गोरे पक्राउ परेसँगै सुन तस्करीको थप रहस्य खुल्दै

|

  • जयसिंह महरा/कृष्णसिंह लोथ्याल

काठमाडौं : नेपाल प्रहरीका लागि पछिल्लो चार महिना टाउको दुखाइ बनायो एक अपराधको घटनाले। प्रहरीको टाउको दुखाइ बन्नुको कारण थियो- एकातिर अपराधी पक्राउ पर्न नसक्नु र अर्कोतिर उक्त अपराधमा प्रहरीका बहालवाला एवं पूर्व उच्च अधिकृतहरूको संलग्नता हुनु। मुख्य अपराधी समात्न नसकेको प्रहरीले दिनदिनै आफ्नै अधिकृतहरूलाई पक्राउ गर्नु र उनीहरूको बयान लिइरहनुपरेको थियो। त्यसमा बहालवाला वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी), जसलाई भावी महानिरीक्षकका रूपमा समेत हेरिएको थियो र पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) समेत थिए। यो घटनाले एकातिर समाजमा प्रहरीकाे शाखमा गिरावट आइरहेको थियो भने अर्कोतिर अनुसन्धान गर्ने चुनौती पनि प्रहरीमाथि नै थपिएको थियो।

यो घटना थियो सयौँ किलो सुनसँग सम्बन्धित र त्यसमा मुख्य नाइके थिए गोरे उपनामले तस्करी एवं अपराध दुनियाँमा चिनिएका चूडामणि उप्रेती। यो घटनाको पटाक्षेप साढे ३३ किलो तस्करीको सुन गायब भएपछिको आशंकामा गोरेले सनम शाक्यको हत्या गरेसँगै भएको थियो। त्यसो त गोरेले दुबईबाट यसअघि ३८ क्विन्टल सुन तस्करी गरी नेपाल भित्र्याइसकेको अनुसन्धानबाट खुलिसकेको छ।त्यसमा पनि नेपाल प्रहरीका अधिकृत र जवानहरू तथा त्रिभुवन विमानस्थलका कर्मचारीको संलग्नता भएको गृह मन्त्रालयले सहसचिव ईश्वरीप्रसाद पौडेलको नेतृत्वमा गठन गरेको छानविन समितिबाट खुलिसकेको छ।

गोरेलाई सार्वजनिक गर्न गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनको भिडियो :

गोल्ड डनको नामले समेत चिनिन थालेका गोरेलाई प्रहरीले मंगलबार पक्राउ गरेसँगै नेपाल प्रहरीको टाउको दुखाइ कम भएको छ। नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेन्द्र थापाले मुख्य अभियुक्त पक्राउ परेपछि अनुसन्धानमा सहज हुने धारणा राखे। उनले थाहाखबरसँगको कुराकानीमा भने, 'मुख्य कडी पक्राउ परेको भएर अनुसन्धानलाई बल पुग्छ र प्रमाणको महत्त्व पनि बढ्छ, त्यसैले यो कुरो राम्रो भयो।'

यसरी हथकडी लाग्यो गोरेको तस्करी र अपराध साम्राज्यमा

फागुन १९ गते मोरङबाट प्रहरीले उर्लाबारीका सनम शाक्यको शव स्कोर्पियो जिपबाट बरामद गरेको थियो। महानगरीय अपराध महाशाखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रजित केसी नेतृत्वको टोलीले उनको शव बरामद गरेको थियो। उनको शव बरामद भएसँगै सुरु भएको अनुसन्धान सुन र गोरे हुँदै प्रहरीको संलग्नतासम्म पुगेको थियो।

गोरेले तस्करीमा सहयोग गरेका सनमको हत्या गरेर शवलाई गायब गर्न प्रहरी अधिकृतहरूलाई करोडौँ रुपैयाँ अफर गरेका थिए। दुई करोड रुपैयाँमा कुरा मिलेपछि गोरेले शव प्रहरी भएको ठाउँमा पठाएका थिए, आफू भने भागेर भारत पुगेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।

२०७४ माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारी र प्रहरीसँगको सेटिङमा गोरेले साढे ३३ किलो सुन काठमाडौं भित्र्याएका थिए, जुन सम्बन्धित व्यक्तिसम्म नपुग्दै अनामनगर आसपासबाट गायब भएको बताइएको छ। उक्त सुन गायब पार्न सनमको हात रहेको आशंकामा गोरेले चरम यातना दिएर सनमको हत्या गरेका थिए। त्यसअघि सोही प्रकरणमा मानसिक यातना खप्न नसकेर थाई एयरवेजमा वरिष्ठ प्राविधिक रहेका सानु वनले गुड्दै गरेको ट्यांकरमा ठोक्किएर आत्महत्या गरेका थिए। उक्त आत्महत्या र सनमको हत्यालाई गृह मन्त्रालयले गठन गरेको समितिका संयोजक पौडेलले शंकास्पद पाइएपछि अनुसन्धान गर्दा यातनाकै कारण मृत्यु भएको बताए।

