|

जनकपुरधाम : मौसम अनुकुल भएपछि यस वर्ष धनुषा जिल्लामा आँपको उत्पादन ह्वात्तै बढ्ने भएको छ। गत वर्ष दुई हजार ३०१ हेक्टर जग्गामा आँपको बोटहरू रहे पनि प्रतिकुल मौसमका कारण पाँच हजार २४५ मेट्रिकटन मात्र आँप उत्पादन हुन सकेको थियो। तर, यस वर्ष धनुषामा दुई हजार ३६६ हेक्टरमा ३०.७५ हजार मेट्रिक टन आँप उत्पादन हुने अनुमान गरिएको छ।   

जुन गत वर्षको तुलनामा यस वर्ष ६ गुणा बढी हो। (अल्टरनेट वेयरिङ्ग) सिजनको रूपमा यो वर्ष आँप फल्ने सिजन रहेकोले आँप उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय धनुषाका बालीविकास अधिकृत बद्रिनारायण साहले जानकारी दिए।

आर्थिक वर्ष २०७१/०७२ मा दुई हजार २५५ हेक्टरमा २७.०७० मेट्रिकटन, ०७२/०७३ मा दुई हजार २७१ हेक्टरमा १७.४८६ मेट्रिकटन, ०७३/०७४ मा दुई हजार२३८ हेक्टरमा ४७.७१ मेट्रिक टन आँप उत्पादन भएको थियो। चालु आर्थिक वर्षमा २ दुई हजार ३६६ हेक्टरमा ३०.७५ मेट्रिक टन आँप उत्पादन हुने अनुमान गरिएको बालीविकास अधिकृत साहले जानकारी दिए। धनुषाको पूर्व–पश्चिम राजमार्ग क्षेत्र आँप पकेट क्षेत्रको रुपमा रहेको छ। 

गत वर्ष ४७.७१ मेट्रिकटन आँप उत्पादन हुने अनुमान गरिएकोमा मौसम प्रतिकुलताका कारण १७.४ ८६ मेट्रिकटनमा ६१ करोड २० लाख १० हजार मूल्य बराबरको आपँ उत्पादन भएको थियो। किसानहरूले जिल्लामा वर्षेनी ३० हेक्टर जग्गामा आँप खेती लगाउँदै आएको कृषि विकास कार्यालय धनुषाको तथ्यांकमा उल्लेख छ।
धनुषाको दक्षिणी क्षेत्रमा आँप खेतीलाई खासै हेरचाह नगरे पनि उत्तरी धनुषाका किसानहरू भने व्यवसायीक रूपमै आँप खेती गर्दै आएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत गोदार, लवटोली, भरतपुर, पुष्पवलपुर, हरिहरपुर, नक्टाझिज, लक्ष्मिनीवास, भुइचक्रपुर, बेङ्गाडावरलगायतका गाउँहरू आँप उत्पादनको पकेट एरियाको रुपमा रहेको छ। 

धनुषा जिल्लामा गत वर्ष ६१ करोड रुपैयाँभन्दा बढीको आँप उत्पादन भएकोमा गत वर्षको तुलनामा यस वर्ष ६ गुणाभन्दा बढी वृद्धि हुने अनुमान गरिएको छ।  जिल्ला कृषि विकास कार्यालयले यस वर्ष आँप फल्ने सिजन रहेका कारण एक अर्बभन्दा बढी मूल्य बराबरको आँप फल्ने अनुमान गरिएको छ। 

‘मेंगो फ्लाई’ किराका कारण आँप किसान चिन्तीत

फल तुहाउने औँसा किराको प्रकोपले धनुषाका आँप किसानलाइ चिन्तित बनाएको छ। गत वर्षको तुलनामा यस वर्ष रुखमा आँपको फल ६ गुणा बढी भएमा पनि फलमा मेङगो फ्लाई नामक किराको प्रकोपले लगानी नै डुब्ने खतरा उत्पन्न भएपछि किसान चिन्तित बनेका हुन्। आँपको फलको मुनी सुरुमा कालो रंगको दाग देखिने र पछि आँप फाटेर रुखबाट झर्ने गरेको किसानहरुले बताएका छन्। 

आँपमा लागेको किराको औषधीका लागि हालसम्म ४० हजार रुपैयाँभन्दा बढी खर्च गरिसकेको भए पनि समस्या समाधान नभएको झण्डै ६ विघामा आँपको खेती गर्दै आएका धनुषा बटेश्वर गाउँपालिकाका लक्ष्मी निवासका किसान जागृत सिंहको भनाई छ। उनले रुखमा आँपको फल गत वर्षभन्दा दोब्बर लागे पनि किरालाई नियन्त्रण गर्न नसके पूरै लगानी नै डुब्ने खतरा रहेको बताए।

कृषि विकास कार्यालय धनुषाका बालीविकास अधिकृत बद्रि प्रसाद साहले मालदह, आम्रपाली, बम्बे, किसुन भोग, दशहरी, जर्दा, कलकतियालगायतका ठूलो आकारको आँप हुने प्रजातिमा मात्र फल (फ्रुट फलाई) तुहाउने आँैसा किरा लाग्ने र फेरेमोन ट्रेप विधि प्रयोग गरे किराको प्रकोपलाई नियन्त्रण गर्न सकिने बताए। उनले मेंगो फ्लाई नामक पोथी किराले फल छेडी फूल दिने र सोही फूल पछि लार्भाको रुपमा विकास भएपछि फल फाटेर झर्ने उनले बताए।

मेंगो फ्लाइ अर्थात फूल तुहाउने औँसा किरा लागेको बोटमा बेक्टोसेरा कम्पोजिट नामक औषधीलाई एउटा डब्बामा राखि रुखमा झुण्ड्याए किराको प्रकोपलाई सहजै नियन्त्रण गर्न सकिने किसानहरुलाई सुझाव समेत दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.