|

अछाम : जिल्लाका १० स्थानीय तहभन्दा साँफेबगर नगरपालिका प्रविधिको प्रयोगमा अगाडि देखिएको छ। विद्युतीय हाजिरीदेखि कार्यक्रम र कार्यपालिकाको बैठकको जानकारी दिनुपरेमा मोबाइल सन्देश (एसएमएस)मार्फत सबैलाई जानकारी गराइन्छ।

कार्यपालिकाको बैठकमा छलफल हुने विषयका बारेमा पनि कार्यपालिका सदस्यलाई जानकारी गराएर त्यस विषयमा अध्ययन गरेर आउनसमेत एसएमएसमार्फत जानकारी गराइँदै आएको कार्यपालिका सदस्य जयन्ती बोगटीले बताइन्। 'हामीलाई नगरपालिकामा हुने सबै कार्यक्रमको जानकारी एसएमएसमार्फत जानकारी गराइन्छ', बोगटीले भनिन्, 'नगरले प्रविधिको भरपुर प्रयोग गरिरहेको छ। हामीले प्रविधि प्रयोग गर्नेबारेमा पनि सिकिरहेका छौँ।' 

नेपालका चारधाममध्ये एक वैद्यनाथ मन्दिरमा समेत सीसी क्यामेरा जडान गरिएको छ। मन्दिरमा चढाइएको दान भेटीको पारदर्शिताका लागि सीसी क्यामेरा जडान गरिएको र नगरपालिका–१० घुघुरकोटको बेतालमाडौं उच्च माविमा विद्युतीय हाजिर शुरु गरिएको नगरप्रमुख कुलबहादुर कुँवरले बताए। 

आगामी दिनमा साँफेबगर नगरपालिकाका सम्पूर्ण कार्यालयमा विद्युतीय हाजिर प्रणाली लागू गर्ने प्रमुख कुँवरले जानकारी दिए। सरकारी विद्यालयमा शिक्षक नियमित उपस्थित नहुने गुनासो आएपछि त्यसको अन्त्य गर्न र स्वास्थ्य क्षेत्रमा सुधार गर्न विद्युतीय हाजिर प्रणाली शुरु गरेको कुँवरको भनाइ छ। 

'नगरपालिकाभित्र कागजको प्रयोग हटाउने तयारीमा छु', प्रमुख कुँवरले भने, 'सहजताका लागि पैसा पनि बोक्न नपर्ने गरी पैसा बैंकमा भएपछि र मोबाइल हातमा भएपछि सबै काम हुने बनाउनेछु। अबदेखि नगरभित्र हुने जुनसुकै कार्यक्रम ल्याप्टप र प्रोजेक्टरमार्फत गरिनेछ। नगरले सबैभन्दा पहिले प्रत्येक वडामा वाईफाई जडानका लागि पहल गरिरहेको छ।' 

कार्यालयका कर्मचारी नियमित रूपमा नबस्ने यस्ता खाले जनगुनासो मध्यनजर गरी शिक्षा र स्वास्थ्यजस्तो अति संवेदनशील सेवामा चुस्त, दुरुस्त सेवा प्रवाह गर्नका लागि इलेक्ट्रोनिक हाजिरी प्रणालीले सहयोग पुर्‍याउने कुरामा जनप्रतिनिधिको विश्वास रहेको छ। 

गाउँपालिकाकी उपाध्यक्ष अञ्जु आचार्यले शिक्षा र स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा कर्मचारीको अनियमितताले खेलबाड भइरहेको विषयलाई अन्त्य गर्न विद्युतीय हाजिरी प्रणाली शुरु गरेको बताइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.