|

सल्यान : सुन्तलाको पकेट जिल्लाको रूपमा चिनिने सल्यानमा सुन्तलाका बोट सुक्न थालेपछि किसानहरूले चिन्तित हुन थालेका छन्। ह्रास रोग र ‘सिट्रस ग्रिनिङ’का कारण पछिल्लो समय सल्यानमा दुई सय हेक्टर क्षेत्रफलमा रहेका सुन्तलाका बोट सुकेपछि व्यवसायिक सुन्तला खेती गर्दै आइरहेका किसानहरु चिन्तित हुन थालेका हुन्। 

बोट पहेलो हुने, दाना झर्ने र अन्ततः बोट नै सुकेर जाने समस्याले सल्यानका किसानहरुलाई सताएको छ। ह्रास रोग र सिट्रस ग्रिनिङका कारण पछिल्लो समय सल्यानमा २०० हेक्टर क्षेत्रफलमा रहेका सुन्तलाका बोट सुकेका कारण व्यवसायिक सुन्तला खेतीमा असर परेको जिल्ला कृषि विकास कार्यालय सल्यानका वरिष्ठ कृषि विकास अधिकृत अमर राज शर्मा घिमिरेले बताए। जलवायु परिवर्तनको असर, कमजोर वेर्ना, उचित समयमा जोडमेलको अभावलगायतका कारण यस प्रकारको रोग देखिएको घिमिरेको भनाइ रहेको छ। 

उनले भने, ‘सल्यानका अधिकांस स्थानका किसानहरूले व्यवसायिक सुन्तला खेती गर्दै आइरहेका छन्, तर पछिल्लो समय ह्रास रोग र सिट्रस ग्रिनिङका कारण सुन्तला खेतीलाई व्यवसाय बनाएका किसानहरूको आम्दानीको स्रोत पनि सुक्दै गई रहेको छ।’ 

समुन्द्री सतहदेखि १५ सय मिटर माथि सुन्तलाको नर्सरी राख्नु पर्ने, कलमी सुन्तलाको प्रयोग गर्ने गरेमा यस प्रकारको रोगबाट बच्न सकिने वरिष्ठ कृषि विकास अधिकृत घिमिरेले बताए। सुन्तलामा रोग देखिन थालेपछि किसानहरुले सुन्तलालाई विस्थापित गरी अनार लगाउन थालेका छन्। जिल्लामा ५० हेक्टर क्षेत्रफलमा सुन्तलाको स्थानमा अनार खेती हुन थालेको छ। 

जिल्लाका साविकका कोटमौला, पिपलनेटा, दमाचौर, मार्के, सेजवालटाकुरा, फलावाङ, थारमारेलगायतका क्षेत्र सुन्तलाका पकेट क्षेत्रको रूपमा रहदै आएका छन्। सल्यानमा झन्डै एक हजार ५०० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आइरहेको  छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.