|
फोटो : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारका लागि बुधबार भारत लैजाने तयारी गरिएको छ। 

धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारत घिमिरेलाई थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा लैजाने तयारी गरिएको उनका कान्छा छोरा राजीव घिमिरेले जानकारी दिए। ‘केही प्राविधिक कुरा नमेलका कारण ढिला भएको हो’ उनले भने, ‘भारतको अस्पतालमा  कुरा भइरहेको छ। मिलेपछि आजै लैजान्छौँ।’

गत वैशाख २८ गते निरन्तर आन्तरिक रक्तस्राव भएपछि राष्ट्रकवि घिमिरे अस्पताल भर्ना भएका हुन्। उनको उपचारमा संलग्न चिकित्सक डा.विवेक शर्माले सानो आन्द्राबाट नियमित रक्तश्राव हुने ठाउँ पत्ता लाग्न नसकेकाले थप उपचारका लागि भारत लैजान सुझाव दिएको बताए। 

विसं १९७६ असोज ७ गते जन्मिएका घिमिरेको मुटु, मिर्गौला र फोक्सामा समस्या देखिएकाले चार महिनादेखि अस्पताल लाने र ल्याउने गरिँदै आइएको थियो। 
प्रधानमन्त्री केपी शर्मा ओलीले घिमिरेलाई  भेटेर स्वास्थ्यलाभको कामना गरेका थिए। ओलीले भिडियो सन्देश जारी गर्दै घिमिरेको उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिएको र भारतसँग पनि कुरा भएको बताएका छन्। 

 

घिमिरेको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने निर्णय समेत गरेको छ। नेपाली सेनाका मानार्थ सहायक रथी रहेका घिमिरेको स्वास्थ्य अवस्था बुझ्न प्रधानसेनापति राजेन्द्र क्षत्री पनि अस्पताल पुगेका थिए। 

घिमिरेका साथमा छोरी इन्दिवर र नेपाली सेनाका चिकित्सक डा.शिवविक्रम सिलवाल भारत जाने छोरा राजीव घिमिरेले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.