|

कञ्चनपुर : कञ्चनपुरका राना थारू समुदायले विभिन्न चाडपर्व, विवाह र अवसरमा पाहुनालाई सत्कार गर्न र घर परिवारमा खाइने परम्परागत परिकार हराउँदै जान थालेका छन्।

थारू समुदायले परम्परागत रुपमा बनाउँदै आएका मिसौला, पतौला, कुथुवा रोटी, खजुरिया र सिमहीलगायतका परिकार हराउँदै गएको छ। पछिल्लो पुस्ताका थारू समुखाय उक्त परिकारका सट्टा सेल, पुरी, हलुवा, पुलाउ र मिठाईलगायतका परिकारतर्फ आकर्षित हुन थालेपछि परम्परागत परिकार हराउँदै गएको हो। उक्त परिकार र बनाउने कालीगढ सहज रूपमा उपलब्ध हुन थालेपछि चाडपर्व, विवाहलगायतका विशेष कार्यक्रममा परम्परागत परिकारको प्रयोग घट्दै गएको असैनाका रामभरोसा रानाले बताए।

मिसौला अन्ती धानको चामलमा चिनी, तेल, नरिवल मिसाएर पानीको वाफबाट पकाइन्छ। तर, पछिल्लो समय स्थानीय अन्ती धानको सट्टा विकासे जातका धान खेतीतर्फ थारू समुदायको आकर्षण बढेकाले मिसौल बनाउने धान अभाव हुने गरेको रानाले बताए।

गहुँ वा चामलको पीठोमा नुन, खुर्सानी, हल्दी मिसाएर पिँडालुको पातमा पोको पारेर बाफमा पकाइ टुक्रा बनाई तेलमा तारिने पतौला, उसिनेको आलुलाई भिजाएर मसुरोका दालमा नुन खुर्सानी मिसाई चामलको पिठोमा घारो लगाई तावामा पकाइने कुथुवा रोटी, गहुँको पिठोमा चिनी राखी तेलमा तारेर तयार गरिने खजुरिया र गहुँको पिठोलाई परम्परागत रूपमा तयार पारिएको औजारबाट स–साना धर्साजस्तो बनाएर घाममा सुकाई तेल, दुध वा भातको माडमा हालेर चिनी नरिवललगायतका मिसाइर बनाइने सिमहीलगायतका परम्परागत परिकार हराउँदै गएका छन्।

यी परिकार बनाउनका लागि बढी समय लाग्ने र सामग्रीको बढी जोहो गर्नुपर्ने भएकाले यस्ता परिकार हराउँदै गएको बालसुग्रिव राना बताउँछन्। यस्ता परिकारले समुदायको संस्कृति, परम्परा, पहिचान झल्काउँछ, अन्य समुदायभन्दा फरक देखाउन मद्दत गर्दछ भन्ने राना थारू समुदायमा चेतना नहुँदा पनि लोप भएको उनको भनाइ छ।

अर्कोतर्फ परम्परागत परिकार बनाउने अग्रजले युवा पिढीलाई सिकाउने चासो नदिनु र युवामा सिक्ने चाहना नभएकै कारण मौलिक परिकार हराउँदै जान थालेको अमरसिंह रानाको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.