मुम्बई प्रतियोगितबाट बाहिरियो

|

इन्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बईविरुद्ध दिल्लीले सान्त्वना जीत हात पारेको छ।

आइतबार दिल्लीमा भएको खेलमा प्रतियोगिताबाट बाहिरिइसकेको दिल्लीले मुम्बईलाई हार चखाएको हो। हारसँगै मुम्बईको प्लेअफमा जाने संभावना सकिएको छ।

दिल्लीको जीतमा भारतीय बलर अमित मिश्राले चार र नेपाली बलर सन्दीप लामिछानेले महत्त्वपूर्ण ३ विकेट हात पारेका छन्।

सुरुमै बलिङको मौका पाएका सन्दीपले आइपिएलका राम्रा भारतीय ब्याट्सम्यान सूर्यकुमार यादवलाई पहिलो ओभरको चौथो बलमै पेभिलियन फर्काए। त्यसपछि दशौँ ओभरमा आएका सन्दीपले अनुभवी खेलाडी किरण पोलार्ड र कुनल पाण्डेलाई आउट गरे। 

सन्दीपले आउट गरेका तीनै जना खेलाडीको आइपिएल प्रदर्शन राम्रो छ।

दिल्लीले सुरुमा ब्याटिङ गरेर मुम्बईलाई १७५ रनको चुनौती दिएको थियो। तर मुम्बईले २०औँ ओभरको तेस्रो बलमा अलआउट हुँदै जम्मा १६३ रनमा बनाएर १२ रनको हार व्यहोरेको हो।

मुम्बईको हारसँगै प्लेअफमा पुग्ने संभावनामा राजस्थान र पञ्जाब मात्र रहेका छन्। त्यसको छिनोफानो आइतबार रातीको चेन्नई र पञ्जाबबीचको खेलले गर्नेछ।

त्यो खेलमा चेन्नई विजयी भएमा राजस्थान प्लेअफमा प्रवेश गर्नेछ। १४ वटै खेल खेलिसकेको राजस्थानको १४ अंक छ भने अन्तिम खेल खेल्दै गरेको पञ्जाबको १२ अंक छ।

यो खेलमा पञ्जाबले राजस्थानलाई हराएमा निर्णय रनरेटका आधारमा हुनेछ। यसअघिका खेलमा पञ्जाबको तुलनामा राजस्थानको रनरेट राम्रो भएकाले प्रतियोगितामा रहिरहन चेन्नईविरुद्ध पञ्जाबले जीत निकाल्न आवश्यक छ।

यसअघि नै हैदरावाद, चेन्नई र कोलकता अघिल्लो चरण पुगिसकेका छन् भने दिल्ली र बैंगलोर प्रतिस्पर्धाबाट बाहिरिइसकेका छन्।

समग्रमा सन्दीपको राम्रो प्रदर्शन

आइपिएलमा खेल्ने अवसर पाएका पहिलो नेपाली खेलाडी सन्दीपले मात्र तीनवटा म्याचमा खेल्न पाएका थिए। समग्रमा उनको प्रदर्शन उत्कृष्ट रह्यो। १२ ओभर बलिङ गरेका सन्दीपको इकोनोमी रनरेट ६.८३ रह्यो। उनले ७२ बलमा ८२ रन दिए भने तीन खेलमा ५ विकेट हात पारे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.