पाकिस्तानको दक्षिणी शहर कराँचीमा तातो हावाको कारण तीन दिनमा कम्तीमा ६५ व्यक्तिको मृत्यु भएको छ।
सो सहरमा ४४ डिग्री सेल्सियससम्म तापक्रम पुगेपछि ६५ व्यक्तिको मृत्यु भएको समाज कल्याण इदही समूहलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। गत तीन दिनयता कराँचीको कोराङ्गी र सोहराब गोथ क्षेत्रबाट ११४ व्यक्तिको शव पाइएको र तीमध्ये ६५ जनाको तातो हावाको कारण मृत्यु भएको पुष्टि भएको बताइएको छ।
उक्त इदही फाउडेन्सनका प्रमुख फैसल इदहीले मंगलबार जानकारी दिएअनुसार ती क्षेत्रमा अहिले पनि कडा रूपमा तातो हावा चलेको छ। यसबाट ठूलो संख्याका नागरिक प्रभावित भएका छन्। इदहीका अनुसार तातो हावाको कारण ज्यान गुमाउने आफ्नै घरमा उपचार बिना बस्ने गरेका स्थानीय नागरिकहरु छन्।
ज्यान गुमाउने सबैभन्दा छ वर्षीय ७८ वर्षीया वृद्ध भएको बताइएको छ। यद्यपि स्वास्थ्य अधिकारीले भने इदही समूहले दिएको तातो हावाबाट ज्यान गुमाएका भनिएका ती व्यक्तिको मृत्युको कारण पत्ता लागिनसकेको जनाएका छन्।
पाकिस्तानको मौसम विज्ञान विभागले कराँचीमा एक हप्तासम्म ४३ वा ४४ डिग्री सेल्सियससम्म तापक्रम रहने चेतावनी दिएको छ। पाकिस्तानको दक्षिणी प्रान्त सिन्धमा सन् २०१५ मा तातो हावाबाट कम्तीमा एक हजार २०० जनाको मृत्यु भएको थियो। पाकिस्तानका यी नगरमा यस समयमा प्रायः तातो हावा चल्छ। अत्यधिक गर्मीका कारण तातो हावाबाट यी स्थानमा बर्सेनि धेरै नागरिकको मृत्यु हुने गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।