|

खाँदबारी : संखुवासभा जिल्ला अस्पतालमा तीनमहिने शिशु को मृत्यु पछि तनाव ग्रस्त भएको छ। भोजपुर घर भई हाल खाँदबारी नगरपालिका ८ बस्दै आएका चन्द्र तामाङका छोरा राचन तामाङको आइतबार राती ८ बजे मृत्यु भएको थियो। जिल्ला अस्पताल खाँदबारीले रेफर गरेपछि बिरामी बच्चालाई थप उपचारका लागि धरान लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो।

बच्चाको मृत्युपछि मृतकका आफन्तले उपचारमा लापरबाहीका कारण मृत्यु भएकोले बच्चाको जिम्मा अस्पतालले लिनुपर्ने भन्दै नाराबाजी गरेका थिए। आफूहरूको माग सुनुवाई नगरेको भन्दै उनीहरूले अस्पतालमा तालाबन्दी समेत गरेका थिए। तर रातीको समयमा समस्याको हल नहुने र सोमबार दुवै पक्ष बसेर छलफल गर्ने अस्पतालले जनाएपछि ताला खुलेको थियो।

सोमबार बिहानैदेखि मृतकका परिवार र आफन्तहरूले उचित क्षतिपूर्ति दिनुपर्ने भन्दै नाराबाजी गर्न थालेपछि अस्पतालको सेवा प्रवाह समेत तीनघण्टा भन्दा बढी रोकिएको थियो। बिहान अाठबजेदेखि १२ बजेसम्म अस्पताल विकास समिति,अस्पताल र जनस्वास्थ्य कार्यालयका कर्मचारी र मृतकका आफन्तबीच आन्तरिक छलफल भए पनि निश्र्कर्षमा पुग्न सकेको छैन। छलफलका लागि मंगलबार पनि बोलाइएको छ।

कर्मचारीहरूबाट उपचारमा लापरबाही नभएको अस्पताल विकास समितिका कार्यवाहक अध्यक्ष सरोजकुमार बज्राचार्य बताउँछन्। अस्पतालले उपचार गर्न नसक्ने भन्दै रिफर गरेकोे जनायो। तर बच्चालाई दिइने नियमित खोपअनुसार बिहीबार लगाइएको खोप लगाएपछि बच्चा बिरामी भएकाे जनइएकाे छ। बच्चालाई जेष्ठ एक गते जिल्ला जनस्वास्थ्यमा डिपीडी र पिसीभी खोप लगाइएको थियो। 

बैशाख १२ गते लगाउनुपर्ने भए पनि खोप नभएका कारण जेष्ठ एक गते मात्र खाेप लगाइएको थियो। खोप लगाउने क्रममा स्वास्थ्यका कर्मचारीले बच्चाका आमालाई गाली-गलौज गर्नुका साथै बच्चालाई खोप लगाउँदा रिसाएर दुईतीन पटक सिरिन्ज प्रयोग गरेको उनीहरू बताउँछन्। बच्चालाई खोप दिएपछि खोप दिएको ठाउँबाट रगत नरोकिएपछि स्वास्थ्यका कर्मचारीले आइसले सेक्न सल्लाह दिएका थिए। चिकित्सकको सल्लाह अनुसार गरिए पनि सोही दिनदेखि खोप दिइएको स्थानमा सुन्निएर घाउ भएको तामाङले बताए। 

बिरामीमा सुधार नआएपछि दुई दिनपछि बिहीबार बच्चालाई चेकजाँचका लागि अस्पताल ल्याएको तामाङले बताए। जिल्ला अस्पताल खाँदबारीमा यस्तो प्रकारको घटना भने नौलो हाेइन। यसअघि पनि यस्तै कारणबाट अन्य दुई बच्चाको ज्यान गइसकेको छ। अस्पतालमा अस्पतालका कर्मचारीहरू वीचमा नै मनमुटाव हुँदा कर्मचारी-कर्मचारी बीचमा नै झगडा समेत हुने गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.