समाज : सुरक्षा/अपराध

कलेजका निमित्त प्रमुख कुटिए, पूर्वप्रमुख पक्राउ
SHARES

जेठ ८, २०७५

    लहान : सिरहाको मिर्चैयास्थित ब्रह्मचारी दामोदरानन्द कलेजका निमित्त प्रमुख उमेश साह कुटिएपछि पूर्वप्रमुखलाई प्रहरीले पक्राउ गरेको छ।

    कलेज संचालनको समयमा निमित्त प्रमुख उमेश साहलाई कलेजका पूर्वप्रमुख संजयकुमार साहको नेतृत्वमा रहेको समूहले  कलेजमा पुगेर ‘म कलेज प्रमुख हुँ, यहाँबाट जाऊ’ भन्दै कुटपिट गरेपछि पूर्व प्रमुख साहलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले पक्राउ गरेको हो। ‘कलेज चलाएका प्रमुखले पनि गुण्डागर्दीको शैलीमा आक्रमण गरे’ नाम उल्लेख नगर्ने शर्तमा कलेजका एक कर्मचारीले बताए। 

    पूर्वप्रमुख पनि उपचारमा 

    कुटपिटमा संलग्न कलेजका पूर्व प्रमुख साहलाई पक्राउ गरी सिरहा जिल्ला अदालतबाट अनुसन्धानका लागि पाँच दिनको म्याद थपिएको प्रहरी निरीक्षक श्यामल सुब्बाले जानकारी दिए। कलेजका पूर्व प्रमुख साह पहिलेदेखि नसा सम्बन्धी समस्याले बिरामी रहेको र जेठ ४ गते कलेजमा विवादको क्रममा नसाको समस्याको बल्झिएपछि  प्रहरीको निगरानीमा उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाईएको प्रहरी निरीक्षक सुब्बाले बताए।    

    के हो कलेजको विवाद ? 

    पूर्व प्रमुख साहविरुद्ध आर्थिक कारोबार कलेज संचालक समितिलाई छलेर व्यक्तिगत ढङ्गले गरेको, बिना प्रतिस्पर्धा शिक्षक भर्ना गरेको, कलेजको आय व्यय पारदर्शी नगरी लेखापरीक्षण गरिएको, कर्मचारीहरुलाई लामो समयदेखि तलब उपलब्ध नगराएको आरोप रहेको छ। त्यस्तै, कलेजको भवन निर्माणका लागि प्राप्त आएको अनुदान रकम अनियमितता गरेको, कलेजको नाममा विभिन्न निकायमा कीर्ते कागजात पेश गरेको लगायतका आरोप लगाउँदै कलेज संचालक समितिले २०७४ पुस १२ गतेको निर्णय अनुसार तत्कालीन कलेज प्रमुख साहलाई पदमुक्त गरी उप–प्राध्यापक उमेश साहलाई निमित्त कलेज प्रमुख बनाएपछि विवाद चुलिएको हो। 

    पूर्व-प्रमुखको रिट पनि खारेज

    संचालक समितिले उमेशलाई निमित्त कलेज प्रमुख बनाएपछि असन्तुष्ट बनेका तत्कालीन प्रमुख साहले उच्च अदालत जनकपुरको राजविराज इजलासमा दायर गरेको रिट २०७४ चैत २५ गते  खारेज भएको थियो। अदालतले रिट खारेज गरेपछि कलेज संचालक समितिका अध्यक्ष मधुरी साहले अदालतको आदेशको अवहेलना गर्दै २०७४ चैत २६ गतेदेखि लागू हुने गरी संजय कुमार साहलाई कलेज प्रमुख नियुक्त गरेपछि विवाद उत्कर्षमा पुगेको हो। 

    कलेज संचालक समितिको म्याद पछिल्लो मंसिर १६ गते सकिएपछि त्रिविले मधुरी साहलाई समितिको अध्यक्षमा पुनः ६ महिनाको लागि म्याद थपेर पाँच सदस्यीय समिति बनाई विधान संशोधन गर्न जिम्मा दिएको भएपनि उनले कार्यादेशविपरीत कलेज प्रमुख नियुक्त गरेको विद्यार्थीहरु बताउँछन्।

    नियमित पठनपाठनको मागसहित पछिल्लो माघ २४ गतेदेखि विद्यार्थीहरुले कलेजमा तालाबन्दी गरेपछि निमित कलेज प्रमुख उमेश साहको उपस्थितिमा ४ बुँदे सहमति गरी वैशाख ६ गतेदेखि कलेज संचालनमा आएको थियो। वि.सं. २०६४ सालमास्थापित उक्त कलेजमा शिक्षा र व्यवस्थापन संकायको स्नातक तहसम्मको पढाइ हुँदै आएको छ। 
     

मणिलाल विश्वकर्मा

विश्वकर्मा थाहा खबरका सिरहा संवाददाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]