|

सुर्खेत : एक खुट्टाले साइकल चलाउने साहसिक साइकल यात्री यामलाल रसाइली सुर्खेत आइ पुगेका छन्। कर्णााली  प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्ष २०७५ लाई सफल पार्न र प्रचार प्रसारमा सहयोग गर्न साइकल यात्रा गर्न लागेको उनले बताए। साथै अपांगहरू पनि सांग जस्तै अवसर पाएको खण्डमा काम गर्न सक्छन् भन्ने देखाउन मुगुको रारा ताल सम्मको साइकल यात्रा तय गरेको रसाइलीले बताए।

२०५९ साल फागुन २६ गते मेची महाकाली साइकल यात्रा गरेका रसाइलीले मुगु कर्णाली प्रदेशको उत्कृष्ट पर्यटकीय गन्तव्य भएकोले सरकारको पर्यटनसम्बन्धी अभियानलाई साथ दिन रारा ताल जान लागेको पनि बताए। अवसर पाए अपा‌ंगता भएका व्यत्तिले पनि केही गर्न सक्छन् भन्ने दखाउने उद्देश्यले अाफू यात्रामा निस्केकाे उनले बताए। वैशाख १ मा प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुका सपांग शिशुलाई विद्यालयमा भर्ना गरे। रसाइलीले भने, 'तर त्यहीका ७ वर्षीय पूर्णबहादुर कुलाल (जसको शारीरिक अपांगता छ) विद्यालय जान नसकेको मिडियामार्फत सुनियाे। उनलाई कसैले देखेन। यसरी विभेद भइरहेकाे छ। सरकारले अपांगता भएकालाई पनि नागरिक ठानाेस्। सेवा सुविधा तथा अवसर पनि बराबरी रुपमा देओस्'।

कैलालीको लम्कीमा सिलाई-कटाई व्यवसाय गर्दै आएका रसाइलीले ४ वर्षको छँदा नै खुट्टा गुमाएका थिए। जेठ ४ मा राराका लागि  लम्कीबाट साइकल यात्रा सुरु गरेका थिए। उनी लम्कीबाट सुर्खेत ३ दिनमा आइपुगेको हुन्। रारा पुगेर  फर्कन कम्तिमा पनि १८ दिन लाग्ने उनको भनाइ छ।

सुर्खेतमा रहुञ्जेल होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष तर्कबहादुर शाहीले उनको खर्च व्याेहोर्ने भएका छन्। यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले साइकल यात्री रसाइलीलाई प्रदेश सरकारको तर्फबाट सम्मान पनि गरेका छन्। अपांग भएर पनि कर्णाली सरकारको पर्यटन योजनामा सहयोग पुर्‍याएकाले सम्मान गरेको मुख्यमन्त्री शाहीले बताए।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.