|

सुनसरी : कोशी टप्पु वन्यजन्तु आरक्षको पछिल्लो गणना प्रतिवेदनले संरक्षित अर्नाको संख्या ४४१ देखाएको छ। चैत्र २८ देखि ३० सम्म आरक्षभित्र अर्ना गणना गरिएको थियो। कोशी आरक्ष कार्यालयले आइतबार औपचारिक कार्यक्रमबीच अर्नाको पछिल्लो संख्यात्मक तथ्याङक सार्वजनिक गरेको हो।

आरक्षमा हाल ४४१ वटा अर्ना रहेका छन्। जसमा वयस्क पोथी अर्नाको संख्या ज्यादा पाइएको छ। कोशी टप्पुमा रहेका अर्ना मध्ये १९१ वटा वयस्क पोथी अर्ना छन् भने वयस्क भाले अर्नाको संख्या १३७ रहेको छ। आरक्ष कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङक अनुसार एकवर्षका बच्चा ३८ वटा, २ वर्ष उमेरका ४० वटा र अर्धवयस्क अर्ना ३५ वटा रहेका छन्। दुइवर्ष अघि गरिएकाे अघिल्लो गणनामा आरक्षमा ४३२ अर्ना पाइएका थिए। सो मध्ये १० पोथी र तीन भाले अर्धवयस्क अर्ना चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएका थिए। 

अघिल्लो गणनाको समयदेखि पछिल्लो गणना अवधि सम्ममा आरक्षका नाै अर्ना मरेका छन्। पूर्वी तराईको कोशी नदीको बहाव क्षेत्रमा अवस्थित कोशी टप्पु वन्यजन्तु आरक्ष नेपालकै पहिलो रामसार सूचीमा सूचीकृत छ। १७५ वर्ग किलोमिटरमा फैलिएको आरक्ष विश्वकै दुर्लभ अर्नाको वासस्थानका रुपमा परिचित छ। 

२०३२ सालमा आरक्ष स्थापना भए यताको अर्नाको संख्याका आधारमा वार्षिक ८.१ प्रतिशतले वृद्धिदर रहेको अारक्षले जानकारी दिएकाे छ। आरक्षभित्र बढ्दो खुला चरिचरणसँगै घरपालुवा जनावरसँगको संसर्ग र साँघुरिदो क्षेत्रका कारण अर्ना संरक्षणमा चुनौति बढेको कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत श्याम साहले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.