|

जाजरकोट : नलगाड नगरपालिका- १२ को बाइकाँडा दलित समुदायको मात्र बस्ती हो। उक्त बस्तीमा संचालन गरिएको दलित प्राथमिक विद्यालयमा दलित समुदायका बालबालिकाहरूले मात्र अध्ययन गर्दै आएका छन्। २०५० सालमा स्थापना भएको दलित प्राथमिक विद्यालयमा अध्ययन गर्ने पहिलो चरणका विद्यार्थीहरूमा सोही बस्तीका तेजबहादुर विक, चन्द्रबहादुर विक हुन्।

आइएडसम्मको पढाइ पूरा गरेर चन्द्रबहादुर विक सोही दलित प्राविको व्यवस्थापन समितिका अध्यक्ष बनेका छन् भने तेजबहादुर विकले पनि आइएडसम्मको पढाइ पूरा गरेर गाउँमा सामाजिक सेवाका काममा लागिपरेका छन्। विद्यालय स्थापनाकालमै शिक्षक नियुक्ति लिएर त्यसै विद्यालयमा शिक्षण गरिरहेका गुल्मीका हरिप्रसाद ज्ञवाली हालसम्म प्रधानाध्यापक भएर विद्यालय संचालन गरिरहेका छन्। 

नियमित पूजापाठ गर्ने ब्राह्मण भए तापनि त्यस विद्यालयमा आएर शिक्षण गर्न थालेदेखि ज्ञवालीले कहिल्यै पनि जातीय भेदभाव नगरेको स्थानीय तेजबहादुर विकले बताए। 

शिक्षण पेसाका लागि त्यस गाउँमा पुगेका शिक्षक ज्ञवालीले सुरुदेखि नै दलित समुदायको हातको पानी खान थालेको बताउँदै ज्ञवालीले भने, ‘दलित समुदायले छोएको पानी खान थालेपछि मलाई पूजापाठका लागि पूजामा बोलाउन पनि छोडियो। पूजामा मलाई बोलाउन छाडेकामा मलाई कुनै दुःख लागेको छैन, मेरो शिक्षणबाटै निरक्षर बस्तीलाई साक्षर बनाउनुका साथै समुदायकै अगुवा बनाउन सफल भएकोमा म निकै खुसी छु।’

दलित प्राविमा प्रथम चरणमा अध्ययन गरेका तेजबहादुर विक साविकको भगवती गाविसबाट एसएलसी पास गर्ने पहिलो दलित विद्यार्थी हुन्। भर्खरै सुरु भएको नयाँ शैक्षिक सत्रमा त्यस विद्यालयमा बाल शिक्षामा अध्ययन गर्ने बालबालिकाहरूको संख्या जम्मा ४४ रहेको प्रअ ज्ञवालीले जानकारी दिए। ज्ञवालीले दिएको जानकारीअनुसार कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने जम्मा विद्यार्थीहरूको संख्या ९८ रहेको छ।

त्यस विद्यालयमा अध्यापन गरिरहेकी शारदा श्रेष्ठ दरबन्दी कोटाकी शिक्षिका हुन् भने कमलबहादुर विक निजी स्रोतका शिक्षक हुन्। सुनिता शाही उक्त विद्यालयको बाल शिक्षा सहयोगी कार्यकर्ता हुन्।

पूर्वाधार विकासमा निकै पछाडि परेको उक्त दलित प्राविमा नलगाड नगरपालिकाको नगरसभाबाट विनियोजन गरिएको ८६ हजार ४०० रुपैयाँको बजेटबाट यस वर्ष विद्यालयको शौचालय मर्मत गरिएको छ। ७५ हजार रुपैयाँ नलगाड नगरपालिकाको अनुदान र बाँकी रकम वैकल्पिक ऊर्जाको अनुदानमा एक हजार वाट क्षमताको सोलार सेट जडान गरिएको छ।

पूर्वाधार विकासमा खेल मैदान, टेवुल, बेन्चलगायतको वातावरणीय विकास अभावमा उक्त विद्यालय संचालनमा रहेको छ। ९८ घरधुरी रहेको बाइकाँडामा एक घर बोहरा र एक घर गुरुङ समुदायको मात्र बसोबास रहेको छ भने ९६ घरधुरी दलित परिवार रहेका छन्। उक्त बस्तीको कुल जनसंख्या ६३७ रहेको छ। जिल्ला सदरमुकाम खलंगादेखि बाइकाँडा ३५ कोस टाढा पूर्वमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.