ढुंगेलसहित ९४८ जनाको नाम सिफारिस

|

काठमाडौं : जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सरकारले देश भरिका ९४८ जनाकैदीलाई आममाफि दिने तयारी गरेको छ। कारागार व्यवस्थापन विभागका अनुसार जेष्ठ नागरिक, रोगी र अनुशासनको पालना गरेका र कैद सजायको ४० प्रतिशत भन्दा बढी कैद सजाय भोगिसकेका ९४८ कैदीहरुलाई अाममाफीको लागि सिफारिस गरेको जनाएको छ।

सरकारको सिफारिसमा राष्ट्रपतिले हरेक वर्ष ऐन–नियमअनुसार केही कैदी बन्दीलाई आममाफी दिने चलन रहदै आएको छ। कारागार व्यवस्थापन विभागका अनुसार यसरी आममाफी सिफारिसमा हत्या अभियोगमा अदालतबाट सजाय पाएका तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुंङगेल समेत रहेका छन्। डिल्लीबजार कारागारका अनुसार ढुंङगेल लगायत डिल्लीबजार कारागारबाट यसरी माफी सिफारिसमा २९ जनाको नाम सिफारिस भएको छ। 

त्यस्तै केन्द्रिय कारागार सुन्धराबाट ६२ जना र ललितपुर नक्खु कारागारबाट ७५ जनाको नाम आममाफीको लागि सिफारिसमा परेका छन्। यसरी देशभरीका कारागारबाट ९४८ जनाको नाम आम माफीकालागि कारागार व्यवस्थापन विभागले गृहमन्त्रालयलाई पठाएको हो। यसरी पठाएको नाम गृहमन्त्रालयले मन्त्रीपरिषदमा लिने गर्दछ। मन्त्रीपरिषदले सिफारिस गरेको नामलाई राष्ट्रपतिले आममाफी दिने चलन रहेको छ। गृह मन्त्रालय स्रोतका अनुसार आउने सोमबारको मन्त्रीपरिषद बैठकमा आममाफीको नामावलीको अन्तिम टुङ्गो लाग्ने छ।  

आममाफी सिफारिसमा परेका ढुंङगेलको यस्तो थियो अभियोग

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा बालकृष्ण ढुंङगेल हाल डिल्लीबजार कारागारका जेल जीवन भुक्तान गरिरहेका छन्। उनलाई ०७४ कात्तिक महिनामा प्रहरीले ललितपुरबाट पक्राउ गरेको थियो। ढुंङगेलले यसअघि पनि उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा करिब ८ वर्ष जेल जीवन भुक्तान गरिसकेका छन्। ढुंङगेलमाथि २०५५ असार १० गते ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको आरोप लागेको थियो।

सोही अभियोगमा जिल्ला अदालत ओखलढुंगाले उनलाई २०६१ वैशाख २१ गते जन्मकैदको फैसला गरेको थियो। जिल्ला अदालतको फैसला अनुसार जेल बसेका ढुंङगेल पुनरावेदन अदालत राजविराजले २०६३ सालमा उल्टाएपछि उनी जेलमुक्त भएका थिए।

तर २०६६ पुस १९ मा सर्वोच्च अदालतले जिल्ला अदालतकै फैसला सदर गरेपछि उनी पक्राउ परेका थिए।

के छ ढुंङगेलको प्रतिक्रिया ?

डिल्लीबजार कारागारकामा जेल जीवन भुक्तान गरिरहेका तर यदाकदा घुमफिरको स्वतन्त्रता पाइरहेका बालकृष्ण ढुंगेल आफूविरुद्ध 'कुनै षड्यन्त्र नभए' सम्भवत यहि जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा  मुक्त हुनेमा विश्वस्त छन्।

यसबारे उनको प्रतिक्रिया बुझ्न डिल्लीबजार कारागारमै पुग्दा गाढा निलो रंगको टिसर्ट, कालो ट्राउजर, लामो सिल्की कपाल सरलक्क पारेर पछाडि फर्काएका थिए उनले। झट्ट हेर्दा भारतीय चलचित्र सिम्घमका हिरो सूर्यका झै जुँघा थिए ढुंङगेलका । खुट्टामा भने चप्पल लगाएका भेटिए।

भेट हुनसाथ हात मिलाउन नपाउँदै  उनले भने- सन्चै हुनुहुन्छ भनेर नसोध्नु होला। मन बुझाईरहेको छु।

यसो भन्दा उनको मुहारमा थोरै निरासा धेरै चमक थियो। उनलाई भेट्ने ठाँउ ठूलै थियो। करिब एक घण्टाको समयमा उनलार्इ भेट्न थुप्रै नेता कार्यकर्ता अाए। नेता कार्यकर्ताले उनलाई पछिल्लो राजनितीक घट्ना क्रमको बिफ्रिङ समेत गरिहरेका थिए।

भेटघाटको अन्त्यमा आम माफीको विषयमा बुझ्दा उनले खुलेर कुरा गरेनन्।  तर उनले अाफू जेलबाट निस्कनेमा ढुक्क जस्तै रहेको बताए। 'आम माफीका लागि सिफारिस परेको मेरो नाम हटाउन करोडौ रुपैंया  खर्च गर्ने गिरोह बजारमा छ,' उनले मुसुक्क हाँसेर भने, 'यसबाट बचियो भने सम्भवत निस्किन्छु।' धार्मिक मान्यता अनुसार स्वर्गलोक र ब्रह्मलोक हुने बताउँदै उनले अाफू फर्किन लागेकाे विषयलार्इ स्वर्गलाेकसँग तुलना गरे। 

के छ कार्यविधिमा?

सजाय माफी, मुलतवी, परिवर्तन वा कम गर्ने कार्यविधी २०७१ ले कसैले आफूलाई भएको सजाय माफी, मुलतवी, परिर्वतन वा कम गराउन चाहेमा कारण खुलाई निवेदन दिन सक्ने उल्लेख छ। तर यसको बुँदा ३ मा भ्रष्टाचार, जबर्जस्ती करणी, सरकारी कीर्ते, संगठीत अपराध, युद्ध अपराध, क्रुर हिंस्रक वा विभत्स तरिकाले गरिएको हत्या, लागु औषध लगायतका अपराधमा सजाय कम नहुने कार्यविधिमै उल्लेख छ। ढुंगेल भने कर्तब्य ज्यान मुद्दामा अदालतबाट हत्याराको ठहर भई काराबासको सजायमा परेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.