|

भक्तपुर : नापी कार्यालय, मुलुकका सम्पूर्ण जग्गाको नापजाँच गर्ने सरकारी निकाय हो। नापी कार्यालयले गरेको सानोभन्दा सानो गल्तीले पनि सर्वसाधारणको उठिबास हुने अवस्थासमेत आउन सक्छ। यस्तै एउटा घटना भक्तपुरमा फेला परेको छ।

मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थली साविक दिव्यश्वरी गाविस वडा नं. ५ क को कि नं. ४०४ र ४०५ मा जग्गाधनी रसिला हेक्का डंगोलले तत्कालिन नगर विकासबाट नक्सा पास गरी घर निर्माण गरे। अरनिको राजमार्गको सुरुको ७५ फिटको मापदण्डका आधारमा रसिलाले नक्सा पास गरेको थिए। सो जग्गामा अहिले पनि रसिलाको घर यथावत रहेको छ।

रसिलाले उल्लेखित दुई कित्ता जग्गा नयाँ नापी अन्तर्गत हाल साविक गर्ने क्रममा नापी कार्यालय भक्तपुरले लापरवाहीपूर्ण तरिकाले गलत विवरण दिँदा उनले त अनाहकमा दुःख व्यहोर्नु पर्‍यो नै अर्का दुई जनाले समेत अनाहकम मुद्दा व्यहोर्नु परेको छ।

नापी कार्यालय भक्तपुरले एक ठाउँको जग्गाको विवरण दिनुपर्नेमा अर्कै स्थानको जग्गाको विवरण दिएका कारण अहिले रसिलाले घर भएको जग्गा गुमाउनु पर्ने अवस्था आएको छ। रसिलाले आफ्नो हक कायम गर्न भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर गरेपछि मध्यपुर थिमि–१ का अशोककुमार खड्का र गोकुल खड्का दाजुभाइले अनाहकमा मुद्दासमेत खेप्नु परेको हो।

प्राप्त विवरणअनुसार मध्यपुर थिमि–१, लोहकिल्थलीका रसिलाले आफ्नो नाममा दर्ता कायम भएको साविक दिव्यश्वरी गाविस वडा नं. ५ को ४०४ र ४०५ कित्ता नं. को जग्गा हाल साविक गर्ने क्रममा मालपोत कार्यालय भक्तपुरले मिति २०७२ पौष २२ गते पत्र लेखी नापीसँग साविक प्रमाणका आधारमा हाल साविक भिडाइ पठाउन अनुरोध गरेको थियो।

नापी कार्यालयले सो पत्रको मिति २०७२ माघ ८ गते जवाफ दिँदै सो ‘जग्गा हाल मथिनपा– १६ सिट नं. १०२–११८८–२३ कि नं. १९८ नाप नक्सा भएको देखिन्छ। हाल नापनक्साको फिल्डबुकमा अशोककुमार खड्काको नाममा निर्णयले हालसाविक भएको देखिन्छ भन्ने व्यवहोरा उल्लेख गरेको छ। सो पत्रमा तत्कालिन नापी कार्यालय भक्तपुरका सर्वेक्षक धर्म व्यञ्जनकार र नापी प्रमुख सुर्दशन धामीको दस्तखतसमेत रहेको छ।

नापीको सोही पत्रको आधारमा मालपोतले हालसाविकसम्बन्धी फाइल तामेलीमा पठाएपछि रसिलाले आफ्नो जग्गाको हक कायम गराउन जिल्ला अदालतमा मुद्दा दायर गरेपछि नापीको लापरवाहीको पर्दाफास भएको हो।

स्रोतका अनुसार नापीले विवरण पठाएको जग्गा र रसिलाले दावी गरेको जग्गाको दुरी करिव ३ सय मिटर वरपर रहेको छ। नापीले नक्सा सिट नं. १०२–११८८–२४ को कि नं. १९८ र १९९ को विवरण दिनुपर्नेमा गलत ढंगले नक्सा सिट नं. १०२–११८८–२३ को कि नं. १९८ र १९९ को विवरण दिएको देखिन्छ।

रसिलाको साविकको कित्ता नं. ४०४ सँग साँध जोडिएको कित्ता नं. १९८ र १९९ नक्सा सिट नं. १०२–११८८–२४ को हो। मालपोत कार्यालय भक्तपुरको श्रेष्ता र नापी कार्यालय भक्तपुरको फिल्डबुकमा नक्सा सिट नं. १०२–११८८–२४ को १९८ कित्ताको जग्गाधनी जग्गनाथ खड्का उल्लेख गरिएको छ भने १९९ कित्ताको जग्गाधनी महल खाली रहेको छ। यसको मतलब १९९ कित्ता नं. को जग्गा कसैको नाममा दर्ता नभएको स्रोत बताउँछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.