|

काठमाडौं : देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल सोमबारबाट २१ घण्टासम्म सुचारु हुने भएको छ। सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले अग्नि नियन्त्रणका लागि कमाण्ड कार, सिनामंगलतर्फ निर्माण भएको नयाँ गेट र आन्तरिक नयाँ बाटोको उद्घाटन गरेका छन्। अब विमानस्थल प्रस्थान गर्ने मुख्य द्वार (गोल्डेन गेट)बाट प्रवेश गर्न मात्रै पाइनेछ भने बाहिरिनका लागि सिनामंगल नयाँ गेटको प्रयोग गर्नुपर्नेछ।

मन्त्री अधिकारीले नेपालको एक मात्र विमानस्थल २४ घण्टै चल्नुपर्ने तर विभिन्न समस्यालाई मध्यनजर गर्दै हाल २१ घण्टा मात्र संचालनमा ल्याइएको जनाउँदै निकट भविष्यमा यसलाई २४ घण्टा नै चलाउने बताए। हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान ६ देखि राती १२ बजेसम्म जम्मा १८ घन्टा संचालन भइरहेको थियो। संचालन अवधि २१ घन्टा पुर्‍याउँदा त्यो समय बिहान ६ देखि भोलिपल्ट बिहान ३ बजेसम्मको हुनेछ। विमानस्थलको हवाई ट्राफिक चाप नियन्त्रण गर्नका निम्ति ट्राफिक जाम हुने समयमा विमानलाई ट्राफिक जाम कम हुने समय स्थानान्तरण गर्नुपर्ने उनले बताए।

विमानस्थलको सुधारका लागि क्षेत्र विस्तार र ट्राफिक व्यवस्थापनका लागि काम भइरहेको समेत उनले जानकारी दिए। त्रिभुवन विमानस्थल अन्तर्राष्ट्रिय प्रतिष्ठासँग जोडिएकाले सुरक्षा जाँच र यात्रुका लागि विशेष पहलको काम भएको भन्दै उनले विमानस्थलका कर्मचारीहरूले चुस्त तथा इमान्दारीसाथ आन्तरिक तथा बाह्य यात्रुलाई सेवा दिनुपर्ने बताए। नेपाल सानो र गरिब देश भनेर चिनिए पनि हाम्रो चिन्तन र कामको चुस्तताको अभावको कारण मात्र पछि परेको उनले स्पष्ट पारे। उनले थपे, 'सधैँ सकारात्मक सोच र इमान्दारीसाथ काममा प्रतिबद्ध रहे देश समृद्ध बन्न धेरै समय लाग्दैन।'

देशका अन्य स्थानमा  विमान उडाउने भनेर दर्ता गरेका विमानहरू समेत काठमाडौंमै पार्किङ गर्ने गरेकोतर्फ इंगित गर्दै उनले विमानस्थलको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताए। यहाँका प्राइभेट एयरलाइन्सहरू सम्बन्धित ठाउँमा पार्किङ गर्नुपर्ने उनको भनाइ छ। जथाभावी पार्किङ गर्दा विमानस्थल थप अस्तव्यस्त भएको बताउँदै यदि सरकारको नियम कानुन नमाने आवश्यक कारवाही गर्नेसमेत उनले जानकारी दिए।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले सरकारले विमानस्थललाई व्यवस्थित बनाउन दैनिक २१ घण्टा संचालन गर्ने निर्णय लिएको स्पष्ट पारे। उनले सरकारका निर्णयको पूर्ण पालना गर्न विमानस्थलका सम्पूर्ण कर्मचारीलाई निर्देशनसमेत दिए। सचिव देवकोटाले विमानस्थलको काम कारवाही प्रभावकारी नभए सम्बन्धित कर्मचारीमाथि कडा कारवाही गर्न पनि पछि नपर्ने स्पष्ट पारे ।

कार्यक्रममा विमानस्थल महाप्रबन्धक राजकुमार क्षेत्रीले मन्त्री अधिकारीको अग्रसरतामा विमानस्थल २१ घण्टा संचालनमा ल्याउन लागेको बताए। अब विमानस्थलभित्र हुने गरेका कमीकमजोरीहरू विस्तारै हट्दै जाने आश्वासनसमेत उनले दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.