|

सुर्खेत जिल्लाका साविकका पाँचवटा लेकफर्सा, दशरथपुर, नेटा, कल्याण र साटाखानी गाविसहरू मिलाएर लेकबेँसी नगरपालिका गठन भएको हो। यस नगरपालिकाको क्षेत्रफल १५० वर्ग किलोमिटर रहेको छ भने ३० हजार २९५ यहाँको जनसंख्या रहेको छ, जसमा महिला १५ हजार ४५१  र पुरुष १४ हजार ८४४ छन्।

जम्मा छ हजार ३४६ घरधुरी रहेको यस नगरपालिकामा ब्राह्मण, क्षेत्री, मगर, आदिवासी जनजाति र दलितको बसोबास छ। यस नगरपालिकामा जनजातिको बाहुल्य रहेको छ। जनजातिको जनसंख्या ११ हजार २४६, दलितको छ हजार ३९६ र अन्यको नौ हजार ७०३ छ।

पूर्वमा गुर्भागोट नगरपालिका, उत्तरमा चिङ्गाड गाउँपालिका, पश्चिममा वीरेन्द्रनगर नगरपालिका र दक्षिणमा भेरी नदी यसको सीमामा अवस्थित छन्। माथिल्लो उत्तर क्षेत्रमा लेक र तलतिर दक्षिण क्षेत्रमा भेरीको किनारमा भेरी नदीको बेँसी भएकाले पनि नगरपालिकाको नाम लेकबेँसी रहेको हो। 

सामान्य गरिब परिवारको जेठो सन्तान हुन् गगन सुनार। मुस्किलले चारदेखि छ महिना खान पुग्ने परिवारिक अवस्था थियो उनको। उनलाई कक्षा सातमा पढ्दा नै अाफूमा राजनीतिक चेतना विकास भएको स्मरण छ। राजनीतिक, आर्थिक, सामाजिक अवस्थामा पछाडि परेको ठाउँमा सामाजिक हिसाबले पनि पछि पारिएको एक दलित परिवारमा जन्मिएका गगन परिवारमै पहिलो एसएलसी पास गर्ने व्यक्ति हुन्।

कक्षा ८ मा पढ्दा अनेरास्ववियु प्रारम्भिक कमिटीको अध्यक्ष हुँदै इलाका कमिटीको सदस्य हुँदा भूमिगत पार्टी मालेको तर्फबाट उपप्रधानपञ्चमा निर्वाचित पनि भए उनी।

पञ्चायती व्यवस्थाको अन्त्यसँगै लेखफर्सा गाउँ कमिटीको सचिव भए। २०५४ मा सम्पन्न स्थानीय चुनावमा गाविस उपाध्यक्षमा अत्यधिक मतले निर्वाचित भए। ०५५ मा जिल्ला विकास समितिको सदस्यमा निर्वाचित भए। पछि नेकपा एमाले जिल्ला कमिटीको सदस्यको जिम्मेवारी लिए। एमाले पार्टीको सचिवको जिम्मेवारी सम्हाल्दै नयाँ संरचनामा सुर्खेतको लेकबेँसी नगरपालिकाको नगर प्रमुखमा विजयी भए, यस पटकको स्थानीय तह निर्वाचनमा। अहिले पनि एमालेको जिल्ला सचिवालय सदस्य छन् उनी। प्रस्तुत छ गगन सुनारसँग यस नगरपालिकाको अवस्था र योजनाबारे थाहाखबरकर्मी धर्मराज जिसीले गरेको कुराकानी।

तपाईं नगर प्रमुखमा निर्वाचित भइसकेपछि मुख्य रूपमा केके काम गर्नुभयो?

नेपालमा संविधान जारी भइसकेपछि हाल मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र भई संघीयताको अभ्यास भएको बेला सिंहदरबारको सुविधा जनताको घरदैलोमा पुर्‍याउने जिम्मेवारी पाएको छु।

मैले जेठ ५ गते कार्यभार सम्हालिसकेपछि गाउँघरमा पनि आउनुपर्‍यो भन्ने जनताको विचारलाई सम्मान गर्दै त्यहाँ जाने अवस्था रह्यो। जनतासँगै जाने कार्यक्रम रह्यो र नगरसभा गर्ने काम गरियो। नगरसभाबाट कार्ययोजना बनाउने भन्ने काम असार ३० गने गर्नै पर्ने अवस्था थियो। तर समय अभाव पनि त्यस्तै थियो। हामीले जनताका आधारभूत कुरामा ध्यान दिनुपर्छ भन्ने अवस्था बुझेर अब हुने नगरसभामा जनताको प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा जति कार्य गर्नुपर्ने हो, त्यति कानुन अभावमा गर्न सकिएको छैन।

