|

काठमाडौं : साढे ३३ सुन काण्डका मूख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ पक्राउ परेका छन्। साढे ३३ किलो सुन तस्करीका मुख्य नाइके मानिएका गोरेलाई काठमाडौंबाट पक्राउ गरिएकाे प्रहरीको भनाई छ। पाँच वर्षदेखि सुन तस्करी गरिरहेका उनी पक्राउ परेसँगै घटनाले अर्कै मोड लिने गृहमन्त्रालयको छानबिन समितिको बुझाई छ।

यस्तो थियो घटना

माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारी र प्रहरीसँगको सेटिङमा साढे ३३ किलो सुन भित्रिएर पनि हराएको थियो। ३३ किलो सुन विमानस्थलबाट बाहिर ल्याएका थिए थाई एयरवेजमा वरिष्ठ प्राविधिक सानु वनले। वनले ल्याएको सुन एयरपोर्टबाट निस्किएपछि सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो।

२२ माघमा सुन गायब भएपछि सुनका मालिन गोरेलगायतको समूहको टर्चर सहन नसकेर उनले गुड्दै गरेको ट्याङ्करमा ठोक्किएर आत्महत्या गरेका थिए। वनपछि उर्लाबारीका सनम शाक्यको हत्या भएको थियो। उनी गारेको नजिकको सहयोगी समेत थिए। हराएको सुनको सूचना फुत्काउने कोसिसका क्रममा करेन्ट लगाएर टर्चर दिँदा शाक्यको मृत्यु भएको थियो। शाक्यको शव अपराध महाशाखाको प्रहरी टोलीले इटहरीबाट बरामद गरेको थियो।

घटनाको अनुसन्धान गर्न गठित गृह मन्त्रालयको सहसचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समितिले ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा अपराधिक समूह स्थापना र सञ्‍चालन गरी सुनको अवैध कारोबार गरेको अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको थियो।

यस विचमा ३० जनाभन्दा बढी व्यक्ति पक्राउ परेर बयान समेत सकिएको छ। पक्राउ पर्नेमा आधा दर्जन बहालवाला प्रहरी र उच्च प्रहरी अधिकारी रहेका छन्। सुन तस्करका मूख्य अभियुक्त गोरे र एसएपी श्याम खत्री भने फरार भएका थिए। गोरे पक्राउ परे पनि श्याम खत्री भने अझै पक्राउ परेका छैनन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.