|

सुर्खेत : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुन काण्डका मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’ पक्राउ पर्नु तस्करीविरुद्धको सरकारी अभियानमा ठूलो सफलता मिलेको बताएका छन्।

कर्णाली प्रदेशको सुरक्षा गोष्ठी उद्घाटन गर्न मंगलवार सुर्खेत आइपुगेका गृहमन्त्री थापाले पत्रकारहरूसँग कुरा गर्दै गोरेको पक्राउसँगै तस्करहरूको जालो तोडिने बताए।

‘सुन प्रकरणका आरोपी सुन तस्कर गोरेलाई पक्राउ गर्न सफल भएका छौँ’ गृहमन्त्री थापाले भने, ‘विस्तारै हामीले अन्य तस्करहरूलाई पनि कारवाहीको दायरामा ल्याउनेछौँ।’

मन्त्री थापाले लागूऔषधलाई कडाइका साथ निषेध गरिने बताए। विकास निर्माणको बाधकको रूपमा रहेको लागूऔषधको प्रयोग गुणात्मक रूपमा बढेको भन्दै भन्दै लागूऔषधका तस्करको जालो तोडने तयारी सरकारले गरेको बताए।

‘शान्ति सुरक्षा, विकास निर्माण, अपराध, घरेलु हिंसाको कारक लागूऔषध बनेको छ,’ गृहमन्त्री थापाले भने, ‘लागूऔषध प्रयोगकर्ता र बिक्रीकर्तालाई कडा कारवाही गर्ने र उक्त सञ्जाललाई नामेट पार्दै शान्ति सुरक्षालाई सुदृढ पारी छोडछौँ।’
 

उनले जस्तो सुकै हालतमा पनि लागूऔषध निषेध तथा मदिरालाई नियन्त्रण गर्ने बताए। ‘मदिरा पूर्ण रूपमा प्रतिबन्ध गर्ने होइन,’ उनले भने, ‘जनतामा चेतना फैलाउने र मदिरा सेवनको उपयुक्त समय मिलाउने योजना मन्त्रालयको छ।’

गृहमन्त्री थापाले नेपालमा राजनीतिक अतिवादी समूहहरूबाट सुरक्षा चुनौति रहेको बताए। ‘विप्लव समूह, तराईमा रहेका भूमिगत केही समूह र सीके राउत जस्ताहरूबाट सुरक्षा चुनौति छ,’ उनले भने, ‘साथै विभिन्न धार्मिक, जातीय समूह तथा बाह्य चुनौतिहरू पनि छन्। तर सरकार ती सबै चुनौतीको सामना गर्दै देशलाई विकास र समृद्धिको बाटोमा लिन सक्षम हुने छ।’

गृहमन्त्री थापाले ठेकेदारहरूलाई नियमन गर्ने निकाय भौतिक योजना तथा निर्माण मन्त्रालय भए पनि मजदूरहरूको पैसा खाएर भागेका, समयमै काम नसक्ने र गुणस्तरीय काम नगर्ने जो कोहीलाई पनि सरकारले नछाडने चेतावनी दिए। तर इमान्दार भएर काम गर्ने व्यवसायीलाई सरकारले साथ दिने उनको भनाइ छ।
गृहमन्त्री थापाले सरकारले देशमा रहेको सबै खाले सिन्डिकेट हटाउने बताए। ‘सिन्डिकेटका कारण पनि देश पछि परेको हो,’ उनले भने, ‘त्यसलाई तोड्नु सरकारको मुख्य काम हो।’

पार्टी एकीकरणको बारे बोल्दै नेपालको इतिहासमा राजतन्त्र हटे पछिको अहिलेको कम्युनिस्ट एकता असाधारण कुरा भएको बताउदै अब देश विकासमा लम्कने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.