|

ओखलढुंगा : जिल्ला कारागार ओखलढुंगाका कैदी वन्दीले उत्पादन गरेका वस्तुले बजार नपाउँदा समस्या भएको छ। कारागारभित्रै सीप सिकेर कैदी बन्दीले उत्पादन गरेका घरेलु प्रयोजनमा आउने सामग्रीहरू बिक्री वितरण हुन सकेका छैनन्। 

कारागारमा कैदी वन्दीले ढाका टोपी, मुढा, र डोरीबाट टेवलसेट लगायतका सामानहरू उत्पादन गर्ने गरे पनि बजारमा खपत नभएपछि बिक्री हुन नसकेको कैदी नवराज वस्नेतले बताए। कारागारभित्र कैदीबन्दीले फुर्सदको समयमा मुढा, ढाकाटोपी, टेवलसेट निर्माण गरे पनि बजारबाट माग नआएपछि उत्पादन कारागार मे थन्किएका छन्। 

घरेलु उत्पादन भन्दा रेडिमेट सामानहरू सस्तो पाइने भएकाले बिक्री वितरण हुन नसकेको हो। बजार प्रवर्द्धन गर्न सरकारी तहबाट सहयोग नहुँदा आफूहरूले उत्पान गनरेका वस्तु बिक्री वितरण नभएको कैदी बन्दीले गुनासो गरेका छन्। कारागारमा रहेका ५६ कैदी बन्दी मध्ये अधिकांश सीप सिकेर स्वरोजगार बने पनि उनीहरूले उत्पादन गरेका सामग्रीहरूले बजार नपाएपछि निराश भएका हुन्। कारागारमा कैदीबन्दीहरू ढाका टोपीका तान तथा मुढा बुन्न व्यस्त रहेका भेटिन्छन्। 

संचारकमीहरुसँग उनीहरूले उत्पादित समानको बजार प्रवर्द्धन गर्न सहयोग गरिदिन आग्रह समेत गरेका छन्। विभिन्न कारणले सजाय भोगिरहेका कैदी तथा थुनुवाहरूले यति वेला सिपमूलक काम गरेर आफै आत्मनिर्भर हुने लक्ष्य राखेको भए पनि आफूहरूले निर्माण गरेका वस्तुको माग नआएको उनीहरूको भनाई छ।

दशै तथा तिहारमा मात्र धेरै जसो ढाका टोपीको माग आउने गरेको उनीहरूले बताए। कारागारमा उत्पादित एक थान मुढाको ५०० देखि एक हजार ५०० र टेवल सेट पाँच हजारदेखि १० हजार रुपैयाँसम्म पर्ने गरेकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.