|

इटहरी : विश्वमा नै दुर्लभ प्रजातिका रूपमा रहेको बबुल प्रजातिको सिमसार क्षेत्रमा पाइने भैँसी (अर्ना) नेपालको कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा मात्र छ। यसको वंश विस्तारका लागि एक वर्षअघि राष्ट्रिय निकुञ्जले चितवनको निकुञ्जमा संरक्षणका लागि १३ वटा अर्ना लगेर संरक्षित क्षेत्रमा पाल्दै आएको छ। 

विश्व रामसार सूचीमा पहिलोपटक सूचीकृत भएको सुनसरीको कोशीटप्पुु वन्यजन्तु आरक्षमा गत चैत २८ देखि ३० गतेसम्म आरक्ष क्षेत्रभित्र गरिएको गणनामा आरक्ष क्षेत्रमा हाल ४४१ वटा अर्ना रहेको उल्लेख छ। हरेक दुई वर्षमा अर्नाको गणना गरिन्छ। 

आरक्षका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहका अनुसार यस वर्षको गणनामा आरक्ष क्षेत्रमा एक वर्ष उमेर समूहका ३८ वटा, दुई वर्ष उमेर समूहका पाडा अर्थात् बच्चा ४० र अर्ध वयस्क उमेरका ३५ वटा अर्ना फेला परेको आरक्ष प्रशासनले जनाएको छ। 

यसैगरी आरक्ष क्षेत्रभित्र वयस्क पोथी अर्ना १९१ वटा र वयस्क भाले अर्ना १३७ वटा गणनाका क्रममा फेला परेको उनले जानकारी दिए। ०३२ मा आरक्षको स्थापना भएयता अर्नाको वृद्धिदर हाल ८.१ प्रतिशतमा पुगेको पनि तथ्याङ्कमा उल्लेख छ। 

आरक्ष स्थापनाकालमा १७५ वर्गकिलोमिटर क्षेत्रमा नेपालमा पाइने चरामध्ये ५२७ प्रजातिका चरा, ११ वटा जंगली हात्ती, सातवटा सोस मगर गोही, ३४ वटा २०० प्रजातिका माछा र नीलगाई, लगुना, बँदेल, चित्तल, गिद्ध, पानीहाँस, खरमुजुर, सीम तित्रा, गरुड, अजिङ्गरलगायत महत्त्वपूर्ण र दुर्लभ प्रजातिका जीवजन्तु पाइने पाइन्छ। कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रभित्र घरेलु भैँसीको अतिक्रमणकै कारणले दुर्लभ प्रजातिको अर्नाको वंश विस्तारमा प्रतिकूल प्रभाव परिरहेको आरक्ष र आरक्षसँग सम्बद्ध विज्ञले औंल्याउँदै आएका छन्। 

आरक्ष स्थापनाकालमा अर्नाको संख्या ६३ रहेकामा ०७२ मा ४३२ पुगेको थियो। तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा १० पोथी र तीन भाले स्थानान्तरण गरिएको थियो। ०७२ चैतदेखि अहिलेसम्मको गणनामा कालगतिबाट पाँचवटा (चार पोथी र एक भाले) अर्ना मरेका छन्। कतिपय अर्ना एकापसमा आपसमा जुध्दा चारवटा भाले वयस्क अर्ना आफैं मरेको पनि आरक्षले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.