|

काठमाडौं : नेपाल समाजवादी कांग्रेसले भ्रष्टाचारविरुद्ध आन्दोलनको घोषणा गरेको छ। समाजवादी कांग्रेसले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघीयता, धर्म निरपेक्षता र देशमा बढेकाे भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको हो। 

समाजवादी कांग्रेसका अध्यक्ष विमलप्रसाद यादवले राष्ट्रिय समृद्धिका लागि संवैधानिक प्रजातन्त्र र हिन्दूराज्यको स्थापना जरुरी भएकाले त्यसका लागि आन्दोलनको घोषणा गरिएको बताए। अध्यक्ष यादवले भने, ‘हाल देशमा बढ्दै गएको अराजकता र भ्रष्टाचार रोक्न पनि आन्दोलन अपरिहार्य भइसकेको छ।’ 

अध्यक्ष यादवले सरकार पछिल्लो समयमा दमनकारी बाटोमा लागेकाले यो सरकारबाट जनताले अधिकार पाउन नसक्ने बताए। सो पत्रकार सम्मेलनमा पार्टीका महासचिव गोविन्द निरौलाले सरकारले शान्तिपूर्ण आन्दोलन गर्न समेत रोकेको आरोप लगाए। उनले शान्तिपूर्ण आन्दोलन गर्न खोज्दा आफ्नो पार्टी कार्यालयमा सरकारले धरपकड गरेकोमा आपत्ति जनाए। 

महासचिव निरौलाले सरकार निरंकुसताको बाटोमा हिडेका कारण सरकारविरुद्ध एक भएर लाग्न अपिल गरे। ‘यो सरकारले जनताका आधारभूत अधिकारको समेत ख्याल गरेन’ उनले भने, ‘अब हामी सरकारविरुद्ध कडा तर शान्तिपूर्ण ढंगले आन्दोलन गर्छौ। अब हामी चुप लागेर बस्दैनौं।’ सो पार्टीले बैशाख २८ मा भारतीय प्रधानमनत्री नरेन्द्र मोदी आउँदा मोदीको विरोधमा ५२ स्थानमा पर्चा वितरण गरेको थियो। त्यो लगत्तै प्रहरीले सो पार्टीको कार्यालयबाट केन्द्रीय सदस्य पार्वती थापासहित अन्यलाई गिरफ्तार गरेको थियो। गिरफ्तार सबै कार्यकर्तालाई ६ दिनपछि रिहा गरेको थियो। 

सो दिन प्रहरी नेपाल समाजवादी कांग्रेस वानेश्वरस्थित पार्टी कार्यालयमा ताला फोडेर कार्यालयमा भएका सम्पूर्ण कागजपत्र समेत लगेको थियो। त्यसयता बन्द रहेको सो पार्टीको कार्यालय पनि आइतबार पत्रकार सम्मेलन गरेर खोलेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.