएको छ। यस्तै, ११६ केन्द्रीय सदस्य छान्ने प्रक्रियामा माओवादी रहेको छ। पेलिटब्युरो सदस्य रहेका सिनियर नेतालाई नेकपाको केन्द्रीय समितिमा राखिने बताइएको छ। 

समावेशी बनाउन माग

पछिल्लो समय नेताहरू केन्द्रीय समितिमा रहने सदस्यको नामवली तयार पार्न व्यस्त छन्। माओवादी केन्द्रीय सदस्यहरूले भने नेकपामा माओवादीबाट समावेसिताको आधारमा केन्द्रीय सदस्यको छनोट गरिनुपर्ने बताएका छन्। एक नेताले भने, ‘समावेसिताको सबैभन्दा धेरै नारा लगाउने माअोवादी हो र समावेसिताको मुद्दा पनि माओवादीकै हो। यस हिसाबले माओवादीले कन्द्रीय समितिमा पठाउँदा समावेसिताको आधारमा पठाउनुपर्छ।’ 

पछिल्लो समय स्थायी समितिमा माओवादीबाट दुई जना महिला रहने चर्चा चल्दै आएको छ तर यो विषय टुंगो भने लागिसकेको छैन। स्थायी समितिमा एक जना पनि दलित नेताको नाम चर्चामा छैन। 

सबै क्षेत्रलाई समेटेर स्थायी तथा केन्द्रीय समितिमा पठाइनुपर्ने एक नेताले बताए। उनले भने, ‘जनयुद्ध सफल पार्न महिला, दलित तथा पछाडि पारिएको वर्गको ठूलो योगदान छ तर अध्यक्षको पछि लाग्ने केही नेताले त्यो कुरा बुझेनन्। समावेसिता माओवादीको मुद्दा हो। सबैले स्वीकारेका पनि छन्। पछिल्लो समय माओवादीले यो मुद्दा छाड्दै गएको देखिएको छ। त्यसैले सबै क्षेत्र, वर्ग र समुदायबाट समेटेर बनाइनुपर्छ।’

यसअघि केन्द्रीय कार्यालयमा माथिल्लो तहमा रहेका केही नेतालाई स्थायी समितिमा नराख्ने चर्चा चल्दै आएको छ। सचिवालयमा मात्र रहेका केही नेताहरूलाई स्थायी समितिमा लैजाने तयारी भएको स्रोतको भनाइ छ। तर यस्तो गर्न नहुने माओवादीमा एकता प्रक्रियाबाट आएका एक नेता बताउँछन्। भन्छन्, ‘एकता प्रक्रियामा आएका हामी केही सिनियर नेतालाई पनि सचिवालयमा नराख्ने भन्ने चर्चा हुँदै आएको रहेछ। यसो गर्न हुँदैन। एकतामा आएका केही नेतृत्वलाई स्थायी समितिमा पनि राखिनुपर्छ।’

फाइनल भइसक्यो : श्रेष्ठ

यता, विघटित माओवादी केन्द्रका नेता तथा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले विघटित माओवादी केन्द्रबाट पनि केन्द्रीय समितिमा जानेको नाम टुंगिएको बताए।

उनले छिट्टै नेकपाको केन्द्रीय समिति विस्तार हुने थाहाखबरलाई जानकारी दिए। उनले भने, ‘विघटित माओवादीको तर्फबाट पनि केन्द्रीय समितिमा जानेको नाम फाइनल भइसक्यो तर दुई जना अध्यक्षहरूले कहिले विस्तार गर्नुहुन्छ।’ उनले सबै क्षेत्रबाट, सबै समुदायको प्रतिनिधित्व हुने गरी र योग्यता, क्षमता र योगदानको आधारमा छनोट गरिएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.