|

रुकुम : आधुनिकीकरण गर्न नसक्दा रुकुमपश्चिमको मुसिकोटस्थित चाँफामा रहेको समशीतोष्ण तरकारी बिउ उत्पादन केन्द्र सोचेजस्तो विकास हुन सकेको छैन।

दशकअघि नै देशकै नमुना तरकारी मूल बिउ उत्पादन केन्द्रको रूपमा चिनिएको भए पनि व्यावसायिक, वैज्ञानिक हिसाबले विस्तार गर्न नसक्दा सोचेजस्तो विकास हुन नसकेको हो। देश तथा विदेशमा रुकुमको तरकारी मूल बिउ निकासी हुने गरेको भए पनि हालसम्म पनि रुकुम ‘ब्राण्ड’को रूपमा विकसित गरेर थप व्यावसायिक र विस्तारित हुन नसकेको हो।

तरकारी बिउ उत्पादनको जिल्ला

रुकुम देशकै उत्कृष्ट तरकारी बिउ उत्पादन हुने जिल्ला भनेर पनि चिनिन्छ। देशकै नमुना तरकारी बिउ उत्पादन केन्द्र चाँफा रुकुममा अहिलेको सिजनमा पनि विभिन्न प्रकार तरकारी बिउको उत्पादन भइरहेको छ। सरकारी स्तरको समशीतोष्ण तरकारी बिउ उत्पादन केन्द्रमार्फत् रुकुम सदरमुकाम नजिकैको चाँफामा तरकारी बिउ उत्पादन भइरहेको हो।

करिब छ हजार हेक्टर क्षेत्रफल जमिनमा विभिन्न प्रजातिका तरकारीहरूको नर्सरी तथा मूल बिउ उत्पादन गरी सहुलियत मूल्यमा बिक्री गरिँदै आएको छ। वि. सं.२०३५ मा स्थापना भएको यस केन्द्रले कुनै समय विदेशमा समेत राम्रो चर्चा कमाएको थियो भने स्वदेश तथा विदेशका विभिन्न ठाउँमा यहाँकै बिउ जाने गरेको छ।

हाल यस केन्द्रमार्फत् मूला, रायो, काउली, केराउ, प्याजलगायतका विभिन्न १६ प्रजातिका तरकारीका मूल बिउ उत्पादन भइरहेको केन्द्रका वरिष्ठ बागवानी विकास अधिकृत डा. रवीन्द्रनाथ चौवेले जानकारी दिए। उनका अनुसार यस केन्द्रमार्फत् वर्सेनि विभिन्न तरकारी बालीहरूको मूल बिउ छ टन बढी उत्पादन हुँदै आएको छ। यसबाट वर्सेनि १५ देखि २० लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ। परम्परागत रूपमा उत्पादन भइरहेको यस केन्द्रमा पछिल्ला वर्षहरूमा केही आधुनिक रूपमा समेत बिउ उत्पादनको उपाय अपनाइएको छ।

निजी स्तरबाट पनि ठाउँठाउँमा उत्पादन

समशीतोष्ण तरकारी बिउ उत्पादन केन्द्र चाँफामा सरकारी स्तरबाट तरकारीहरूको मूल बिउ उत्पादन गरिनेसँगै निजी स्तरबाट जिल्लाका विभिन्न ठाउँमा पनि ठूलो परिमाणमा तरकारी मूल बिउ उत्पादन हुने गरेको छ।

वर्सेनि जिल्लाको चौरजहारी, खोलागाउँ, साँख, सिम्ली, माछिमी, काउलेचौर, सोलाबांग र छिबांगज्युलालगायत विभिन्न ठाउँहरूमा बिउ उत्पादन भइरहेको हो। व्यक्तिगत तथा सहकारी स्तरबाट उत्पादन गरिने उक्त मूल बिउ सबैभन्दा बढी प्याज, केराउ र मूलाको रहेको पाइन्छ। निजी स्तरबाट ठूलो मात्रामा बिउ उत्पादन हुने भए पनि उत्पादन भएको बिउ बिक्री नहुँदा कृषकहरू बेलबेला घाटामा समेत पर्ने गरेका छन्।

विगतका वर्षहरूमा उत्पादन भएको बिउ लामो समयसम्म उचित मूल्यमा बिक्री नभएपछि कृषकहरूले सस्तो मूल्यमा नै ठेकेदारमार्फत् बिक्री वितरण गर्नुपर्ने बाध्यतासमेत थियो। तर पछिल्लो समय समस्यै समस्या देखिएपछि कृषकहरूले धेरै ठूलो खेती नगरेर मागको आधारमा मात्र उत्पादन गर्ने गरेका छन्। तरकारी बिउ उत्पादन गर्ने व्यक्ति तथा समूह र तरकारी बिउ खरिद गर्ने कम्पनीबीच अग्रिम खरिद बिक्री सम्झौतामा उल्लेख भएअनुसार मात्र बिउ उत्पादन गर्ने गरेका छन्।

तरकारी बिउ प्रशोधन केन्द्र आवश्यक

रुकुमका कृषकहरूले उत्पादन गरेको सम्पूर्ण बिउ बिक्रीको ग्यारेन्टी राज्यले गर्नुका साथै रुकुममा नै तरकारी बिउ प्रशोधन केन्द्र स्थापना गर्न पनि आवश्यक रहेको कृषक बताउँछन्। रुकुममा उत्पादन भएको बिउ अन्य विभिन्न कम्पनी तथा ठेकेदारहरूले सस्तोमा खरिद गरेर लिने र त्यसलाई प्रशोधन गरी महँगो मूल्यमा फेरि जिल्लामा नै आउने गरेको छ।

रुकुममै उत्पादन भएको बिउ जिल्लामा नै प्याकेजिङसहितको वितरण भएमा समस्या निकै कम हुने कृषकहरू बताउँछन्। वर्सेनि हुने जिल्ला विकास समितिका जिल्ला परिषद्हरूमा रुकुममा बिउ प्रशोधन कारखाना स्थापना गर्ने नीति तथा कार्यक्रम ल्याइए पनि हालसम्म पनि कार्यान्वयन हुन सकिरहेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.