|

विराटनगर : ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’लाई जिल्ला अदालत मोरङमा पेस गरिएको छ।

मंगलबार पक्राउ परेपछि उनलाई गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको थियो। अभियुक्त उप्रेतीलाई प्रहरीले यति एयरलाइन्सको उडानबाट विराटनगर ल्याइएको हो। उप्रेतीलाई ल्याइएको विमान दिउँसो ३ बजे विराटनगर विमानस्थलमा अवतरण गरेको थियो। 

चर्चित सुन काण्ड र सनम हत्याकाण्डका मुख्य आरोपी रहेका गोरेको समाचार संकलन गर्न गएका संचारकर्मीलाई प्रहरीले छक्याएको थियो। विमान अवतरण गरेपछि गोरेलाई भिआइपी र सर्वसाधारणले प्रयोग गर्ने बाटोको साटो विमानस्थलको सुरक्षार्थ राखिएको नेपाली सेनाको पूर्वपट्टि ब्यारेकभित्रको बाटो प्रयोग गर्दै बाहिर निकालिएको थियो। 

जिल्ला प्रहरी कार्यालयको भ्यानमा राखेर गोरेलाई जिल्ला प्रहरी कार्यालय मोरङ ल्याइएको थियो। गोरेलाई विमानस्थलबाट ल्याउन जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक निशान थापाको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। जिल्ला प्रहरी कार्यालयमा झण्डै दुई घण्टासम्म कागजपत्र तयार पारेर साँझ ५ बज्नै लाग्दा गोरेलाई अदालतमा उपस्थित गराइएको हो। 

अदालतमा हाजिर गराएर गोरेलाई मोरङ प्रहरीको हिरासतमा राखिएको छ। उच्च सुरक्षा घेराभित्र अदालतमा उपस्थित गराइएका गोरेका विरुद्धमा अदालत परिसरभित्रै मृतक सनम शाक्यका आफन्त र सर्वसाधारणले नाराबाजीसमेत गरेका थिए। उनीहरूले हत्यारालाई फासीको सजाय हुनुपर्ने माग गरेका छन्। 

मोरङ जिल्ला अदालतमा गोरेसहित ६३ जनाविरुद्ध सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुद्दा चलिरहेको छ। गत माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन हराएपछि सुन लुटेको आशंकामा गोरेले करेन्ट लगाएर सनम शाक्यको हत्या गरेको अभियोग छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.