भौगोलिक अवस्थाको कारण पनि विकासका काम गर्न अलिक चुनौती छन्। उसो त अवसरहरू पनि त्यति नै छन्। कर्मचारी अभावमा पनि सबैै काम गर्न सकेको अवस्था छैन।

जनताको प्रत्यक्ष सरोकार राख्ने विषयहरू, जस्तो : स्वास्थ्य, शिक्षा, कृषि जस्ता विषयमा बढी केन्द्रित छौँ तर केही भौतिक संरचना वा अन्य केही प्राविधिक कारणले यसमा प्रभावकारी कार्य हुन सकेको छैन। तर हामी सबै विषयलाई ध्यानमा राखी जनताका प्रत्यक्ष सरोकार राख्ने विषयमा नै केन्द्रित भएर लागेका छौँ।

निर्वाचनको समयमा तपाईंले मतदातासँग गरेका प्रतिवद्धताहरू कति पूरा गर्नुभयो र कति बाँकी छन्?

धेरै कामहरू गर्न बाँकी छन्। जनतामा पनि विकासको सन्दर्भमा बुझाइको पनि विकास भइसकेको अवस्था छैन। गाडी गुडोस् या नगुडोस् तर बाटो बनाउनुपर्छ। पढाइ जस्तो भए पनि भवन विद्यालय बनाउनुपर्छ भन्ने मान्यता छ। बिजुली बलोस् कि नबलोस् पोलचाहिँ हुनुपर्छ भन्ने छ। खानेपानीको क्षेत्रमा त्यस्तै  अवस्था छ। विकासमा गुणस्तरभन्दा पनि मात्रात्मक होस् भन्ने चाहना देखिन्छ।

मैले हिजो गरेका प्रतिवद्घताहरू पूरा गर्र्न सकेको अवस्था छैन।  मुख्यतया विकासको मेरुदण्ड भनेको जनताको आधारभूत आवश्यकता स्वास्थ्य, शिक्षा, सडक, खानेपानी, बिजुली जस्ता विषय भएकाले यी क्षेत्रको विकासका लागि विविध मापदण्डमा रहेर काम गर्नुपर्ने अवस्था छ।

अब हुने नगरसभामा जनतालाई प्रत्यक्ष सरोकार राख्ने आवश्यकतालाई प्राथमिकतामा राख्ने योजना छ।

कर्मचारी अभावका कारण त्यहाँ हामीले नगरपालिकाबाट तलब भत्ता दिने गरी व्यवस्था गरेका छौँ तर पछि कानुनी अवरोधका कारण त्यो अवस्था आयो भने हामीलाई काम गर्न अप्ठ्यारो हुन्छ कि भन्ने लागेको छ। त्यस कारण केन्द्र सरकार र प्रदेश सरकारले त्यसमा कानुन नबाझिने गरी कानुन निर्माण गरोस् भन्ने चाहना छ।

स्थानीय सरकार सञ्चालनको करिब एक वर्ष पुग्न लाग्यो, कतिपयले पहिलो वर्ष सिकाइको वर्ष भन्छन्, तपाईंको अनुभव के छ?

सिकाइको नै अवस्था हो तर मेरो विगतको अनुभवले पनि काम गर्न केही सजिलो भने भएको छ। यहाँका जनप्रतिनिधिहरूले पनि सहयोग राम्रो नै गर्नुभएको छ। आस्थाको हिसाबले जो जहाँ रहे पनि हाम्रो लेकबेँसी नगरपालिकाको विकासको हिसाबले हामी सबै जना एक ठाउँमा छौँ।

पहिलो कुरा त विनायोजना काम गर्न सजिलो छैन। त्यस कारण सबैसँग समन्वय गर्न आवश्यक छ। लेकबेँसीमा अहिले सबै पार्टीका साथीहरूले पूर्ण रूपमा विकास र सेवाका लागि एकरूपता देखाउनुभएको छ।

जनताको प्रत्यक्ष सरोकारका सवालामा सबैको एकरूपता भएकाले काम गर्न पनि अत्यन्त सहज भइरहेको अवस्था छ।

काम गर्दा व्यावहारिक तथा नीतिगत रूपमा के कस्ता समस्या देखिएका छन्?

