|

सुर्खेत : सुर्खेतको पञ्चपुरी नगरपालिकाका किशोरीहरू छाउपडी प्रथाविरुद्धको अभियानमा संगठित भएका छन्। यहाँका किशोरीहरूले महिनावारी हुँदा बस्नका लागि बनाइएका छाउ गोठ भत्काउन सुरु गरेका छन्।

अहिले यस क्षेत्रका किशोरीहरू टोललाई नै छाउपडी गोठमुक्त बनाउन जुटेका छन्। किर्डाक नेपाल संस्थाले संचालन गरेको लालीगुराँस र हरियाली किशोरी संवाद केन्द्र समूहमार्फत् किशोरीहरू कुरीति र कुसंस्कारका विरुद्ध जागरूक भएका हुन्।

पञ्चपुरी नगरपालिका– ३ लगमकी सुनिता बोहरा अहिले उमेरले १५ वर्ष मात्र भइन्। करिव एक वर्ष अगाडिदेखि सुनिता हरेक महिना महिनावारी हुँदा तीन दिन सानो छााउपडी गोठमा सुत्नुपर्थ्यो।

सुरुसुरुमा त सुनितालाई सानो गोठमा तीन रात बिताउन तीन वर्षझैँ लाग्थ्यो तर समाज अनि पारिवारिक रूपमा बाध्यात्मक अवस्था थियो।

महिनावारी हुँदा घरमा बस्दा देउता रिसाउने, भैँसीले दूध नदिने, घरमा सर्प आउने जस्ता अन्धविश्वासले गर्दा उनकै अभिभावकले उनलाई अलग्गै बस्न लगाउँथे।
उनले भनिन्, ‘राती एक्लै सुत्दा डरले कहिल्यै राम्रोसँग निदाउन सकिनँ, पानी परेको बेला गोठ चुहिने गथ्र्यो, एकातिर सर्प, जनावरको डर, अर्कोतिर इज्जत लुटिने हो कि भन्ने डर।’

यो  रुढिवादी संस्कार हो भन्ने कुरा सुनितालाई थाहा त थियो तर पनि उनलाई केही मेसो थिएन। किर्डाक नेपाल संस्थाले संचालन गरेको संवाद केन्द्र जब उनको गाउँमा संचालन भयो, उनी त्यहाँ निरन्तर सहभागी हुन थालिन्। लालीगुराँस र हरियाली किशोरी संवाद केन्द्रमा दुई घण्टा नियमित छलफल सुरु हुन्थ्यो।

सुनिताको जस्तै समस्या टोलभरिका अरू किशोरीहरूको पनि थियोे। त्यसपछि सबै किशोरीहरू मिलेर कुसंस्कार र अन्धविश्वासका विरुद्ध जुट्ने छलफल मात्र चलाएनन्, त्यसको सुरुवात आफूबाटै गर्ने प्रतिबद्धता पनि गरे अनि आफ्नो  गाउँ, टोल तथा घरघरमा भएका छाउगोठ भत्काउन सुरु गरे।

२०७४ कार्तिकदेखि संवाद हुँदै नियमित रूपमा घरमा उनीहरूले छाउपडी प्रथाको बारेमा छलफल संचालन गरेका थिए। सुरुसुरुमा अभिभावकलाई सम्झाइबुझाई गर्न गाह्रो भएको किशोरीहरूको अनुभव छ। तर अहिले किशोरीहरू टोललाई नै छाउपडी गोठमुक्त बनाउन जुटेका छन्।

अहिले सुनिता महिनावारी हुँदा सुत्नका लागि छुट्टै छाउगोठ छैन। घरमै सुत्ने गर्छिन् अहिले उनी। पञ्चपुरी नगरपालिकाको वडा नम्बर– ३ को लगाममा धेरैजसो घरमा छाउ गोठ रहेका छन्। अहिले किशोरी, अभिभावक तथा संवाद सहयोग समितिको अगुवाइमा छाउगोठ भत्काउन थालिएको हो। 

‘सुरुमा डरले महिनावारी हुँदा घरबाहिर पठायौँ, यो सबै अन्धविश्वास रहेछ’, अविभावक आशा भण्डारीले भनिन्। अहिले छोरीहरू सुरक्षित होऊन् भनेर आफू पनि यो छाउप्रथा उन्मूलनको अभियानमा लागेको उनको भनाइ छ।

सुर्खेतको पश्चिम क्षेत्रमा सुदूरपश्चिमबाट अहिलेको प्रदेश ७ बाट बसाइँसराइ गरेर आएका बस्तीहरू रहेका छन्। यो क्षेत्र सुदूरपश्चिमको संस्कृतिबाट प्रभावित छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.