|
फोटो : मुख्यमन्त्रीको निजी सचिवालय

धनगढी : संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा 'बादल' र प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट बीच बुधवार बिहान भेटवार्ता भएको छ। मुख्यमन्त्री निवासमा गृहमन्त्री बादल र मुख्यमन्त्री भट्टबीच भएको भेटवार्तामा द्विपक्षीय हितका बारेमा छलफल भएको हो।

छलफलका क्रममा प्रदेश सरकारको सुरक्षाअवस्था, सीमा सुरक्षा, दार्चुलाको तिंकरस्थित त्रिदेशिय नाकामा १२ महिनै सुरक्षापोष्ट राख्नुपर्ने तथा केन्द्र सरकार र प्रदेश सरकारबीचको आवश्यक समन्वयका बारेमा छलफल भएको छ।

तिंकर नाकामा ६ महिना मात्र सुरक्षापोष्ट राख्ने गरिएको छ। भारतसँग जोडिएका प्रदेश ७ का सबै सीमा क्षेत्रका भूगोलहरूमा सुरक्षा चेक पोष्ट राख्ने विषयमा समेत छलफल भएको छ। 

छलफलका क्रममा गृहमन्त्री बादलले प्रदेशको सुरक्षा अवस्था सम्वन्धमा चासो राख्नुका साथै सीमा क्षेत्र र तिंकर नाकामा सुरक्षापोष्ट राख्ने विषयमा सकारात्मक प्रतिक्रिया दिएको मुख्य मन्त्रीको नीजि सचिवालयले जनाएको छ।  

प्रदेश ७ को अस्थायी मुकाम धनगढीमा प्रदेश स्तरीय सुरक्षा गोष्ठीका लागि गृहमन्त्री बादल मंगलबार साझ धनगढी आएका हुन्। बुधबार बिहान ९ बजेदेखि धनगढीस्थित शुभश्री प्यालेसमा प्रदेश स्तरीय सुरक्षा गोष्ठी संचालन भइरहेको छ। 

सुरक्षा गोष्ठीमा प्रदेश ७ का आन्तरिक मामिलामन्त्री प्रकाशबहादुर शाह, प्रदेश सरकारका प्रमुख सचिव, सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको छ। 
प्रदेश ७ को सुरक्षा अवस्था थप मजबूत पार्ने उद्देश्यले प्रदेश स्तरीय सुरक्षा गोष्ठीको आयोजना गरिएको गृहमन्त्री बादलका प्रेस संयोजक किरण भट्टराईले बताए। 

प्रेस संयोजक भट्टराईका अनुसार गृहमन्त्री बादलको योजनाअनुसार सातवटै प्रदेशमा प्रदेश स्तरीय सुरक्षा गोष्ठीको आयोजना गर्न लागिएको हो। गोष्ठीमा गृहमन्त्री बादलले समग्र प्रदेशको सुरक्षा अवस्थाको जानकारी लिई प्रदेशको सुरक्षा अवस्था थप मजबूत पार्न सुरक्षा निकायलाई दिर्नेशन दिइने बताइको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.