खासमा विविध नियमावली र कानुनी अभावका कारण काम गर्न स्वाभाविक रूपमा  गाह्रो त छ। जस्तो : नगर शिक्षा समिति गठन, विद्यालयको अनुमति, शिक्षक नियुक्तिको अवस्था, कतिपय ठाउँमा स्वास्थ्यको क्षेत्रमा कर्मचारी पठाउन नसकिएको अवस्था छ। यी विषयहरूसँग सम्बन्धित पर्याप्त नियमावली नहुँदा कानुनी रूपमा काम गर्न सकिएको अवस्था छैन।

वडा नम्बर– १ मा स्वास्थ्य केन्द्र छ। लेकबेँसी– २ मा शहरी स्वास्थ्य छ, ५ मा स्वास्थ्य चौकी, ६ मा शहरी, ५ मा स्वास्थ्य केन्द्र छ, ६ मा शहरी स्वास्थ्य केन्द्र, ८ मा शहरी स्वास्थ्यको योजना छ, ९ मा स्वास्थ्य चौकी छ, १० मा शहरी स्वास्थ्य छ। 

कर्मचारी अभावका कारण त्यहाँ हामीले नगरपालिकाबाट तलब भत्ता दिने गरी व्यवस्था गरेका छौँ तर पछि कानुनी अवरोधका कारण त्यो अवस्था आयो भने हामीलाई काम गर्न अप्ठ्यारो हुन्छ कि भन्ने लागेको छ। त्यस कारण केन्द्र सरकार र प्रदेश सरकारले त्यसमा कानुन नबाझिने गरी कानुन निर्माण गरोस् भन्ने चाहना छ। यसको सुरुवात त प्रदेश सरकारले गरिसकेको छ। 

तपाईंहरूको एक वर्षे कार्यकाल पूरा भइसकेको अवस्था छ, अब ४ वर्षमा तपाईंले लेकबेँसी नगरपालिकामा के गर्नुहुन्छ?

पहिलो कुरा त धुलायाबिट–भेडाबारी सडक छिटोभन्दा छिटो स्तरोन्नति गरी कालोपत्रे गर्ने योजना छ। शिक्षाको सन्दर्भमा अपुग शिक्षक भएको विद्यालयमा शिक्षक नियुक्ति गर्ने, आधारभूत तहदेखि मावि तहसम्म हामीलाई दिइएको अधिकारलाई प्रयोग गर्दै निःशुल्क र अनिवार्य बनाउने, भेरी बबई डाइभर्सन योजनामार्फत् भेरीको पानी बाँके, बर्दिया जाँदै छ। लेकबेँसी नगरपालिका त त्यसबाट अझ प्रभावित छ। त्यस कारण गौरवको आयोजनामार्फत् हुन्छ कि कसरी हुन्छ, त्यस वरपरको क्षेत्रलाई सिँचाइ गर्नका लागि पहल गर्दैछु।

प्रभावित क्षेत्रका जनताको रोजगारीको कुरा पनि भइरहेको छ। नगरपालिकाको उत्तरी भेगमा बाख्रापालन, अदुवा खेती, बिउ उत्पादन सहकारीहरूले सुरुवात गरेका छन्। हामीले कृषि उत्पादनमा जोड दिइरहेका छौँ।

भन्नुपर्ने कुरा केही छन् कि?

प्रत्येक वडामा पूर्ण सरसफाईको अभियान जारी छ। वडा नम्बर– १० मा भयो। ४ र ३ मा हुँदै छ। अरूमा सुरुवात भइरहेको छ। हामी हिजो गाविसको संरचनामा हुँदाखेरि नै बालविवाह, बहुविवाहको बारेमा सुरुवात गरेकै प्रक्रियामा अगाडि बढिरहेका छौँ। जेष्ठ नागरिक भत्तालाई टोलटोलमा मात्र नभई घरघरमा नै बुझ्ने वातावरण तयार गर्ने योजनामा छौँ।

व्यावसायिक शिक्षाका लागि व्यावसायिक शैक्षिक संस्था पाँच वर्षभित्रमा सञ्चालन गर्ने सोचमा छौँ। हामीसँग भएको दक्षताको आधारमा काम गर्ने वातावरण तयार गरी आर्थिक समृद्धिको अभियानमा अगाडि बढ्ने योजना नगरपालिकाले बनाउँछ।

खानेपानी, बिजुली विकासका लागि प्रयास भइरहका छन्। बिजुलीको कुरा त केन्द्रसम्म पुर्‍याउने काम भएको छ। त्यसलाई गाउँगाउँमा पुग्ने वातावरण तयार गर्दै छौँ।

सबै ठाउँमा सफा पानी खुवाउने अवस्था तयार गर्दैछौँ। अहिले लेकबेँसी १ र २ वडामा पानीका लागि फिल्टर व्यवस्था साथै गार्सा खानेपानीबाट स्वच्छ खानेपानी दिने तयारीमा छौँ। वितरणको सवालमा पनि एकदमै योजनासहित नगरपालिकाबाट 'म्याचिङ फन्ड'मार्फत जनताका घरदैलोसम्म खानेपानीको व्यावस्था गर्ने तयारी गरेका छौँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.