|

दमक (झापा) : दमक नगरपालिका– ७ का वडा अध्यक्ष तथा राष्ट्रिय प्रजातन्त्र पार्टी दमक नगर समितिका अध्यक्ष भीमप्रसाद पौडेलको घरमा भएको बम विस्फोटमा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

दमक– ७ का मिठ्ठुकुमार तामाङलाई अनुसन्धानका  लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। तामाङलाई सादा पोसाकमा आएका प्रहरीले घरैबाट अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिएको थियो। इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक गिरीले उनलाई घटनाका बारेमा सोधपुछका लागि ल्याइएको जनाए। 

स्थानीय पीडित संघर्ष समितिले तामाङलाई अन्धाधुन्ध नियन्त्रणमा लिएको भन्दै आपत्ति जनाएको छ। आइतबार राती साढे ८ बजेतिर अज्ञात समूहले वडा अध्यक्षको घरलाई लक्षित गरी शक्तिशाली बम विस्फोट गराएको थियो। विस्फोटको छर्रा लागेर दमक– ८ की सेमु राई र त्रिलोचन पोख्रेल घाइते भएका छन्। हात, खुट्टामा चोट लागेका घाइते दुवैको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ।   

यसैबीच दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले वडा अध्यक्ष पौडेलको घरमा भएको बिस्फोटको निन्दा गर्दै संलग्नलाई कानुनी कारवाहीको प्रक्रियामा ल्याउन आग्रह गरेका छन्। शान्ति सुरक्षाको व्यवस्था सुदृढ बनाउनसमेत सरकारसँग उनको माग छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.