|

बुटवल : राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानसमेत रहेका चित्रबहादुर केसीले सरकारले शब्दमा समाजवाद भने पनि समाजवादोन्मुख कुनै पनि स्पष्ट नीति ल्याउन नसकेको बताएका छन्।  बुटवलमा रिपाेटर्स क्लब प्रदेश-५ ले गरेको साक्षात्कारमा अध्यक्ष केसीले सरकारको नीतिले जनजीविकाको सवाललाई सम्बोधन नगरेको बताएका हुन्। 

‘समाजवाद उन्मुख भन्ने तर नीति नै छैन। नीति के हो, कसरी हो, कृषिमा आत्मनिर्भर कृषि नीति, भूमिसुधार नीति के हो, नयाँ पिँढीले के गर्ने, रोजगारी कसरी सिर्जना गर्ने, युवाहरू के गरेर बस्ने, आत्मनिर्भर बनाउन के गर्ने, उद्योग धन्दा कलकारखाना खोल्ने नीति खै ?’ उनले  प्रश्न गरे। यातायातको सिण्डीकेट तोडेकोमा सरकारलाई धन्यवाद दिँदै उनले मुलुकमा अझै १४ वटा क्षेत्रमा सिण्डिकेट बाँकी रहेको बताए।

‘अब शिक्षा, स्वास्थ्य, न्यायपालिकामा पनि सिण्डिकेट छ। अब बाँकी १४ सिण्डीकेटरहरूले नै सरकार खाने खतरा छ, ’ उनले भने। केसीले एमाले र माओवादीवीचको एकता संसदीय व्यवस्थाको पक्षपोषण मात्र भएको बताए। अध्यक्ष केसीले हालै गठित नेकपासँग आफ्नो पार्टीको एकता नहुने प्रष्ट पारेका छन्।

कार्यक्रममा उनले प्रदेश सरकारको कुनै भूमिका नै नदेखिएको भन्दै खारेज गर्नुपर्ने पनि सुनाए। उनले भने, ‘प्रदेशका सांसद र मन्त्रीको चिया खाने काम मात्रै भयो कि नेपाली जनतालाई आर्थिक भार मात्रै सांसदको काम खै?’ उनको प्रश्न थियो।

सरकारले सोमबार मात्र संघीय संसद्‍मा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.