|

रुकुम : नयाँ जिल्ला बनेको रुकुमपूर्वको सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिकामा पर्ने गोलखाडामा तोक्ने २०७४ माघ १२ गतेको मन्त्रिपरिषद्को निर्णयका कारण पनि उक्त ठाउँ चर्चामा छ। 

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले नयाँ जिल्लाको सदरमुकाम घोषणा गरेको गोलखाडा त्यसअघि कुनै चर्चामा थिएन। रुकुमपूर्वको सदरमुकाम कुनै समयमा परिवर्तन हुने संभावना भएमा पनि राम्रो बस्ती र थोरै भए पनि भौतिक पूर्वाधार भएका कोल, हुकाम, मैकोट र तकसेरा जस्ता गाउँहरूलाई सोचिएको थियो। 

तर एकाएक सरकारले निर्णय गोलखाडा गरेपछि त्यहाँका स्थानीय आश्चर्यमा समेत परे। त्यसअघि रुकुमपूर्वको सदरमुकाम रुकुमकोटमा थियो भने हाल पनि रुकुमकोटबाटै काम संचालन भइरहेको छ। रुकुमकोटबाट गोलखाडामा सार्नु सरकारको गलत काम भएको भन्दै रुकुमकोटबासीहरूले सर्वोच्च अदालतमा रिट हालेपछि अन्तरिम आदेशबाहेक अन्तिम आदेश नआउँदा लामो समयसम्म पनि सदरमुकामको अन्योल कायमै छ। तर अन्तरिम आदेशमा अर्को आदेश नहुन्जेलसम्म रुकुमकोटबाट नै कार्य संचालन गर्नू भन्ने सर्वोच्चको आदेशले रुकुमकोटबासीहरूलाई भने निकै राहत प्रदान गरेको छ। 

यस्तो छ गोलखाडा गाउँ

गोलखाडा गाउँ रुकुमपूर्व जिल्लामा रहेको पुथाउत्तरगंगा गाउँपालिका– १२ मा पर्छ। यसअघि उक्त गाउँ कोल गाविसमा पथ्र्यो। कोलगाउँदेखि गोलखाडा आधा घण्टाको पैदलमा पुग्न सकिन्छ। गोलखाडासम्म स्थानीय सडक पनि पुगेको छ र साना सवारी साधनहरू संचालनमा छन्। 

कोल हाल रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको केन्द्रसमेत रहेका कारण सदरमुकाम र केन्द्र पनि नजिकै छन्। गोलखाडाबाट अर्को रुकुमपूर्वको चर्चित गाउँ राँसी पनि आधा घण्टाको पैदल दूरीमा पर्छ। मध्यपहाडी लोकमार्गमार्फत् काँक्रीमा पुगेपछि त्यहाँबाट रिकालेक काटेर क्युवाङ, कोल हुँदै त्यहाँ पुग्न सकिन्छ। कोल गाउँमा राम्रो मगर बस्ती छ। यसअघि गाउँ विकास समितिको कार्यालय नै कोल गाउँमा थियो। भौगोलिक रूपमा अतिसुन्दर र समथर बस्ती छ यो। हिजोआजको समयमा समथर जग्गामा मकै बाली उम्रिएको दृश्य पनि मनमोहक लाग्छ। 

दुई दर्जन बढी घरधुरी रहेको त्यस क्षेत्रमा सरकारी भौतिक पूर्वाधारको नाममा एउटा प्रारम्भिक विद्यालयबाहेक अन्य छैनन्। हाल सदरमुकाम रहेको रुकुमकोट, पोखरा र चुनबाङ जस्ता केही क्षेत्रका लागि ५/६ घण्टाको दूरीमा यात्रा गर्नुपर्ने बाध्यता भए पनि समग्रमा रुकुमपूर्वको केन्द्र भागमै पर्छ। अहिले रहेको अस्थायी सदरमुकाम रुकुमकोट आउन पनि पूर्वी मैकोटलगायतका क्षेत्रबाट पूरै एक दिन लाग्छ। यो गाउँमा जिल्ला सदरमुकामका लागि निर्माण गर्न सकिने भौतिक पूर्वाधारका लागि जग्गा भने पर्याप्त छ। तर यहाँको मौसम हाल सदरमुकाम बसेको रुकुमकोटभन्दा चिसो छ। रुकुमपूर्वका अधिकांश ठाउँमा विभिन्न समयमा हिमपात हुने गरेको छ। पूर्वी रुकुमलाई हिमाली जिल्ला घोषणा गरिसकिएको छ।

हेर्नुहोस् फोटो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.