|

तनहुँ : अवैध रुपमा रकम असुल गर्ने र बालुवा उत्खनन् गर्ने चार जना मंगलबार पक्राउ परेका छन्। 

तनहुँको व्यास नगरपालिका १ भादगाउँस्थित छाब्दी दोभान केशवटार–दमौली बुद्धिसिंह मार्गमा बालुवा लिएर आउँदै गरेको ट्याक्टरसँग अनाधिकृत रुपमा रोकेर रकम असुल्ने दुईजना गर्ने पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

ना६त १३२६ नम्बरको ट्याक्टरलाई रोकेर चालक र सहचालकसँग धम्क्याउदै नगदी रसिद जबरजस्ती मागिरहेको अवस्थामा व्यास नगरपालिका ४ का २१ वर्षीय एलोन थापा र सोही स्थानका २१ वर्षीय अतित गुरुङलाई पक्राउ गरिएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए।

मंगलबारै उनीहरूविरुद्ध सार्वजनिक अपराधको मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय तनहुँमा उपस्थित गराई म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको शाहले बताए। 

त्यस्तै, भिमाद नगरपालिका ५ अठ्ठाइसबाट अनाधिकृत तबरबाट गिटी, बालुवा उत्खनन् गर्ने क्रममा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। स्क्याभेटर प्रयोग गरी पर्यावरण बिगार्ने गरी गिटी, बालुवाको उत्खनन् गरेर थुपार्दै गरेको अवस्थामा स्क्याभेटरसहित चालकलाई नियन्त्रण गरिएको प्रहरीले जनाएको छ।

चितवन माडी नगरपालिका ८ का २० वर्षीय अमित रिमाल र तनहुँ बन्दीपुर गाउँपालिका ३ का २२ वर्षीय विष्णु थापालाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको जिल्ला समन्वय समितिको कार्यालय तनहुँ पठाइएको प्रहरी उपरीक्षक शाहले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.