उक्त सुन काण्डमा जोडिएर ज्यान गुमाउने तेस्रो व्यक्ति थिए, प्रेमलाल चौधरी। उनले अनामनगरमा रहेको महानगरीय प्रहरी वृत्तमा आत्महत्या गरेका थिए। उनले शौचालयको झ्यालमा सुरुवालको पासो लगाएर आत्महत्या गरेका थिए।

यसरी सुन काण्डमा जोडिएकाको एकपछि अर्को हत्या र आत्महत्याको शृंखला नरोकिएपछि अनुसन्धान गर्दै जाँदा प्रहरी अधिकृतहरूको संलग्नता भेटिएको थियो। त्यसपछि गृह मन्त्रालयले सहसचिव ईश्वरीप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो। उक्त समितिले बहालवाला एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी तथा पूर्वडिआइजी गोविन्दप्रसाद निरौलालगायतलाई पक्राउ गरेको थियो। उनीहरूलाई मोरङमा लगेर जिल्ला अदालतमा मुद्दा चलाइएको छ। एसएसपी श्याम खत्री भने फरार रहेका छन्।

यसैबीच छानविन समितिले सुन काण्डसँग सम्बन्धितसँग बयान लिने र प्रमाण जुटाउने काम गरिरहेको थियो। तैपनि समितिलाई सबै प्रमाण जुटाउन गाह्रो भइरहेको थियो। कारण, गोरे फरार रहेका थिए। उनी नेपाल र भारतको सिमानाका शहरमा रहेको भन्ने खबर समितिमा आइरहेको गोरेलाई सार्वजनिक गर्न सिंहदरबारस्थित गृह मन्त्रालयमा आयोजना गरिएको पत्रकार साम्मेलनमा पौडेलले जानकारी दिए। विगत ३-४ दिनयता भने समितिका सबै सदस्यहरूले घरसमेत छोडेका थिए। गोरे काठमाडौं प्रवेश गरेको सूचना प्राप्त भएको उनले बताए। गोरेलाई पक्राउ गर्न रात दिन एक गरिरहेको समिति र प्रहरीलाई मंगलबार बिहान ५:३४ बजे काठमाडौं महानगरपालिका- ८ गौरीघाटमा सफलता मिलेको थियो। गोरे सधैँ बस्ने ठाउँको वरिपरिबाट पक्राउ परेका थिए।

गोरेको पक्राउसँगै खुल्दै रहस्य

छानविन समितिका संयोजक पौडेलले गोरेसँग मंगलबार बिहान लिएको बयानबाट थप रहस्य खुलेको बताएका छन्। गोरेलाई सुन तस्करी, संगठित अपराध, अपहरण, बन्धक, शारीरिक यातना तथा हत्या अपराधको मुद्दा लगाइएका गोरेले सुन तस्करी काण्डमा पक्राउ परेका प्रहरी अधिकृतसहित ३२ जना र फरार ३३ जनाबारे जानकारी दिएको पौडेलले जानकारी दिए। उनले भने, 'अदालत पठाइएका व्यक्तिहरूबारे गोरेबाट थप पुष्टि, प्रमाण, तथ्यहरू र सूचनाहरू संलग्नताको विषयमा प्राप्त भएका छन्। सोसम्बन्धमा हामीले थप अध्ययन अनुसन्धान निरन्तर जारी राख्नेछौँ।'

सुन काण्डमा ६३ जना बढीको संलग्नता रहेको कुरा पौडेलले संकेत गरेका छन्। उनले गोरेको बयानबाट थप संलग्नहरूबारे सूचना प्राप्त भएको जानकारी दिए। त्यसका बारेमा भने उनले अनुसन्धानपछि मात्रै सार्वजनिक गर्ने बताए। त्यसबारे उनको भनाइ थियो, 'यस विषयमा थप अन्य सूचनाहरू प्राप्त भएका छन्। यी अभियुक्त (६३ जना) बाहेक अन्य सम्भावित तथ्य र प्रमाणहरू तथा केही सूचनाहरू प्राप्त भएका छन्। यी विषयमा पनि हामी गहिराइमा तथ्यपरक ढंगले अनुसन्धान गर्ने क्रम निरन्तर जारी राख्नेछौँ।' पौडेलले यो अपराध संजाल जेरी जस्तै जेलिएको बताए। समितिले त्यसलाई सेलरोटी जस्तै बनाउने उनको भनाइ थियो।

गोरे पक्राउ परेसँगै उनको तस्करी र अपराधको शृंखलामा बिराम लाग्ने अनुमान गरिएको छ।

सम्बन्धित समाचार :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.