|

बारा : पर्साको वीरगंज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोक सडकबाट अवैध भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन्।

भारतको रक्सौलबाट वीरगंजतर्फ आइरहेको अवस्थामा प्रहरीले शनिबार साँझ चेकजाँचका क्रममा बाराको जितपुरसिमरा–८ का ४१ वर्षीय नगनारायण महतो कोइरीलार्इ पक्राउ गरेको हो।

भारु दुर्इ हजार दरका २३५ थान नोट र ५०० दरका एक हजार ४७५ थान नोट गरी जम्मा १२ लाख सात हजार ५०० रुपैयाँ बरामद भएको जिल्ला प्रहरीले जनाएको छ। कोइरीका साथबाट प्रहरीले भारतीय मुद्रालगायत विभिन्न नेपाली तथा भारतीय बैंकहरूको एटिएम कार्डहरू, भारतीय स्टेट बैंकको चेकबुकलगायतका कागजातहरू फेला पारेको छ।

यसरी पक्राउ परे कोइरी

प्रहरीले पर्साका तस्करहरूले भारतीय मुद्रा अवैध रुपमा लुकाईछिपाई नेपालतर्फ भित्र्याउँदै छन् भन्ने विशेष सूचाना पाएको थियो। सूचना लगत्तै प्रहरीले सीमामा चेकजाँचमा कडाइ पार्‍यो। यो कुरा कोइरीलार्इ थाहा थिएन।

उनी भारतको रक्सौलबाट ना४ प १७७३ नम्बरको हिरोहोण्डा मोटरसाइकल चढेर वीरगंजतर्फ आउँदै थिए। सूचनाका आधारमा कोइरीलाई रोकी मोटरसाइकल र उनको शरीर खानतलासी लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताए।

‘पक्राउ परेका कोइरीले पछाडि बोकेको झोलामा लुकाइछिपाइ राखेको अवस्थामा अवैध रकम बरामद भएको हो,’ प्रवक्ता लिम्बूले भने, ‘बरामद नगदलगायतका सामानहरू कानुन बमोजिम कार्यालयमा ल्याइएको थियो।’ पक्राउ परेका कोइरीलाई आवश्यक अनुसन्धान र कारवाहीको लागि राजश्व अनुसन्धान विभाग, केन्द्रीय कार्यालय, हरिहर भवन काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.