|

दैलेख : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले त्रिदेशीय सडकखण्डको शिलान्यास साेमबार गरेका छन्। विगत तीन वर्षदेखि लगातार सरकारको प्राथमिकतामा परेको जमुनाहा-कोहलपुर-दैलेखको डुगेश्वर हुँदै मुगु जोड्ने सडकमा यस वर्ष पनि तीन करोड रुपैयाँ बराबर रकमको ठेक्कामार्फत् काम सुरु गरिने भएको हो। याे त्रिदेशीय सडक दैलेखको डुगेश्वर हुँदै दुल्लु-कुसानी-कालीकोट-जुम्लासम्म जोडिनेछ। 

कर्णाली सरकारले पहिलो विनियोजन विधेयकमा महत्त्वका साथ प्रस्तुत गरेका दुईवटा सडकहरूमध्ये यो सडकखण्डको तोकिएकै समयमा काम पूरा गर्न निर्माण कम्पनीलाई निर्देशनसमेत दिइएको छ। चालू आर्थिक वर्षमा तीन करोड ३५ लाख १६ हजार रुपैयाँ बजेट प्रदेश सरकारले विनियोजन गरेकोमध्ये ‘केएसके’ निर्माण कम्पनीले ४४ प्रतिशत घटेर ठेक्कामार्फत् काम सुरु गर्ने तयारी गरेको छ। सडक शिलान्यास गर्दै मुख्यमन्त्री शाहीले हरेक आयोजनाबाट फाइदा कसरी लिन सकिन्छ भन्ने प्रवृत्ति अन्त्य गरी विकासमा लाग्न सबैलाई आग्रह गरेका छन्। मुख्यमन्त्री शाहीले भने, 'विकासले तपाईंहरूलाई दीर्घकालीन फाइदा पुर्‍याउनेछ। यसमा सबैले ध्यान दिनुपर्छ।' 

मुख्यमन्त्रीले शिलान्यास गरेको प्रादेशिक राजमार्ग कायमै रहेको र कर्णाली राजमार्गको विकल्पका रूपमा दैलेख सदरमुकाम हुँदै महावु र जुम्ला जाने सडक अहिलेको दूरीमा ७९ किलोमिटर छोटो, छिटो र सुरक्षित हुने भएकाले प्रदेश सरकारले संभाव्यता अध्ययनका लागि प्राथमिकतामा राखेकाे मुख्यमन्त्री शाहीले बताए। दुईवटै सडकको काम प्राथमिकताका साथ अगाडि बढ्ने पनि मुख्यमन्त्री शाहीले बताए। मुख्यमन्त्री शाहीले भने, 'दैलेखलाई पर्यटकीय गन्तव्यको जिल्ला बनाउन सक्छौँ। विकास यताबाट भयो, उताबाट भयो भनेर चिन्ता नमान्नुहोस्।' जताबाट बाटो गए पनि पनि दैलेखमा लाखौँ पर्यटक भित्र्याउने अभियानमा लाग्न जिल्लाका सांसद र नेताहरूलाई मुख्यमन्त्रीले सुझाव दिए। 

तीन करोड रुपैयाँको बाटो ४४ प्रतिशत घटेर ठेक्का पास गर्ने प्रवृत्तिले विकासमा समस्या भएको र प्रदेश कानुनमा विकासमैत्री खरिद ऐन निर्माण गरिने अर्थमन्त्री प्रकाश ज्वालाले बताए। अर्थमन्त्री ज्वालाले भने, 'अब विना तयारी र विना योजनाका कुनै पनि योजना आयोजनाहरूमा रकम बिनियोजन गरिँदैन। तपाईंहरू जुन योजना बनाउँदै हुनुहुन्छ, त्यसको संभाव्यता अध्ययन गर्नुहोस् अनि मात्र बजेट माग गर्नुहोस्।' 

प्रदेश सरकारको यो सडक योजना निर्माण सम्पन्न भएमा कर्णाली प्रदेश चीन र भारतसँग सजिलै जोडिनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.